शंकर श्रेष्ठ / १९ बैशाख, धादिङ –
स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा दलका कार्यकर्ताहरुले मतदाता धम्याउने गरेको नागरिकहरुले गुनासो गरेका छन् ।
निर्वाचनमा आफ्नो पार्टीको उम्मेदवारलाई भोट हाल्न दवाव दिँदै रातसाँझ घरघरमै गस्ती गरेर मतदाता धम्याउदै हिँडेका हुन् । नीलकण्ठ नगरपालिका—१ पात्ले धुसेनीमा गाउँबासी विभिन्न राजनीतिक दलका रातीको गस्तीले हैरान भएको बताएका छन् ।
विशेषगरी नेकपा माओवादी केन्द्रका कार्यकर्ताले धुसेनी आसपास (साविकको खाल्टे गाविस) मा संकटकालमा आर्मी–पुलिसले जस्तै गस्ती गरेर गाउँ त्रसित बनाएको स्थानीयहरुले गुनासो गरेका छन् । ‘हामी केन्द्र माओवादी हौं, हाम्रो पार्टीको उम्मेदवारलाई भोट नहाल्ने भए तपाइ भोट हाल्न जानै दिन्न, भीरबाट ढुङ्गा लडाएर मार्छाै, अपहरण गर्छौ’ भन्दै एक समूहले गाउँमा आतंक मच्चाएको स्थानीय मनोज गुरुङले बताए ।
‘मैले चुनाव जित्ने हो, मलाई भोट हालिनस भने तेरो भत्ता कटौती गरिदिन्छु’ भन्दै वृद्धवृद्धालाई समेत थर्काउने गरेको स्थानीयहरुले गुनासो गरेका छन् । गाउँमा आतंक फैलाउदै हिड्ने समूहबाट आफु असुरक्षित हुने त्रासले स्थाीयहरुले उजुरी दिन समेत सकेका छैनन् ।
‘साँझपरेपछि गस्ती गर्ने, घरका मानिसहरु छन् कि छैनन् भनेर लट्ठी लिएर आएकाहरुले सोधी खोजी गर्ने र आफ्नो पार्टी लाई भोट नहालेमा भुकम्पले भत्किएर बनाउँदै गरेको घर पास हुन नदिने’ कुरा गरेर आफूहरुलाई आतंकित पारेको र कुनै राजनीतिक पार्टीमा लागेमा अपहरण गरेर बेपत्ता पार्ने जस्ता धम्की आइरहेको गाउँबासीेले बताए । बैशाख ३१ नजिकिदै गर्दा राजनीतिक दलका कार्यकर्ताहरु मतदातालाई धम्क्याएर भएपनि आफ्नो पक्षमा पार्न लागि परेकोले आफूहरुलाई सुरक्षा चाहिएको बताएका छन् ।
२०७४ बैशाख १९ गते प्रकाशित