Mon. Apr 29th, 2024

काम गर्नेको कदर ढिलै भए पनि हुने रहेछ : महत्तो

rajendra-mahatyo

निजामती सेवा पुरस्कारबाट सिंचाई विकास डिभिजन कार्यलय धादिङका सिनियर डिभिजन ईन्जिनियर राजेन्द्र महत्तो पुरस्कृत भएका छन् । १३ औँ निजामती सेवा दिवसको अवसर पारेर सरकारले महत्तोलाई पुरस्कृत गरेको हो । नगद ५० हजार राशी सहित महतो पुरस्कृत भएका हुन् । महत्तो २०७२ बैशाख २८ गते तनहुँबाट सरुवा भएर धादिङ आएका थिए । २९ वर्षदेखि महत्तो सरकारी सेवामा छन् । जिल्लामा सिंचाईको अवस्था, सिंचाई योजनाहरुको भुकम्पको प्रभाव तथा आगामी कार्ययोजना लगायतका विषयमा पाविलन्यूज डटकमका संवाददाता अस्मिता खतिवडाले गर्नुभएको कुराकानी……..

निजामती सेवा पुरस्कारबाट पुरस्कृत हुनुभयो, कस्तो लागिरहेको छ ?
– धेरै खुशी लागिरहेको छ । काम गर्नेको कदर ढिलै भए पनि हुने रहेछ भन्ने महसुस भएकोे छ । मेरो एक्लो प्रयासको जित होइन हो, यो सिंचाई विकास डिभिजन कार्यलय धादिङका सम्पुर्ण साथीहरु, मेरा सहकर्मी इञ्जिनियर साथीहरु, विभिन्न सिंचाई उपभोक्ता समुहहरु र सम्पुर्ण धादिङबासीको प्रयासको फल हो । सबैलाई धेरै धन्यावाद दिन चाहन्छु ।

जिल्लामा सिंचाईको अवस्था कस्तो छ ?
–  निकै सुधारिएको अवस्थामा छ । भुकम्प पश्चात जिल्लामा सिंचाईका धेरै योजनाहरु थपिरहेका छन् । आर्थिक वर्ष २०७२/०७३ मा ३ वटा नयाँ योजना, ७ वटा मझौला, २ वटा सिएमआइएयासपी र ३ वटा नयाँ प्रविधीमा आधारित योजनाहरु प्राप्त भएका थिए । त्यस्तै आर्थिक वर्ष २०७३/०७४ को कुरा गर्नुपर्दा ९ वटा मझौला, २ वटा सिएमआइएयासपी र ९ वटा नयाँ प्रविधीका योजनाहरु प्राप्त भएका छन् । यसरी हेर्दा जिल्लामा सिंचाईको अवस्था राम्रो छ ।

कति क्षेत्रफलमा सिंचाई सुविधा पुगेको छ ?
– हाम्रो धादिङमा १९ हजार ७ सय ९६ हेक्टर क्षेत्रफल सिंचाई सुविधा पुग्न सक्ने क्षेत्रका रुपमा रहेका छन् । जस मध्ये ११ हजार ८ सय ३९ हेक्टरमा सरकार र जनताको प्रयासबाट सिंचाई सुविधा पुगिसकेको छ । राम्रो सिंचाई क्षेत्रकै कुरा गर्दा त बेनिघाट गाऊँ विकास समिति त्यस्तै धुषा, खरी, कल्लेरी नै अग्रपंक्तीमा आउँछन् । उत्तरी भेगमा भने सिंचाई सुविधा पु¥याउन निकै कठिन भइरहेको छ ।

जति क्षेत्रमा सिंचाई सुविधा पुगेका छन् के पाउनुभयो, सिंचाईले कृषि उत्पादनमा कस्तो प्रभाव पार्ने रहेछ ?
– वास्तवमा कृषि उत्पादनको मुख्य आधार भन्नु नै सिंचाई हो । सिंचाई विना कृषि संभव छैन । सिंचाई सुविधा पुगेपछि कृषिमा परेको प्रभावको चर्चा गर्दा एऊटा उदाहरणको रुपमा हामी धादिङ बैरेनीलाई लिन सक्छौं । बैरेनी गाविसमा भल्टार सिंचाई योजना परेपछि त्यहाँको उत्पादनमा निकै वृद्धी भएको त्यहाँका उपभोक्ता तथा किसान मित्रहरुको भनाइ छ । भल्टार सिंचाई योजनाले स्थानिय १ सय ७० हेक्टर क्षेत्रमा सिंचाई सुविधा पुगेको छ । सो योजना पुगेपछि १ सिजनको हिंउदे तरकारी खेतीबाट कृषकहरुले ५ करोड आम्दानी लिएका उदाहरण छन् । १ रोपनी जमीनमा १ बाली खेतीबाट १ लाख सम्मको आम्दानी पनि लिएका छन् ।

२०७२ साल बैशाख १२ गतेको भुकम्पले सिंचाई योजनाहरुमा कस्तो असर पा¥यो ?  
– योजनाहरु धेरै क्षती भए । हाम्रा सिंचाई योजनाहरु भत्कीए पुरिए, चर्किए भन्दै जिल्लामा हाल सम्म ८०/८२ वटा निवेदनहरु आएका छन् । जसमध्ये ६० योजनाहरुको स्थलगत निरिक्षण गर्ने काम भइसकेको छ । भत्कीएका पुरिएका योजनाहरुको मर्मत संभार तथा नयाँ योजनाहरुको कार्यन्वयनका काम प्रभावकारी रुपमा संचालन गर्न हामी लागिपरिरहेका छौं । तर तिव्र गतिमा अगाडी बढ्न सकेका छैनौं ।

क्षतीग्रस्त योजना मर्मत संभारका लागि तिव्र रुपमा काम अगाडी बढाउन नसकेको कुरा जोड्नुभयो, चुनौतीहरु के छन् ?   
– माग अनुसारको सरकारबाट बजेट परेको छैन । हामीलाई जति पनि योजना भत्कीएका, पुरिएका तथा चर्किएका भन्दै माग आएका छन् त्यको मर्मत संभारका लागि ८ करोड जतिको रकम चाहिने अनुमान हामीले गरेका छौं । यो आर्थिक वर्ष २०७२/०७३ को अनुमान हो । तर सरकारबाट प्राप्त बजेटको कुरा गर्दा आर्थिक वर्ष ०७१/०७२ मा ४७ लाख र आर्थिक वर्ष ०७२/०७३ मा ५६ लाख मात्रै रकम प्राप्त भएको छ । रकम अभाव नै हाम्रो मुख्य चुनौती हो भन्ने लाग्छ । क्षती अनुरुप रकम नआउँदा मर्मत संभारको कामलाई तिव्र गतिमा अगाडी बढाउन सकिरहेका छैनौं ।

पुननिर्माण प्राधिकरणबाट पनि रकम प्राप्त होला नि ?
– अं..पुननिर्माण प्राधिकरणबाट रकम उपलब्ध कुरा गराउने, सहयोग गर्ने कुरा आइरहेको छ । तर के कति र कहिलेसम्म भन्ने कुरा झै एकिन हुन नसक्नुले पनि कामलाई प्रभावित र हामीलाई अन्यौल बनाइरहेको छ ।

अधिकांश कृषकहरुको गुनासो छ–त्रिशुलीमा पानी बगिरहेको छ हाम्रो टार सुख्खा छ, सिंचाई विकास डिभिजन कार्यलय धादिङको योजना के छ ?
– ठिक प्रश्न गर्नुभयो, लिफ्टिङ सिष्टमबाट पम्पबाट तानेर त्रिशुलीको पानी माथी गाऊँका सुख्खा टारमा पु¥याऊने प्रयास हामीले गरिरहेका छौं । ट्रायलको रुपमा हामीले कुम्पुर र कल्लेरीमा काम सुरु पनि गरिसकेका छौं । कुम्पुर ५ र ६ को पिपलटार सिंचाई योजना र कल्लेरी केउरेनीटारको सिंचाई योजनामा ट्रायलको रुपमा हामीले यो कामको थालनी गरेको छौ । यदि हामी यसमा सफल भयौं भने त्रिशुली माथीका अन्य सुख्खा टार र आँखुखोला साइडका टारमा पनि सिंचाई सुविधा पु¥याउने हाम्रो लक्ष्य छ ।

अन्तमा के भन्न चाहनुहुन्छ ?
– हामी सक्रिय भएर लाग्ने हो जिल्लाले सिंचाईका क्षे    त्रमा अनगिन्ती सफलता हासील गर्न सक्छ । यसमा उपभोक्ताहरुको तदरुकता एकदमै आवश्यक छ । जिल्लामा बसुञ्जेल यहाँको सिंचाई क्षेत्रको विकासका लागि लागि परिरहनेछु । धन्यावाद ।

About The Author

Loading...

अन्य समाचारहरु: