शंकर श्रेष्ठ / १५ बैशाख, धादिङ –
बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा प्रमुख पदका आकांक्षा राख्ने महिलाको संख्या शुन्य जस्तै देखिएको छ । दुई नगरपालिका र एघार गाउँपालिका गरी १३ वटा स्थानीय तहमा पुरुषहरूकै हाबी देखिएको छ ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट कुनैपनि स्थानीय तहको प्रमुखमा आकांक्षा राख्ने महिला नै देखिएका छैनन् । नेपाली कांग्रेसबाट प्रमुखमा २ जनाको नाम सुनिएपनि टिकट पाउने संभावना टरेको कांग्रेस नेताहरुले नै प्रतिक्रिया दिएका छन् ।
‘निलकण्ठ नगरपालिकामा कल्पना अधिकारी र वेनिघाट रोराङ गाउँपालिकामा कविता इटनी आकांक्षी छन् । तर, नीलकण्ठ नगरपालिकामा नारायणकुमार श्रेष्ठ र भीम ढुंगाना मध्ये एकजनाले टिकट पाउने पक्का भएको छ’ कांग्रेस एक नेताले भने ।
नयाँ शक्ति पार्टी र राप्रापामा पनि प्रमुख पदमा महिला आकांक्षी शुन्य छ । प्रमुख वा उपप्रमुख मध्ये महिला अनिवार्य भएकोले सबै दलहरुले उपप्रमुख पदमा भने महिलालाई नै उम्मेदवार सिंगारेका छन् । स्थानीय तहको प्रमुख पदकै आकर्षण बढी भएकाले उपप्रमुखको चर्चा ओझेलमा परेको छ ।
नगरपालिका र गाउँपालिको प्रमुखमा मात्रै होइन वडामा समेत महिला आकांक्षी छैन । वडामा महिला सहभागिता गराउन दलहरुलाई मुस्किल परेको छ । एमाले नेता प्रेम सिलवालले भने ‘अहिलेसम्म वडा, गाउँपालिका र नगरपालिका कुनैमा पनि तहबाट प्रमुखमा महिलाको नाम आएको छैन ।’
धादिङमा क्रियाशिल कुनैपनि दलले औपचारिक रुपमा आफ्नो उम्मेदवारको भने घोषणा गरेका छैनन् । माओवादी केन्द्रसंग एलायन्स गर्ने की नगर्ने भन्ने कुरा टुङ्गो लगाउन नसक्दा नेपाली कांग्रेस रोकिएको छ । वडा देखि गाउँपालिका र नगरपालिकामा आकांक्षी उम्मेदवार धेरै भएकाले आन्तरिक विवाद मिलाउन नसक्दा कांग्रेसले उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन ।
आकांक्षी धेरै भएकै कारण एमालेलाई पनि उम्मेदवार टुंङ्गो लगाउन कठिन भएको छ । सबै दलहरुले भने तीनवटै स्थानीय तहको उम्मेदवार एकैपटक घोषणा गर्ने भएकाले निर्णय भइसकेको उम्मेदवारको नाम घोषणा नगरिएको बताएका छन् । स्थानीय तहको निर्वाचनको घोषणा भएदेखि जिल्लामा क्रियाशील सबै दलहरूले गाउँँठाउँमा निर्वाचन केन्द्रित कार्यक्रमहरु गरिरहेका छन् ।
जिल्ला निर्वाचन कार्यालयको तथ्याङक अनुसार जिल्लामा कुल २ लाख ६ हजार २ जना मतदाता मध्ये १ लाख ३ हजार १ सय २४ पुरुष, १ लाख २ हजार ८ सय ७७ महिला र एक जना तेश्रोलिङ्गी छन् ।
२०७४ बैशाख १५ गते प्रकाशित