Mon. Apr 29th, 2024

धादिङमा ५५ सय लाभग्राहीले पुननिर्माणको काम सुरु गरेका छन् : भण्डारी

dilip-bhandarii

“भूकम्पीय सुरक्षाको बलियो आधार, भैँचालो थेग्ने घर र भौतिक पूर्वाधार” भन्ने नाराका साथ १९ औँ भूकम्प सुरक्षा दिवस मनाइएको छ । विसं २०५६ देखि नै भूकम्प सुरक्षा दिवस मनाइंदै आएको भएपनि २०७२ साल बैशाख १२ गते गएको भुकम्पले दिवसको सार्थकता झनै बढाएको छ । यसैविच १९ औ भुकम्प सुरक्षा दिवसको सान्दर्भिकता र सन्देश के, भुकम्पिय जोखिम कम गर्न र क्षतिलाई न्युनिकरण गर्न अब कसरी अगाडी बढ्नु जरुरी छ र धादिङमा पुननिर्माणको अवस्था लगायतका विषयमा सहरी विकास तथा भवन डिभिजन कार्यलय धादिङका प्रमुख दिलिप भण्डारीसंग पाविल न्यूज डटकमका संवाददाता अस्मिता खतिवडाले गरेको कुराकानी…

बैशाख १२ गतेको भुकम्पले सिकाएको पाठ र यस बारेमा निरन्तर अध्ययनपछि मनाइंदै गरेको १९ औ भुकम्प सुरक्षा दिवसको सान्दर्भिकता र सन्देश के होला ?

– भुकम्प राष्ट्रिय सुरक्षा दिवस २०७२ साल बैशाख १२ गतेको भुकम्प भन्दा अघिल्ला वर्षहरुमा पनि मनाइंदै आइएको हो । हाम्रो देश नेपाल भुकम्पीय दृष्टिकोणले जोखिमयुक्त देश भएका कारणले गर्दा नेपालमा जुनसुकै समयमा भुकम्प आउन सक्ने भएकाले नागरिकहरुलाई पुर्वतयारीका विषयमा जानकारी दिने उद्येश्यले यो दिवस मनाउन सुरु गरिएको थियो । गत सालको भुकम्पले यो दिवसको सार्थकता झनै बढाएको महसुस हामी सबैले गरेका छौं । वास्तवमा यो दिवसको सन्देश भन्नु नै भौतिक संरचनाहरु भुकम्प प्रतिरोधात्मक र बलियो बनाऔं, हुन सक्ने क्षतिबाट बचौं र बचाऔं भन्ने नै हो ।

भुकम्पिय जोखिम कम गर्न र क्षतिलाई न्युनिकरण गर्न अब कसरी अगाडी बढ्नु जरुरी देख्नुहुन्छ ?

संभावित क्षतिलाई न्युनिकरण गर्नको लागि नेपाल सरकारले विशेष मापदण्ड नै तयार गरेको छ । अव बन्ने भौतिक संरचनाहरु भुकम्प प्रतिरोधात्मक बनाऊनका लागि नेपाल सरकारले तय गरेको मापदण्डहरु सबैले अनुसरण गरेमा पक्कै पनि भुकम्पिय जाखिम कम र क्षती न्युनिकरणमा सहयोग पुग्दछ जस्तो लाग्छ । व्यक्ति विशेषले आफ्नो घर निर्माण गर्दा मात्रै नभएर नगरपालिका तथा गाविसहरुले पनि त्यसलाई लागु गर्ने अभियान सुरु भइसकेको छ । गत सालको भुकम्पले गर्दा नेपालका १४ जिल्लामा लगभग ७ लाख जति घरहरु पुर्ण तथा आंशिक रुपमा क्षति भए । अब ती घरहरुको पुननिर्माण गर्दा खेरी यदि घरधनीहरुले आवास सहयोगार्थ नेपाल सरकारले दिने रकम पाउनका लागि संरचना भुकम्प प्रतिरोधी नै हुनुपर्छ । त्यसैले गर्दा अनुदानकै कारणले गर्दा पनि अब बन्ने घरहरु भुकम्प प्रतिरोधात्मक पक्कै बन्नेछ । आगामी दिनमा भुकम्पले क्षती पु¥याएका १४ जिल्लामा मात्रै नभएर अन्य जिल्लाहरुमा पनि अब बन्ने भौतिक संरचनाहरु भुकम्प प्रतिरोधात्मक नभई गाउँ विकास समिती तथा नगरपालिकाले नक्सा पास नहुने, भुकम्प प्रतिरोधी घर नभएमा त्यो घरमा बत्ति पानीको लाइन पनि जडान नगर्ने कुरा उल्लेख गरिएको छ मापदण्डमा । त्यसकारणले गर्दा पनि अब बन्ने सम्पुर्ण संरचना भुकम्प प्रतिरोधी बन्छ भन्नेमा म आशावादी छु ।

विपदसंग जुध्न हामी कसरी तयार हुँदैछौं, रणनीति के छन् ?

सुरक्षित रहने जम्मा ३ चरण हुन्छन् । एऊटा विपद आउनुभन्दा अगाडीको चरण, अर्को भनेको विपद आउँदाको चरण र तेस्रोमा विपद आइसकेपछिको चरण भन्ने हुन्छ । अहिले ं रेडियो टेलिभिजनका कार्यक्रमहरु मार्फत विपद आउनुपुर्व के गरे, आइसकेपश्थात कसरी सुरक्षित रहने भन्ने विषयमा जानकारी भइरहेको छ । पत्रपत्रिका अनलाइनमा सोहि सम्बन्धी सन्देश प्रकाशन भइरहेको छ । त्यसैगरी विभिन्न पर्चा, पम्प्लेट मार्फत पनि सहर बजार देखी गाउँ स्तरसम्म जनचेतना अभिवृद्धी गर्ने काम भइरहेको छ । विभिन्न संघसंस्थाहरु संगको समन्वयमा नेपाल सरकारले स्थानिय स्तरसम्म तालिम, अभिमुखीकरण कार्यक्रम संचालन गरिरहेको छ । अब बन्ने संरचनाहरु भुकम्प प्रतिरोधात्मक बनुन् भन्ने नै हाम्रो रणनिति हो । हामी यसकै लागि विभिन्न योजना बनाएर लागि परिरहेका छौं ।

धादिङमा पुननिर्माणको अवस्था कस्तो छ, काम कसरी अगाडी बढ्दै छ ?

धादिङ जिल्लाका घरहरु मध्ये अधिकांश घरहरु गत साल बैशाख १२ मा गएको भुकम्पले पुर्ण रुपमा क्षती पु¥याएको थियो । लगभग ७० हजार लाभग्राही मध्ये ५४ हजार भुकम्प प्रभावितले अनुदान रकम लिइसकेका छन् । त्यस्तै ५५ सय लाभग्राहीहरुले पुननिर्माणको काम सुरु गरिसकेका छन् । भुकम्प प्रभावितहरुको भुकम्प प्रतिरोधात्मक घर पुननिर्माणमा सहयोग पु¥याउनका लागि अहिले १ सय ५० जना प्राविधिकहरु गाउँ स्तरमा अहोरात्र खटिरहेका छन् । अहिले पुननिर्माणको चरणमाल रहेका सम्पुर्ण भुकम्प प्रभावितहरुलाई मेरो एउटै अनुरोध–“ प्राविधिकहरुको सल्लाह, प्रतिक्रिया परामर्श लिनुस् । नक्सा पास देखी जग हाल्ने कुरामा प्राविधिक संग समन्वय गर्नुस् । यदि तपाइंहरुले प्राविधिक साथीहरुको सल्लाहमा पहिलो चरण अर्थात जग हाल्ने सम्मको काम भ्याऊनुभएको छ भने चाँडो भन्दा चाँडो गाविस कार्यलयमा दास्रो किस्ताको लागि निवेदन दिनुस् ।”

सुरक्षित पुननिर्माणमा भुकम्पिय सुरक्षा दिवसले सहयोग पु¥याउला ?

सबैभन्दा पहिले त हामीले के बुझ्नुप¥यो भने दिवस भन्ने कुरा एऊटा अभियान मात्रै हो । दिवस मनाउँदैमा कुनै कायापलट नै आउँछ भन्ने होइन । दिवसमै सब काम गर्ने पनि होइन । भुकम्पिय सुरक्षा दिवसको कुरा गर्नुपर्दा भुकम्प आफैंले हाम्रो ज्यान लाने होइन, हामीले बनाएका भौतिक संरचनाहरु भुकम्प प्रतिरोधात्मक नभएकै कारणले हाम्रो ज्यान जाने हो । त्यसैले भुकम्प प्रभावित संरचनाहरु बनाऔं भन्ने जागरण ल्याउन, जनचेतना फैलाउनका लागि भनेर मात्रै यो दिवस मनाउन लागिएको हो । मानिसहरुलाई वर्ष वर्षमा सम्झाइराख्ने काम दिवसले गर्छ । भुकम्प आउनुभन्दा अगाडी के कस्ता पुर्वतयारी गर्ने, भुकम्प आउँदाको समयमा के गर्ने, भुकम्प आइसके पश्चात के कसरी काम अगाडी बढाउने भन्ने विषय त सदैव आइरहने विषय हो । यो एक दिन भनेको चाहिं मानिसलाई झकझकाउने अभियान मात्रै हो । र, यो दिवसले पक्कै पनि सुरक्षित पुननिर्माणमा सहयोग पु¥याउँछ ।

अन्तमा,

अबको पुननिर्माणलाई सुरक्षित र बलियो बनाउनकै लागि भनेर धादिङ जिल्लामा सहरी विकास मन्त्रालय अन्तर्गत जिल्ला आयोजना कार्यन्वयन इकाई गठन भएको छ । यस आयोजना अन्तर्गत प्राविधीकहरु गाउँ गाउँमा खटिएका छन् । म सबैलाई विनम्र अनुरोध के गर्दछु भने मौकाको फाइदा उठाउनुहोस् । प्राविधीकहरुको सल्लाह लिनुहोस् । सधैंभरी प्राविधीकहरु स्थानियस्तरमा नहुन सक्छन् । त्यसैले अहिले नै पुननिर्माणको काम अगाडी बढाउनुहोस् । प्राविधीहरुको राय, सल्लाह प्रतिक्रिया लिएर मात्रै काम गर्नुहोस् । ७० हजार लाभग्राही मध्ये अहिले जम्मा ५ हजार ५ सयले मात्रै पुननिर्माणको काम सुरु गरेका छन् । मलाई के आशा थियो भने यो बेला सम्म त करिव १५ हजार घर निर्माण सुरु भइसक्नुपथ्र्यो । यसरी हेर्दा ढिला भइसकेको छ । म सम्पुर्ण भुकम्प प्रभावितहरुलाई के अनुरोध गर्छु भने – “यदि तपाईंहरुले मिस्त्री पाउनु भएको छैन, सल्लाह लिने प्राविधीक भेट्नुभएको छैन, अनुदान रकम लिनमा केहि समस्या भएको छ भने गाविसमा गुनासो टिपाउनुहोस् । मार्फत जिल्ला सम्म गुनासा आइपुग्छन् । गुनासो सुनुवाइकै लागि भनेर प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा एउटा कमिटी छ । हर समस्या समाधानमा हामी लागिपरिरहेका छौं ।” सुरक्षित पुननिर्माणमा आजैदेखि जुटौं, संभावित जोखिमबाट बचौं र बचाऔं । सम्पुर्णमा यहि सन्देश छ मेरो भुकम्पिय सुरक्षा दिवसको अवसरमा । धन्यावाद ।

२०७३ माघ २ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: