Tue. May 21st, 2024

आकाशको फल आँखा तरी मर

Sunita simkhada
सुनिता सिंखडा

२०६४ को संविधानसभाको प्रथम निर्वाचनको बेलामा जनताको आँखामा आशाको दियोको प्रतिबिम्ब स्वरुप चमक देखिएको थियो । जुन चमक दोस्रो संविधान सभाको निर्वाचनहुँदासम्म पनि आशाको दियो स्वरुप नै बलिरहेको थियो । यस बिचमा आम जनताले संविधानसभाबाट कुनै उपलब्धि हासिल गर्न सकेनन् । यसको बदला चरम महंगी र जीवन निर्वाहका लागी अत्यावश्यक ग्याँस तथा पानी जस्ता उपभोग्य वस्तुहरुको अभाव तथा हाहाकार सदैब भोग्दै आएका थिए र भोगी नै रहेका छन् ।

राष्ट्रनिर्माता पृथ्वी नारायण शाहले  बाइसि र चौबिसि राज्यहरुलाई एकिकरण गरि अखण्ड बनाएका सुन्दर माला जस्तो यो  देशलाई जातियता तथा संघियताको नाममा पुनः खण्डित गर्ने विषयमा बहस चर्किरहँदा छिमेकबाट भइरहेको सिमा अतिक्रमणका समस्या कसैका लागी चिन्ताको विषय बन्न सकिरहेको छैन । देशविकासका मेरुदण्ड स्वरुप मानिने युवाशक्ति दिन दुगुना रात चौगुनाका दरले विदेशिइरहेका छन् । नेपाल यस्तो अस्तव्यस्त रुपमा गुज्रिरहँदा विश्वसमुदायले यहाँका हरेक क्रियाकलापलाई बढो चाखका साथ मनोरञ्जनात्मक रुपले चिहाइरहेका छन् । अस्वभाविक परिस्थितिमा देश गुज्रिएको फाइदा उठाउँदै समाजमा हिंसा, हत्या , बलात्कारका घटनाहरु बढिरहेका छन् ।

कानुनी राज्यको परिकल्पनामा जनताले निकै सास्ती र दुःख पाइसकेका छन् । संविधान पाउनुपर्ने समयमा जनताले केवल धोका , महंगी जस्ता चिज मात्र पाए । कानुनी राज्यको परिपालना गराउनुपर्ने व्यक्तिहरुबाट नै कानुनी राज्यको धज्जी उडाइएको छ । बन्द, हड्ताल र आन्दोलनलाई सिमित सम्भ्रान्त वर्गको खल्ती भर्नका लागी आव्हान गरिएको छ जसको प्रत्यक्ष मार बिहान बेलुकि हातमुख जोड्न धौ धौ पर्ने गरिब जनतालाई परिरहेको छ । जनताको भावनासँग खेलबाड गर्दै उल्टै जनताको मुक्ति र समाज परिवर्तनका लागी बन्द हड्ताल र आन्दोलत गरेको भन्दै कुर्लदासम्म कुनै शरम र ग्लानी नेता भनौदाहरुको अनुहारमा झल्कीनु त परै जाओस् बोध सम्म पनि गरिरहेका छैनन् । महिला तथा पीछडिएका वर्गका अधिकारका कुरा सधैं मागमा नै सिमित भैरहेका छन् । हरेक कुरामा प्रतिबद्धता व्यक्त गर्न पछि नपर्ने नेतृत्व, कार्यान्वयनको पाटोमा भने सधैं चुक्ने गरेको छ । सबैलाई आफ्नै स्वार्थको डम्फु बजाउन भ्याइ नभ्याइ भइरहेको छ ।

यसै बिचमा संविधान निर्माणका लागी दोस्रो संविधान सभाको निर्वाचनबाट निर्वाचित भएर गएका जननिर्वाचित प्रतिनिधिहरु फेरी एकपटक निकम्मा साबित भैसकेका छन र संविधानसभा प्रायतःतुहिइ सकेको छ । जनताको धैर्यताको बाँध टुटिसकेको छ । हरेक दोबाटो, चौबाटो, चोक , गल्ली तथा घरघरमा संविधानसभा सदस्य प्रति जनताले आगो ओकल्न थालेका छन् । देशलाई अनिर्णयको बन्दि बनाउने निकम्मा सरकारको रुपमा अहिलेका दलहरु सार्थक भएका छन् । संविधान निर्माणको लागी तोकिएको अन्तिम मिति माघ ८ को नजिक रहँदा विपक्षी दलको हर्कतले उनीहरुको स्वभाव र चरित्रलाई छर्लङ्ग बनाएको छ । जनताको आशालाई कुठाराघात गर्ने गरी गरिएको हर्कतले नेपाल तथा सारा नेपालीको शिर विश्वसामु झुकेको छ । देशको मुल कानुन संविधान पाउनुपर्ने दिन , त्यो दिन नसकेपनि खाका सम्म भएपनि प्रस्तुत गर्न सकेको भए सारा नेपाली जनता कति खुसि हुने थिए , तर विस्मत, नेपालको संविधान निर्माण पश्चात् दिपावली गरी खुसियाली मनाउने दिनको आशा गर्नु “आकाशको फल आँखा तरी मर ” भनेझैं भएको छ ।

About The Author

Loading...