८ भदौ काठमाण्डौ – प्रवेशिका (एसएलसी) पुरक अर्थात् ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले गत साउन १४ गतेदेखि २१ गतेसम्म सञ्चालन गरेको परीक्षाको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी गरेको परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले जानकारी दिए ।
उत्तरपुस्तिका परीक्षण सकिएर जिल्ला जिल्लाबाट परीक्षार्थीको विषयगत प्राप्ताङ्क कार्यालयमा आइसकेको छ । कार्यालयले प्राप्ताङ्क कम्प्युटरमा दर्ता गर्ने काम गरिरहेको काप्रीले जानकारी दिए । प्राप्ताङ्क दर्ता सकिएलगत्तै रुजु गरिसकेपछि नतिजा सार्वजनिक गरिनेछ ।
एसएलसी परीक्षामा बढीमा दुई विषयसम्म सैद्धान्तिकतर्फ ‘डि’ र ‘इ’ ग्रेड ल्याउने नियमिततर्फ एक लाख आठ हजार ३२६ जना र एक्जाम्टेड तर्फ ३९ हजार २५७ जना गरी कुल एक लाख ४७ हजार ५८३ जना सहभागी हुनुपर्नेमा परीक्षामा भने ७३ हजार परीक्षार्थी मात्रै सहभागी भएका थिए ।