Sat. Dec 7th, 2024

विश्व क्रिक्रेटमा उक्लँदै नेपाल

Paras-Khadka_20150122084737

काठमाडौ

प्रथम श्रेणीको मान्यता पाएको अन्तरमहादेशीय चारदिवसीय खेल खेल्ने नेपालको सम्भावना नजिकिएको छ । नामिबियामा भइरहेको विश्व क्रिक्रेट लिग डिभिजन-२ मा नेपालले लगातार तेस्रो विजय हात पारेको छ । विजयसँगै फाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ ।

नेपालले बुधबार घरेलु टोली नामिबियालाई ३ विकेटले पराजित गर्‍यो । विन्डहोकस्थित युनाइटेड क्रिकेट क्लब मैदानमा पारसले ६४ रनको सानदार इनिङ्स खेलेपछि नेपालले १ सय ४३ रनको लक्ष्य ३७.५ ओभरमा १ सय ४६ रन बनाउँदै पूरा गर्‍यो । यसअघि टस हारेर ब्याटिङ गर्न आएको नामिबिया ४९.१ ओभरमा १ सय ४२ रनमा अलआउट भयो ।

नेपाल र नामिबियाले ४ खेलमा समान ३ विजय हात पारेका छन् । तर राम्रो रन रेटमा नामिबिया पहिलो स्थानमा छ । क्यानाडा र नेदरल्यान्ड्स २-२ खेल जिती तेस्रो र चौथो स्थानमा छन् । केन्या र युगान्डा १-१ खेलमात्र जिती पुछारमा छन् । शीर्ष २ टोली फाइनल पुग्दै डिभिजन-१ मा उक्लने छन् ।

नेपालले शुक्रबार केन्यासँग खेल्ने छ । विजय पाएमा नेपाल डिभिजन-१ मा उक्लने छ । साँघुरो हारले पनि नेपाललाई डिभिजन-१ मा उकाल्न सक्छ । नेदरल्यान्ड्सको कमजोर मानिएको युगान्डासँग अन्तिम खेल बाँकी रहेकाले नेपाल ढुक्क हुने अवस्थामा छैन ।

नामिबियासँगको विजयपछि नेपालले कम्तीमा डिभिजन-२ मै रहने पक्का गरेको छ । तीन महिनाअघि डिभिजन-३ जितेको नेपालले डिभिजन-२ मै रहने भएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट २ लाख ५० हजार हाइपर्फोमेन्स ग्रान्ट पाउने छ ।

डिभिजन-१ को लक्ष्यसहित नेपाल अपि|mकी मुलुक लागेको थियो । डिभिजन-२ को फाइनल पुग्ने २ टोली अन्तरमहादेशीय कप र विश्व क्रिकेट च्याम्पियनसिपमा खेल्न पाउँछन् । विश्व क्रिकेट च्याम्पियनसिप एकदिवसीय संरचना हो । साथै डिभिजन-१ मा पुग्ने टोलीले आईसीसीबाट ४ लाख ५० हजार हाइपर्फोमेन्स ग्रान्ट पाउने छन् । क्रिकेट अनिश्चितताको खेल हो । ठूलै उथलपथल नभएमा नेपाल डिभिजन-१ मा पुग्ने निश्चित छ ।

बलरले जितको आधार तय गरेको कप्तान पारस खड्काले बताए । ‘अझै एक खेल बाँकी छ,’ उनले भने, ‘त्यसअघि यो लय कायमै राख्दै अघि बढेर दुई खेलसम्म लम्ब्याउनुपर्ने छ । हामीलाई सजिलो भने छैन । त्यसैले राम्रो क्रिकेट खेल्दै हामी आफ्नो जिम्मेवारी निर्वाह गर्नेछौं ।’

(इकान्तिपुर अनलाइनबाट साभार)

About The Author

अन्य समाचारहरु: