२१ भदौ, धादिङ – नेपालको प्रसिद्ध मनकाममा मन्दिर जीर्णाेद्धारको कार्य तीव्र गतिमा अघि बढिरहेको बेला हामी सबैको पवित्र धरोहर, माता मनकामनाको बन्दैछ घर भन्ने अभियान सुरु भएको छ ।
मनकामना दर्शन प्रा.लि., मनकामना मन्दिर जीर्णाेद्धार समिति, उद्योग वाणिज्य संघ मनकामना इकाई, लगायत स्थानीय होटलहरुको सहकार्यमा अभियान थालिएको हो ।
महाभुकम्पले मन्दिरमा क्षति पु¥याएपछि हाल यसको पुर्ननिर्माणको काम भइरहेको छ । गोरखाको नमूना गाविसमा अवस्थित मनकामना मन्दिरको पाँच सय वर्ष लामो इतिहास छ । अहिले पुर्ननिर्माणको ५० प्रतिशत काम सकिएको मनकामना दर्शन प्रा.लि. का कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठले जानकारी दिए ।
२०७२ बैशाख १२ र २९ गतेको भुकम्पले मन्दिरमा थप क्षति पुगेपछि दुई वर्षमा सक्नेगरी २०७२ साउन महिनाबाट पुर्ननिर्माणको काम थालिएको थियो । कुल ८ करोड ४८ लाख को इष्टमेटमा मन्दिर पुर्ननिर्माण थालिएको मनकामना जीर्णाेद्धार समितिले जनाएको छ । मन्दिर जीर्णाेद्धारको लागि नेपाल सरकारबाट ४ करोड बराबरको बस्तुगत सहयोग भएको छ भने मनकामना दर्शन प्रा.लि.ले १ करोड सहयोग गरेको छ ।
दर्शन गर्न जाने यात्रुहरुलाई सोमबारदेखि केवुलकार टिकटमा १५ प्रतिशन गरिएको छ । मनकामना दर्शन प्रा.लिले भदौ २० गतेदेखि ३१ गतेसम्मका लागि १५ प्रतिशन दिएको हो । मनकामना दर्शनका लागि आउने दर्शनार्थीहरुलाई स्थानीय होटलले पनि १५ प्रतिशत छुट दिएको छ ।
हाल मन्दिर पुननिर्माणको काम भइरहेको र दर्शनार्थीलाई माताको दर्शन गर्न तथा पुर्ननिर्माण कार्यको अवलोकन गर्ने चाहना पुरा गर्न थप उत्साह बढाउनका लागि केवुलकारको टिकट, होटल, बस सेवा र खान तथा बस्नका लागि समेत छुटको व्यवस्था मिलाइएको अभियानकर्ताहरुले बताएका छन् ।
करिब ३ सय ५० वर्षको इतिहास बोकेको मनकामना मन्दिरमा देशविदेशबाट पर्यटकहरु दर्शन गर्न आउने गरेका छन् । माताको दर्शनको लागि केवुलकार चढेर जाने यात्रुको संख्या मात्रै प्रतिवर्ष १० लाख रहेको छ भने हजारौको संख्यामा हिँडेर र गाडीमा दर्शनार्थीहरु मनकामना पुग्ने गरेका छन् ।