शंकर श्रेष्ठ, धादिङ
‘थोत्रा कपडा पेलेर नयाँ सिरक बन्छ’ भन्दा तपाइलाई विश्वास नलाग्न सक्छ । तर सदरमुकाम धादिङबेसीमा संचालनमा आएको धादिङलाई कपास उद्योगलाई थोत्रा कपडा पेर सिरक, डसना र तकिया बनाउन यतिखेर भ्याई नभ्याई छ ।
धादिङ साङ्कोषका दुई यूवाले सुरु गरेको उद्योगमा पुराना, थोत्रा तथा च्यातिएका कपडा च्यापेर नयाँ सिरक, डसना बनाउन आउनेहरुको घुइँचो लाग्ने गरेको छ । पुराना लत्ताकपडालाई पेलेर कपास निकाल्न थालेपछि उद्योगप्रति सर्वसाधारणको आकर्षण बढ्न थालेको हो । ७ वर्ष लगातार विदेशी भूमिमा संघर्ष गर्दापनि भनेजस्तो कमाइ नभएपछि निरास बनेर घर फर्किएका धादिङ साङ्कोषका पाण्डब बखती र राजु अधिकारीले गत डेढ वर्ष अघिबाट यो व्यवसाय सुरु गरेका हुन् ।
थोत्रा कपडा बोकेर कपास उद्योग पुगेका सेवाग्राहीलाई कपडा पेलेर सामान तयार गरिदिए बापत केही रुपैया लिएर नयाँ सिरक डसना बोकेर फकाउने गरेका छन् । पुराना कपडा प्रशोधन गरेर नयाँ सिरक, डसना र तकिया बनाउने पेशाबाट राम्रो आम्दानी हुने उद्योग संचालक पाण्डव बखतीले बताए ।
च्यातिएर काम नलाग्ने भैसकेको थोत्रा कपडालाई अचानोमा राखेर टुक्रा टुक्रा बनाएर काटेपछि मेसिनको प्रयोगले धुजाधुजा बनाएर कपास बनाइन्छ । यही कपासबाट चाहना अनुसारको सिरक डसना बनाएर उपभोक्तालाई पठाउने गरेका छन् । एक पटक प्रयोग गरेर पुरानो भैसकेको कपडा पनि व्यवस्थापन हुने र बजारमा पाइने रेडिमेट सामान भन्दा सस्तोमा सिरक डसना बन्ने सेवाग्राहीहरु बताउँछन् ।
धेरै पैसा कमाउने लक्ष्य लिएर वैदेशिक रोगगारी अंगालेका राजु अधिकारी र पाण्डब बखतीले ७ वर्ष कतारमा निकै दुःख गरे । तर कमाउन भन्दा पनि विदेश जाँदा खर्च भएको ऋण तिर्न उनीहरुलाई धौधौ भयो । विदेशी माटोमा जति संघर्ष गरेपनि भनेजस्तो कमाइ नभएपछि निरास बनेर घर फर्किएका यी दुई भाजुभाई पुरानो थात्रा कपडालाई पेलेर निक्लिएको रुवाबाट नयाँ सिरक डस्ना बनाउने यो पेशाबाट भने सन्तुष्ट देखिन्छन् । पुरानो कपडा पेलेर सिरक डसना बनाउदा पसलमा किनेभन्दा सस्तोमा पनि आउने र रेडिमेट सिरक डसनाले भन्दा न्यानो दिने उपभोक्ताहरु बताउँछन् ।
अन्य समयमा भन्दा जाडो मौसम सुरु भएपछि पुरानो कपडाको नयाँ सिरक डसना बनाउन आउनेहरुको संख्या अझै बढेको छ । भन्छन्, ‘अहिले दैनिक २०÷२२ जना आउछन् । गाउँ गाउँबाट पनि रेडियोमा विज्ञापन सुनेर मान्छेहरुले थोत्रा कपडा भारी नै बोकेर आउने गरेका छन् ।’ सर्वसाधारणले लिएर आएको र आफ्नै गरी दैनिक २५ ओटा भन्दा बढि सिरक तयार गर्दै आएको बखतीले जानकारी दिए ।
सिरक, डसना र तकियाको लागि आवश्यक पल्ला समेत उनीहरु आफैले सिलाउने गरेका छन् । ग्राहकको चाहना अनुसार तयार गरिएको एउटा तयारी सिरकलाई ८ सय ५० देखि २ हजार रुपैया र डसनालाई ५ सय देखि १४ सय सम्ममा विक्रि गर्ने गरेका छन् । जाडोयाममा सिरक, डसना र सिरानी लगायतका सामानको माग अत्याधि हुने गरेको उनीहरुको दावी छ ।
धादिङ कपास उद्योगको नामबाट डेढ वर्ष अघिदेखि धादिङबेसीमा सुरु गरेको यो व्यवसायबाट अहिले मासिक ३५ हजारसम्म आम्दानी हुने उद्योग संचालक राजु अधिकारीले बताए । कुल २० लाख रुपैयाको लगानीमा सुरु गरिएको व्यवसायले अहिले अन्य १० जनालाई रोजगारी दिएको छ । पहिला स्वरोजगार हुने हिसाबले व्यवसाय सुरु गरेको भएपनि अहिले अरुलाई पनि रोजगारी दिन थालेका छन् ।
विदेशमा जतिसुकै संघर्ष गरेपनि पसिनाको मुल्य नपाएर स्वदेश फकिएका यी दुई भाई अरुलाई पनि आफ्नो क्षमता अनुसारको व्यवसाय सुरु गर्न सल्लाह दिन्छन् ।