१५ भदौ , धादिङ- लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेका नेपाल तरुण दल धादिङका अध्यक्ष दिनेश गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।
थाइल्याण्डमा बसेर एमफेटामाइनको कारोबार गरिरहेका धर्म पाख्रिनसँग गुरुङ पनि संलग्न रहेको खुलेपछि लागूऔषध नियन्त्रण ब्यूरोले गत शुक्रबार काठमाडौंको महाराजगंजबाट उनलाई पक्राउ गरेको थियो ।
जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि उनलाई केन्द्रीय कारागार भद्रगोल जेलमा राखिएको छ । गुरुङसहित एमफेटामाइनको कारोबारमा संलग्न रहेको अभियोगमा पक्राउ परेका ६ जनालाई नै थुनामा राखिएको छ ।
गुरुङमाथि धर्म पाख्रिनका भाइ पूर्ण पाख्रिनमार्फत बर्माबाट एमफेटामाइन ल्याएर काठमाडौंमा बिक्री गर्ने गरेको आरोप छ ।
गत असारमा पक्राउ परेका नेत्र गुरुङ र चित्र तामाङले एमफेटामाइनको कारोबारमा पूर्णसँगै दिनेश गुरुङ पनि संलग्न रहेको बयान दिएपछि उनी ब्यूरोको फरार सूचीमा परेका थिए ।
ब्यूरोका एसएसपी गणेश केसीका अनुसार, काठमाडौंमा एमफेटामाइन ल्याउन दिनेशले पूर्णसँग मिलेर लगानी गर्दै आएका थिए ।
दिनेशले धर्म पाख्रिनसँग मिलेर ५ वर्षदेखि एमफेटामाइनको कारोबार गरिरहेको खुलेको ब्यूरोका एक अधिकृतले बताए । त्यसका लागि पाँच वर्षअघि उनी आफैं थाइल्याण्ड पुगेको पनि ब्यूरोको अनुसन्धानबाट खुलेको छ ।