Tue. Mar 18th, 2025

फूलहरुले रोजेको एक मात्र तिमी

Sarita shrestha

सरिता श्रेष्ठ, धादिङ
आँगनीको डीलमा मखमली, सयपत्री रोइरहन्छ, म हरेक पटक सम्झाउने, बुझाउने प्रयासमा छु अह सम्झने कुनै संकेत नै देखिदैन । आँशुका ती धाराहरुले मन बिजाएको जस्तै लाग्छ, टुलुटुलु मलाई नैं हेरिरहेको जस्तो लाग्छ मलाई नै गीज्याएको जस्तो लाग्छ, अनि मलाई नै गाली गरिरहेको जस्तो लाग्छ । बोल्ने कुनै आँट छैन, संगै बस्ने साहस छैन । मनमनै  विचरा भन्नु सिवाय मबाट अरु शव्दको कुनै तारिफता छैन ।

सधैँ मेरो आतेजाते बाटो त्यही आँगनी हुनाले मेरो नजर हरेक पटक त्यहीँ फूल माथि हुने गर्छ । मबाट कुनै नयाँ शव्दहरुको  सिर्जना हुन सकेन । नयाँ मान्छेको आगमनलाई स्वागत गर्न सकिन । त्यसैले यस्तो लाग्छ की उसले मलाई नै दोषी त देखिरहेको छैन । मनमा डर छ, बेला बेलामा मुटु झस्कीरहन्छ त्यसैले त म माथि नै आरोपको संज्ञा पाउन्छु र आफैमा लाजको अनुभूति सहन्छु । आफैले आफैलाई गाली गर्छु । ती फूलहरुले मलाई टुलुटुलु हेरिरहन्छ । म नदेखे झै गर्छु । म उनको भावना बुझछु तर मसँग कुनै उपाय नै छैन ।

लाग्छ मैले कसैको धेरै ठूलो बोझ बोकिरहेको छु । त्यो बोझ पूरा गर्न रात दिन भौतारिहरेको छु । धिक्कार छ तँलाई, आफैले आफैलाई सराप्छ कहिले त । मबाट बोल्ने कुनै शब्द नै निस्कदैन ।  केही गर्नु छ, केही दिनु छ अनि केही लिनु छ  मनमा आँट छ, एकैछिनको नैराश्यता व्यवहार फेरी जोसिला भएर आउँछ । आज त उनको सपना पूरा गरेरै छाड्नेछु मनमनै सोच्छु अनि रातो अनुहार लगाएर गन्तव्यतिर लाग्छु । केही गर्नु छ उनको लागि ।

म सधैँ खोजी रहेछु, हरेक सपनी विपनीमा उ नै झल्किरहेको आभास पाँउछु । स्वच्छ छ उसको भावना, अटल छ मुस्कानका लहरहरु, बोलीमा मिठासपना छ, ओठमा हाँसो छ, बोलीमा सरलता छ, शरीरका अंगहरुमा स्पर्श छ । यीनै कुराहरुले नै गर्दा उनको आकर्षण हरेक फूलहरु प्रति नै देखिएको होला । उसले गर्ने मायालु व्यवहार, जोशिला क्रियाकलापले गर्दा नै होला जो कोही पनि उनीप्रति आकर्षित भएको हुनुपर्छ । नयन ती हातहरुले एकैछिन भने पनि फूलहरुको स्पर्शलाई छोइदिँदा सयौ युगसम्म बाँचेको अनुभव हुन्छ अरे । त्यसैले फूलहरुले उसलाई हत्तपत्त छोड्न चाहदैन । फेरी उ गएदेखि उ जस्ता सयौँ फुलमालीहरु आए तर उ जस्तो हुन सकेन । खै के जादु छ उनमा ?

कुना काप्चा हरेक ठाँउमा खोजी गर्ने क्रमलाई मैले जारी नै राखेकी छु ।  अझसम्म भेटेको त छैन तर पनि चाँडै नै भेट्ने उत्साह छ ममाथि र मैले अवश्य नै भेट्ने पनि छु । बाटोमा भेट्नेहरुलाई उसको बारेमा सचित्र वर्णन गरिदिएको हुन्छु तैपनि अत्तोपत्तो भेटीने कुनै संकेत नै छैन । कहाँदेखि कहाँसम्म खौजौंँ मैले पो ।

मनको वह पोख्नु छ, उ सँग धेरै भलाकुसारी गर्नु छ, गुनासाका पोकाहरु खोल्नु छ, उ सँग अंकमाल गर्दै  माया साट्नु छ त्यसैले त आज उसैको खोजीमा छु । घरदेखि बजार, हरेक कुनाकाप्चा, चोक, सडकका गल्ली गल्ली हर ठाँउमा मेरो नजर गडी रहेको छ । दिनभर आँखा नबिझाएसम्म उनैको खोजीमा हुन्छु जब झिसमिस रात हुन्छ रित्तो हात, मलिन अनुहार, रुन्चे मुख देखाउन फेरी त्यही फूलको अगाडि हाजिर भैरहेको हुन्छु ।

बोल्ने कुनै साहस छैन । खुरुखुरु कर्के नजर लगाएर कोठातिर लाग्छु । म सक्दिन कसैको बोझ बोक्न, कस्को लागि, किन यस्तो गर्दैछु, फेरी सोच्न मन लाग्छ । नजिकैको झयालबाट नियाल्छु । उसको छुट्टै एउटा जीवन छ । उसले पनि आफ्नो राजीखुसी बाँच्न पाउनुपर्छ नी । मनमा कहिलेकाँहि यस्ता विचारहरुले पनि दुविधाको रेखातिर धकेल्दिन्छ । मैले सकिन तिम्रा इच्छा पूरा गर्न, म पूर्ण असमर्थक भएँ । म थकित छु ।

सपनीमा बोलिरहेको हुन्छु, खेलीरहेको हुन्छु, दुखसुखका कुराहरु साटिरहेको हुन्छु, चाडैँ भेट्नुपर्छ भन्ने बाचा पनि गर्छ उसले ।  तर जब आँखा खुल्यो उ गइसकेको हुन्छ । मनमा अलिकति भएपनि आशा राख्छु । भोलि पनि त्यस्तै सपनी देखियोस् उ सँग र्नै कुरा गरिरहेको । तर चाहेर पनि केही गर्न सकिन । खोज्नै क्रममा कुनै कसुर पनि बाँकी राखिन तर पनि उसको छायालाई पनि चिन्न सकिन ।

फूलहरु ओइलीरहेको छ । कसैको नजर त्यहाँ छैन । उसको महत्वलाई मान्छेहरुले बुझन सकेनन् । केवल उनैले मात्र बुभ्ने गर्छ मेरो  महत्वलाई । फूलका प्रकृतिहरुले यसो नै भनिरहेका हुन्छन् । कि त मैले यो ठाँउबाट अलगीनुपर्छ कि भने मैले फूलहरुसँग माफि माग्नै पर्छ । म सँग भएको यो बिकल्पलाई  रोज्दै उनको लागि अन्तिम खोजी पत्र मार्फत गरिदिएर म पनि यस ठाँउबाट सदासदाका लागि टाढा भइदिए ।

प्रिय, फूलहरुको तिमी

तिमीले मान्छेको भावना त बुझेकी थियौँ होला तर फूलहरुको भावना पनि बुझने गर । कसैप्रति आकर्षित हुने खालको हुनु, यो तिम्रो देष त होइन तर पनि अरुको मर्म, पिडालाई पनि आफ्नै गरी बुझने प्रयास गर । सयौँ युगदेखि तिम्रो बाटोमा फूलहरु सजी बसेको छ । चमकचमक गरेको बत्तीहरुको तेजको गति कम भएको छ ।

फूलहरुले केवल तिमीलाई नै खोजिरहेको छ । रातदिन भौतारिरहेको छ । सास रहुन्ञ्जेल हरेक फूलहरुको प्रतिक्षा तिमामा मात्र हुन्छ । केहीले आफ्ना जीवन तिम्रा लागि अर्पण गरिसक्यो भने केही अझै पनि तिम्रै प्रतिक्षारतामा नै छन् । उनीहरुको रोजाइमा केवल तिमि मात्र छौँ । यो सन्देश मात्र तिम्रा लागि हो । चाडैँ नै निम्तालाई स्वीकार गर र फूलका अगाडि हाजिर हौँ सबैको भलाई यसैमा होला ।

About The Author

अन्य समाचारहरु: