१४ भदौ, धादिङ–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउने गरी कार्ययोजना तय गर्न सम्वन्धित मन्त्रालयहरुलाई निर्देशन दिएका छन् ।
नेपाली नागरिकलाई देशभित्रै सम्मानजनक श्रम गर्ने र उचित पारिश्रमिक पाउने अवस्था सिर्जना गराउनुपर्ने उनले बताए । सरोकारवाला मन्त्री र मन्त्रालयका सचिवहरुलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर प्रधानमन्त्रीले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन मिलेर काम गर्न निर्देशन दिएका हुन् ।
यसमा परराष्ट्र र श्रम मन्त्रालय मिलेर योजना र कार्यक्रम बनाउन प्रधानमन्त्रीले आग्रह गरेका छन् । वैदेशिक रोजगारीमा गएका नेपालीहरुका समस्याका साथै यसलाई व्यवस्थित बनाउने बारे ब्रिफिङ सुनेपछि प्रधानमन्त्रीले परराष्ट्र र श्रम मन्त्रालयलाई उक्त निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि, कृष्णबहादुर महरा, परराष्ट्र मन्त्री डा. प्रकाशशरण महत, श्रममन्त्री सूर्यमान गुरुङ, सञ्चारमन्त्री सुरेन्द्र कार्की तथा मुख्य सचिवसमेतको उपस्थिति रहेको थियो ।