२३ माघ, काठमाडौं
दोस्रो साकोस बचत तथा ऋण सहकारी शिखर गोष्ठी शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ । सहकारीका विश्वव्यापी असल अभ्यासबारे ज्ञानको आदानप्रदान गर्ने उद्देश्यले दुईदिने गोष्ठी सुरु गरिएको हो ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून)ले आयोजना गरेको गोष्ठीमा बिभिन्न बैंक तथा सहकारी संस्थाका प्रतिनिधि, सरकारी अधिकारी समेत गरी ५ सय जनाको सहभागिता रहेको छ । ‘एकीकृत साकोस प्रणालीतर्फ : आज र पछि पनि’ भन्ने मूल नाराका साथ सुरु भएको दोस्रोे साकोस शिखर गोष्ठीका लागि सहकारी मन्त्रालय तथा सहकारी विभागबाट साझेदारी भएको छ । साथै अष्ट्रेलिया, थाइल्याण्ड र श्रीलंकाका प्रतिनिधिको समेत सहभागिता रहेको छ ।
कार्यक्रममा बचत तथा ऋण सहकारीमा नेटवर्क व्यवस्थापन, वित्तिय साक्षरता, वित्तिय पहुँचका लागि औजार, महिला सशक्तिकरण, कृषिवित्त, उद्यमशीलता लगायतका विषयमा कार्यपत्र प्रस्तुत गरिएको नेफ्स्कूनका अध्यक्ष ऋषिराज घिमिरेले जानकारी दिए ।
नेफ्स्कूनमा १४ अञ्चलका ७२ जिल्लाबाट दुई हजार २ सय २३ वटा प्रारम्भिक बचत तथा ऋण सहकारी संस्था र ५७ वटा जिल्ला संघ गरी जम्मा दुई हजार २ सय ८० वटा बचत तथा ऋण सहकारी आबद्ध छन् । नेफ्स्कूनमा आबद्ध सदस्यहरु १८ लाखभन्दा बढी रहेको र ती सदस्यहरुको कुल पूँजी करिब एक खर्ब २५ लाख रहेको अनुमान गरिएको छ । सो रकम सदस्यहरुलाई नै उत्पादनमूलक एवम् रोजगारीमूलक कार्यक्ररममा ऋण लगानी गरिएको छ ।