Mon. May 19th, 2025

धादिङको मौवा खोलादेखि चितवनको जुगेडीसम्म ३८ ठाउँमा दुर्घटनाको उच्च जोखिम

bus-accident
१८ भदौ,  धादिङ – दुर्घटना न्यूनीकरण गर्ने लक्ष्यसहित चितवनको जुगेडीदेखि धादिङ सिमानामा पर्ने मौवा खोलासम्मको राजमार्गमा दुर्घटनाग्रस्त क्षेत्रको पहिचान गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा नारायणघाट मुग्लिन सडकखण्ड आयोजनाको संयुक्त अनुगमनपछि दुर्घटनाको जोखिम क्षेत्रको पहिचान भएको हो ।

अघिल्लो शुक्रबार कालीखोलामा २२ जनाको ज्यान जानेगरी भएको यात्रुबाहक बस दुर्घटना र त्यसको भोलिपल्ट जलविरे घुमाउनेमा समेत एउटा ट्रक त्रिशूली नदीमा खसेपछि यहाँको सडक सुरक्षाको अवस्था अध्ययन गरी जोखिम क्षेत्र पहिचान गरिएको हो ।

झन्डै ५० किमी रहेको सो क्षेत्रमा ३८ स्थानमा दुर्घटनाको उच्च जोखिम क्षेत्र पहिचान गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्र्रमुख राजन भेटवालले जानकारी दिए । उनका अनुसार दुर्घटनाग्रस्त क्षेत्रमा ट्राफिक सङ्केत, आवश्यक भौतिक निर्माणलगायतका काम गरेर सुरक्षित क्षेत्र बनाउन आग्रह गरिएको छ ।

चितवनको जुगेडीदेखि मुग्लिनसम्म २५ किमी क्षेत्रको ३२ स्थानमा र मुग्लिनदेखि मौवाखोलासम्मको झन्डै २० किमी क्षेत्रका छ स्थानमा दुर्घटना क्षेत्र पहिचान गरिएको छ ।

मुख्यगरी नारायणगढ–मुग्लिन क्षेत्रमा पर्ने गाईघाट, घुमाउने, कालीखोला, चार किलो हाइट, पाँच किलो, भालुपहाड घुम्ती, भोर्ले पुल, जलविरेलगायतक क्षेत्र बढी जोखिममा रहेको भेटवालले बताए ।

यस्तै, मुग्लिन उता मौवाखोलासम्म नाग्दीपुल, मुग्लिन मोड, रमाइलो डाँडा, कुरिनटार, डाहकी पुल, फिस्लिङ क्षेत्र दुर्घटनाको जाखिममा छ । सो जोखिम क्षेत्रमा सडक साँघुरो, निर्माणाधीन अवस्था, ग्याविङ वाल भएको, सिमेन्ट प्याराफिट, मेटल क्रस बेरिएर जीर्ण भएको, ट्रफिक सङ्केतसमेत नभएको पाइएको प्रहरीले जनाएको छ ।

About The Author

अन्य समाचारहरु: