८ बैशाख, धादिङ –
बालबिवाह गर्न लागेकी एक बालिकाको विवाह मण्डपबाट उद्धार गरिएको छ ।
धादिङको नीलकण्ठ नगरपालिका वडा नं ८ बगैचाका २२ वर्षीय राज नेपालसँग विवाह बन्धनमा बाँधिदै गरेकी बेनिघाट रोराङ गाउँपालिका १० हुँदीखोलाकी १५ वर्षीय बालिका पूजा परियारलाई विहिबार विवाह मण्डपबाट नै उद्धार गरिएको हो ।
विवाह समारोह हुँदै छ भन्ने जानकारीका आधारमा जिल्ला बाल कल्याण समिति, जिल्ला प्रहरी कार्यालय लगायत विभिन्न संघसंस्था तथा स्थानीयहरुको पहलमा उद्धार गरिएको जिल्ला बाल कल्याण समिति धादिङका प्रमुख हरि उप्रेतीले जानकारी दिए ।
बालिका अहिले जिल्ला बाल कल्याण समिति धादिङको संरक्षणमा रहेको छ । बालविवाह समाजको विकृति भएकाले वालिकाको उद्धारमा जुट्न जिल्ला बालकल्याण समिति धादिङले सबैलाई आग्रह गरेका छन् । २० वर्ष पुगेपछि मात्र विवाह गर्न हुने कानुनले तोकेतापनि समाजमा अझै पनि बालविवाहका घटना अन्त्य हुन सकेको छैन ।
तस्विर : हरि उप्रेतीको फेसबुकबाट
२०७४ बैशाख ८ गते प्रकाशित