Mon. Apr 29th, 2024

घरजग्गा कारोबारमा बैंकले दिन छाडे ऋण

jagya

१२ पुस,  काठमाडौं – 

बैंकहरूले घरजग्गा कारोबार (रियल इस्टेट)मा ऋण दिन बन्द गरेका छन् । वित्तीय प्रणालीमा तरलता संकट बढ्दै जाँदा रियल इस्टेट र सेयरको धितोमा दिने मार्जिन प्रकृतिका कर्जा प्रवाहमा रोक लगाउन थालेको बैंकरहरूले बताए ।

‘सेयर धितोमा कर्जा दिन त केही साताअघिदेखि नै बन्द भइसकेको छ,’ नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले भने, ‘अहिले रियल इस्टेटमा पनि कर्जा निरुत्साहित गर्न थालिएको छ ।’ केही साताअघिदेखि नै तुलनात्मक रूपमा घरजग्गाको कारोबारमा ब्याजदर उच्च राखेर त्यस्तो कर्जा निरुत्साहित गर्न थालिएको उनले बताए । तरलता अभाव भएपछि पुँजी पर्याप्तता अनुपात (क्यापिटल एडिक्विसी रेसियो) उच्च दरमा राख्नुपर्ने घरजग्गा कारोबारमा लगानी गर्न बन्द गरिएको बैंकरहरूले बताए ।

नेपाल राष्ट्र बैंकको नियमअनुसार घरजग्गा कारोबार र मार्जिन प्रकृतिका कारोबारमा ऋण दिँदा बैंकले एक सय ५० प्रतिशत पुँजी पर्याप्तता अनुपात कायम गर्नुपर्छ । त्यसको मतलब घरजग्गा कारोबारमा बैंकले सय रुपैयाँ लगानी गर्न १५ रुपैयाँ पुँजी राख्नुपर्छ । जबकि, आवासीय घर निर्माणमा कर्जा दिँदा बैंकले ६ रुपैयाँ मात्रै आफ्नो पुँजी राखेर सय रुपैयाँ कर्जा दिन पाउँछ । सुन खरिद गर्न वा मुद्दति निक्षेपका आधारमा दिइने कर्जामा लगानी गर्न बैंकले पुँजी राख्नै पर्दैन ।

अरू सामान्य व्यापारिक र उत्पादनमूलक कर्जा प्रवाह गर्दा सय रुपैयाँ कर्जामा १० रुपैयाँ पुँजी राख्नुपर्छ । यसरी १५ रुपैयाँ पुँजी राख्दा बैंकले रियल इस्टेटमा बढीमा सय रुपैयाँ ऋण दिन पाउँछ भने त्यति नै पुँजीले आवासीय घर कर्जामा २ सय ५० रुपैयाँसम्म ऋण दिन पाउँछ । ‘बैंकमा यसै पनि लगानीयोग्य रकम कम भएका वेला जोखिमपूर्ण बजारमा लगानी नगर्ने निचोडमा बैंकरहरू पुगेका छन्,’ ढुंगानाले भने । नयाँ पत्रिका दैनिकबाट

२०७३ पुस १२ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: