१३ भदौ, धादिङ- यातायात दुर्घटना कम गर्न सरकारले कडा कानुन ल्याउने भएको छ । भएका कानुनको कार्यान्वयन र नयाँ कानुन बनाएर लागु गर्ने सरकारले तयारी गरेको छ ।
त्यसका लागि मस्यौदा बनिसकेको र केहीदिनमा नै नयाँ कानुन आउने भौतिक निर्माण तथा यातायात मन्त्री रमेश लेखकले बताए । मन्त्री लेखकले यात्रुको मृत्यु हुने गरी दुर्घटना गराउने चालकले आजीवन सवारीसाधन चलाउन नपाउने गरि ब्यवस्था गर्न लागेको बताए ।
उनले धेरै दुर्घटना चालकको लापरवाहीले भएकाले नियम उल्लंघन गर्नेलाई पनि कडा कारवाही गर्ने बताए । रुट परमिट नलिई सवारी चलाउने, क्षमताभन्दा धेरै यात्रु राख्नेलाई कडा कारबाही गर्न लागिएको उनको भनाई छ । यस्तै, यात्रु बोक्ने सवारीले सामान बोकेमा तथा सामान बोक्ने सवारीसाधनले यात्रु बोकेमा पनि जरिवाना बढाइदैछ ।