काठमाडौं
काठमाडौं उपत्यकाबाट पूर्वको गौंडो साँगादेखि पश्चिमको गौंडो नागढुंगासम्मको यात्रा अबका केही वर्षमै छिनको छिनैमा हुनेछ ।
साँगादेखि कोटेश्वर र कोटेश्वरदेखि माइतीघर थापाथलीसम्मको फराकिलो सडक अब नागढुंगासम्मै सरर गुड्न योग्य हुने भएको छ ।
यसरी हुनेछ विस्तार
काठमाडौं उपत्यका सडक बिस्तार आयोजनाले सोचेजस्तै काम गर्न पायो भने आगामी ३ वर्षभित्र त्रिपुरेश्वरदेखि नागढुंगासम्मको सडक कम्तिमा २२ मिटरको राजमार्गमा परिणत हुनेछ ।
त्रिपुरेश्वरदेखि कलंकीसम्मको ३ किलोमिटर र कलंकीदेखि नागढुंगासम्म ९ किलोमिटर गरी जम्मा १२ किलोमिटर सडक बिस्तारको योजना बनिसकेको छ ।
काठमाडौं नगर विकास प्राधिकरणले यसै आर्थिक वर्षमा त्रिपुरेश्वरदेखि थानकोटसम्मका सडक किनाराका भत्काउनुपर्ने घरहरुमा चिन्ह लगाएपछि भत्काउने क्रम शुरु हुनेछ ।
जति चाँडो सडक किनाराका घरहरु भत्काइन्छ त्यति नै चाँडो यो १२ किलोमिटर लामो सडक निर्माणको क्रम शुरु हुने काठमाडौं उपत्यका सडक बिस्तार आयोजनाका प्रमुख प्रभातकुमार झा बताउँछन् ।
‘चाँडै नै हामी सबै पक्ष बैठक बसेर चिन्ह लाउने र भत्काउने निर्णय गर्छौं’ झाले अनलाइनखबरसँग भने ‘भत्काउने काम शुरु भयो भने यसै आर्थिक वर्षमा सडक निर्माणको ठेक्का लगाउँछौं र त्यसपछि काम शुरु हुन्छ ।’
यो सडक सूर्य विनायकदेखि तीनकुनै हुँदै माइतघरसम्मको सडक जस्तो फराकिलो नभए पनि हालको भन्दा दोब्बर फराकिलो हुनेछ । जसले गर्दा काठमाडौंको सवारी जाम आधा कम हुनेछ ।
ग्रिनरी हुनेछैन
अहिले फुटपाथसहित त्रिपुरेश्वरदेखि नागढुंगासम्मको सडक १६ मिटरको छ । अब बिस्तार हुँदा फुटपाथसहित कम्तिमा २२ मिटर फराकिलो हुनेछ ।
‘वि. सं. ०२१ सालमै पारित भएको मापदण्डअनुसार त ५० मिटर फराकिलो बनाउन सकिने हो, तर अहिलेलाई २२ मिटर फराकिलो बन्नेछ’ झाले भने ‘राज्यले चाहेमा जुनसुकै बेला थप फराकिलो बनाउन सक्नेछ’ ।
यो सकडमा माइतीघर तीनकुने सडक खण्डजस्तो बीचमा ग्रिनरी ९बगैंचा० भने हुने छैन । ६ लेनको सडकमा दुवैतर्फ दुई(दुई मिटरको फुटपाथ हुनेछ । १८ मिटरको चौडा सडकमा गाडी गड्नेछन् । प्बबिलपष्(ल्बनमजगलनब चयबम)टछण्
सयौं घर भत्किँदै
सम्भवतः यसै आर्थिक वर्षबाटै त्रिपुरेश्वरदेखि थानकोटसम्मका सडक किनाराका अधिकांश घरहरु भत्किनेछन् । ‘केही पूरै भत्किन्छन्, केही घर आंशिकरुपमा भत्किन्छन्’ प्राधिकरणका एक उच्च अधिकारीले भने ‘तर कुनै पनि घर जोगिएलान् जस्तो छैन’ ।
त्रिपुरेश्वरको वल्र्ड ट्रेड सेन्टर, अर्किड होटल, एभिन्यूज टेलिभिजनको भवन लगायत सडकका दुबै किनाराका अधिकांश घर तथा व्यवसायिक भवनहरु पूरा वा वा आंशिकरुपमा भत्किनेछन् ।
कालिमाटी तरकारी बजारको पनि केही भाग सडकमा गाभिनेछ । ‘प्राबिधिक गएर फित्ता ननापेसम्म कति घर भत्किन्छन् भन्न सकिन्न’ प्राधिकरणका प्रमुख कार्यकारी योगेश्वर पराजुलीले भने ‘तर सडक किनाराका कुनै पनि घर जोगिएलान् जस्तो लाग्दैन’ ।
सबैभन्दा धेरै घरहरु कालिमाटीदेखि सोल्टीमोड सडक खण्डमा भत्किनेछन् । त्यो किनाराका कुनै पनि घर जोगिने छैनन् । त्यस्तै पुरानो नैकापमा पनि अधिकांश घर भत्किनेछन् ।
सडक किनाराका घरहरु भत्काउँदा घरधनीले नियम बमोजिमको क्षतिपूर्ति पाए पनि जग्गाको क्षतिपूर्ति पाउने छैनन् । किनकि उनीहरुले मापदण्ड विपरीत सडक मिचेर घर बनाएका छन् ।
मुहार फेरिनेछ राजधानीको
यो सडक बिस्तारपछि काठमाडौंबाट पूर्व(पश्चिम जाने हजारौं सवारी साधनहरुको आवागमन सहज हुनेछ । राजधानी काठमाडौंको मुहार परिवर्तन हुनेछ ।
काठमाडौं नगर विकास प्राधिकरण र काठमाडौं उपत्यका सडक बिस्तार आयोजना मिलेर यसै वर्षदेखि यो काम शुरु हुन लागेको झाले बताए । उनका अनुसार कुनै अवरोध नआएमा तीन वर्षभित्र राजधानीको मुहार फेरिनेछ ।
काठमाडौं सडक बिस्तार आयोजनाको ४३ किलोमिटर बिस्तारको योजनाभित्रै यो सडक पनि परेको हो ।
अनलाइनखबरबाट