सरस्वती लम्साल
धादिङ
धादिङको गोगनपानी गाँउ विकास समिति वडा नम्बर २ का कृषकहरुले खापो बारीमा लगाएको टाटे सिमि बेचेर राम्रो आम्दानी लिन थालेका छन् ।
सिचाँईको सुविधा नपुगेको चुली, टारगाउँ, नेपालथोक, डाँडागाउँ लगायतका किसानहरुले टाटे सिमि विक्री गरेर घरखर्च र बच्चा पढाउने खर्चको जोहो गर्ने गरेका छन् । समुन्द्री समतदेखी २२ सय मिटर माथि रहेको यस क्षेत्रका कृषकहरुले मकैबारी भित्र लगाएको टाटे सिमि अहिले फल्ने समय भएको छ ।
खानेपानीको समेत चरम अभाव रहेको गोगनपानी गाविस वडा नम्बर २ का किसानहरु अहिले टाटे सिमी बेचेर मनग्य आम्दानी लिन सफल भएका छन् । एउटै टाटेसिमिको बोटले पाँच किलोसम्म उत्पादन दिने कृषक कान्छि थापाले बताइन् । बारीमा फलेको सिमी धार्के, महादेववेसी, गल्छी लगायतका बजार विक्रि गर्ने गरेका छन् । सिमि बेचेर घरखर्च चलाएर पनि केहि रकम बच्ने गरेको थापाले बताइन् ।
यस क्षेत्रका अधिकांश किसानहरुले टाटे सिमि बेचेरै घरखर्च र छोराछोरीको पढाई खर्च पु¥याउने गरेका छन् । सिंचाईको आवश्यकता पनि धेरै नपर्ने र उत्पादन पनि धेरै दिन भएकाले पनि अहिले गोगानपानी गाउँ विकास समितिका विभिन्न क्षेत्रमा टाटे सिमि लगाउने कृषकहरुको संख्या बढेको छ ।
भदौमा मकै बारी भित्र लगाएको टाटे सिमी फुल्ने र फल्ने समय अहिले भएको जिल्ला कृषि विकास कार्यलय धादिङले जनाएको छ । रोगले पनि धेरै नसताउने भएको कारणले थोरै लगानीमा पनि धेरै उत्पादन लिन सकिने कृषहरुको अनुभव छ । कृषि क्षेत्रमा काम गर्ने जिल्लामा विभिन्न संघ–संस्था भएपनि अहिले सम्म गोगनपानी गाउँ विकास समिति वडा नम्बर २ चुली सम्म कुनै संस्था पनि पुग्न सकेको छैन ।