Thu. Jan 16th, 2025

निर्वाचनमा बालबालिका प्रयोग नगर्न बालकल्याण धादिङको आग्रह

balbalika

१५ बैशाख,  धादिङ –

बैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा बालबालिका प्रयोग नगर्न जिल्ला बालकल्याण समिति धादिङले आग्रह गरेको छ ।

निर्वाचनसँग सम्बन्धित गतिविधिले बालबालिका जोखिम पर्ने भन्दै समितिले यस्तो कार्यमा संलग्न नगराउन आग्रह गरेको हो ।

समितिले निर्वाचनसँग सम्बन्धित प्रचारप्रसार लगायतका कार्यमा बालबालिकालाई प्रयोग नगर्न, विद्यालय क्षेत्रभित्र आमसभा, माइकिङ लगायतका गतिविधिमा संलग्न नगर्न÷नगराउन सबै राजनीतिक दललाई आग्रह गरेको छ ।

त्यस्तै शैक्षिक संस्थाको भित्ता वा पर्खालमा पोस्टर नटाँस्न, भित्ते लेखन नगर्न, विजय जुलुसमा बालबालिकालाई सहभागी नगराउन अपिल गरेको जिल्ला बालकल्याण समिति धादिङका प्रमुख हरि उप्रेतीले बताए ।

अधिकांश राजनैतिक दलले चुनावी गतिविधिमा बालबालिकाको प्रयोग नगर्ने प्रतिबद्धता जनाए पनि केही ठाउँका विद्यालयमा राजनीतिक सभा भएको देखिएकाले यस्तो नगर्न आग्रह गरेका हुन् ।

निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहितामा पनि निर्वाचन प्रचार प्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने उल्लेख गरिएको छ ।

निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिका प्रयोग गर्न नहुने विषयमा निर्वाचन आचारसंहिता २०७२ (दोस्रो संशोधन, २०७३)ले पनि प्रतिबन्ध लगाएको छ ।

२०७४ बैशाख १५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: