Thu. Oct 10th, 2024

माथिल्लो तामाकोसी सुरुकै लगानीमै बन्ने

tamakoshi_20101023095821_20150213114817

काठमाडौ

स्वदेशी लगानीमा निर्माणाधीन ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना सुरुकै अनुमानित लागत ३५ अर्ब २९ करोड रुपैयाँमा बन्ने भएको छ । सुरुङ निर्माणका क्रममा देखिएको भौगर्भिक समस्या र अमेरिकी डलरसँगको नेपाली मुद्रा अवमूल्यनका कारण आयोजनाको लागत बढेर ४२ अर्ब पुग्ने अनुमान गरिएको थियो ।

आयोजना प्रमुख विज्ञान श्रेष्ठले माथिल्लो तामाकोसीको हालसम्म ७२ प्रतिशत काम सम्पन्न भइसकेको उल्लेख गर्दै आयोजना सुरुकै लागतमा बन्ने संकेत दिए । अहिलेसम्म आयोजनाको काम, खर्च विवरण हेर्दा लागत बढ्ने देखिँदैन, श्रेष्ठले बिहीबार राजधानीमा दोलखाली पत्रकार समाजद्वारा आयोजित अन्तरक्रियामा जानकारी दिए । उनले आयोजना आगामी २०७३ साउनभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको जानकारी दिए । कर्मचारी सञ्चयकोष, विद्युत् प्राधिकरण, विभिन्न बैंकहरूसहित मिलेर दोलखाको लामाबगरस्थित उक्त आयोजनामा कुल ३५ अर्ब २९ करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको थियो । त्यसमा अहिलेसम्म २१ अर्ब ६० करोड रुपैयाँ खर्च भइसकेको छ ।

कार्यक्रममा सहभागी राजनीतिक दल, इन्जिनियर र विज्ञहरूले दोलखा जिल्लाबासीलाई छुट्याइएको १० प्रतिशत सेयर वितरण प्रणाली र कम्पनीले जारी गरेको आह्वानपत्रमा कमी-कमजोरी रहेकाले सच्याउन माग गरेका थिए ।

कतिपय सहभागीले कर्मचारीको रकम सञ्चय गरेकै कारण सञ्चयकोषका कर्मचारीले १७.२८ प्रतिशत रकम सेयर पाउने गरी बनाइएको प्रबन्धपत्र न्यायोचित नहुने भन्दै संशोधन गर्नुपर्ने माग गरेका थिए । दोलखामा जन्मेका तर प्राविधिक कारणले अन्यत्रबाट नागरिकता लिएका जिल्लाबासीलाई समेत सेयर उपलब्ध गराउनुपर्ने मागसमेत उनीहरूको थियो ।

कार्यक्रममा सभासदहरू पशुपति चौलागाई, आनन्द पोखरेल, पार्वत गुरुङ, एमाआवादी केन्द्रीय सदस्य देवी खड्का, कांग्रेस जिल्ला सभापति ताराबहादुर कोइराला, राप्रपा नेता सुन्दर खड्का, जिविसका पूर्वसभापति रुद्रबहादुर खड्कासहितले सेयर वितरण प्रणालीमा पर्याप्त राजनीति सहमति जुटाएपछि मात्र काम अघि बढाउनुपर्ने धारणा राखेका थिए ।
इकान्तिपुर अनलाइनबाट

About The Author

अन्य समाचारहरु: