शंकर श्रेष्ठ / ८ भदौ, धादिङ – ग्रामीण सडकमा चलाउन सवारी इजाजत पत्र रुट परमिट नभएको भन्दै धादिङ प्रहरीले सबारी संचालनमा रोक लगाएको छ ।
बिना सुचना एक्कासी सबारी चल्न नदिएपछि धादिङका ग्रामीण बस्तीहरुमा पुग्ने यात्रु सदरमुकाममा नै अलपत्र परेका हुन् ।
यातायात व्यवसायीहरुका अनुसार पृथ्वीराजमार्ग र धादिङ मलेखु सडकखण्डमा सवारी साधन संचालन गर्ने सवारी इजाजतपत्र दिइए पनि ग्रामीण क्षेत्रहरुमा जाने सडकहरुमा यातायातका साधन संचालनको अनुमति छैन । अहिले धादिङ जिल्लाबाट संचालन भइरहेका कुनै पनि सवारीले निश्चित स्थान तोकर रुट परमिट पाएका छैनन् । रुट परमिट भएकाहरुको पनि धादिङ मात्रै उल्लेख गरिएकोले ग्रामीण क्षेत्रहरुमा जान प्रहरीले छेकेको छ ।
जिल्लाबाट विभिन्न गाउँ विकास समितिहरुमा लैजान खाद्यन्न तथा अन्य सामान लोड गरेका ट्रकहरु पनि रोकिएका छन् ।
दुर्घटना हुनबाट जोगिन तोकिएको सडक र तोकिएको रुटमा मात्रै सबारी चलाउन पाउने यातायात व्यवस्था कार्यालयको नीतिलाई कार्यान्बयन गराउन लागिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक मुरारी मिश्रले बताए ।
यातायात व्यवस्था बिभागले हालसम्म कच्ची सडकमा चलाउनका लागि कुनै पनि सबारीलाई सवारी इजाजत पत्र दिएको छैन । जिल्ला प्रशासन कार्यालयको सिफारिसमा यातायात ब्यबस्था बिभाग एकान्तकुनाबाट अस्थाई रुट परमिट लिएर कच्ची सबारी चलाउन पाउने व्यवस्था गरिएको मिश्रले जानकारी दिए ।
साउन ३१ गते २७ जनाको ज्यान जाने गरी काभ्रेमा भएको बस दुर्घटना पछि सरकारले रुट परमिट बिनाको गाडी रोक्ने निर्णय गरेको थियो । बर्साैदेखि सडक प्रयोगमा आइरहेको भएपनि यातायात व्यवस्था बिभाग त्यस्ता ग्रामीण तथा कच्ची सडकहरुका लागि सवारीलाई रुट परमिट दिएको छैन ।
रुट परमिट बिनाको सबारी चल्न रोक लगाएको बिषयमा स्थानीय प्रशासनमा नै अन्योल देखिएको छ । प्रहरीले रुट परमिट बिनाको सबारी चल्न रोक लगाएको बारे प्रमुख जिल्ला अधिकारी विश्बप्रकास सुबेदी आफैे अनविज्ञ छन् । उनी भन्छन्, ‘प्रशासनले सवारी चलाउन रोकेको होइन । यस बारेमा प्रहरीलाई थाहा होला ।’
यता जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायक उपरीक्षक दिपेन्द्र पञ्जियारले भने क्षेत्रिय प्रहरी कार्यालय हेटौलाको निर्देशनमा प्रहरीले रुट परमिट बिना ग्रामीण सडकमा सबारी चल्न रोक लगाएको बताए । हामीलाई रोक्न निर्देशन गर्यो, रोक्यौ, रोड परमिटको बारेमा हामीलाई केही जानकारी छैन’ प्रहरी नायक उपरीक्षक पञ्जियार भने ।
यातायात व्यवस्था बिभागले यस अघि ग्रामीण सडकमा सबारी इजाजत पत्र दिएकै छैन । अहिले प्रहरीले एक्कासी चाहिन्छ नत्र सबारी नचला भन्छ अब हामी कति दिन गाडी थन्क्याउने ? बैकल्पिक ब्यबस्था नगरी नीति कार्यान्बयन गराउन लाग्दा आफुहरु मर्कामा पर्ने यातायात ब्यबसायीहरुले गुनासो गरेका छन् ।