अस्मिता खतिवडा –
आज तिमी जन्मिएको पनि ठ्याक्कै २ वर्ष भएछ
सारा नेपाली भाव विहोल भएको पनि ठ्याक्कै २ वर्ष भएछ ।
घर ढलेको, गोठ लडेको, खेती गर्ने जमिन चिराचिरा भएको
अनि सबै–सबैको मन मरेको पनि ठ्याक्कै २ वर्ष भएछ ।।
ह्याप्पी बर्थ डे भुकम्प
कत्ति आमा बुबाका लालाबाला लग्यौ
कत्ति छोराछोरीका आमाबुबा नै लग्यौ
दाजुभाई, दिदिबहिनी, काका काकी गर्दै
कत्तिको त परिवार नै रित्यायौ
वास्तवमा तिमीले सबै सिध्यायौ ।।
सम्पत्ती भासिए, परिवार नासिए
सामान फुटे, मन टुटे
अभिभावक हराए, सन्तान डराए
कति रोए, कति कराए
थाहा छैन अरु पनि के के भए
आज,
त्यो चोट, त्यो पिडा विस्तारै कम हुँदैछ
पुनः निर्माणको कामले गति लिंदैछ
मानिसका घर, अस्पताल तथा विद्यालय बन्दैछन्
खुशीका दिन फर्कने भो, सबैले भन्दैछन्
ह्याप्पी बर्थ डे भुकम्प
अब,
अब तिमी फेरी–फेरी नजन्कनु
अनि नजन्माउनु लालाबाला
नल्याउनु कुनै उथलपुथल
नबन्नु तिमी कसैको काल ।।
ह्याप्पी बर्थ डे भुकम्प
अन्तमा,
यहाँ उन्नतिका ढोका चारैतिर खुला रहुन
पौरखीहरुका हात निर्माणमा जुटिरहुन ।
टाढा जानेहरू आउन् मातृभूमि सजाउन
पसिना यहीं पोखेर सबका मन हँसाउन ।।
ह्याप्पी, ह्याप्पी, ह्याप्पी बर्थ डे भुकम्प ।।।
२०७४ बैशाख १२ गते प्रकाशित