सरिता श्रेष्ठ / १९ बैशाख, धादिङ –
आसन्न स्थानीय तहको निर्वाचनका लागि धादिङका प्रमुख दलहरुले आफ्नो उम्मेदवार छनौट गरेको छ ।
२ नगरपालिका र ११ गाउँपालिका सहित १३ वटै स्थानीय तहमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले उम्मेदवार सार्वजनिक गरेको हो ।
नीलकण्ठ नगरपालिकाको मेयरमा नेकपा एमालेले अर्जुन कुमार श्रेष्ठलाई टिकट दिएको छ भने कांग्रेसले भीम ढुङगाना र माओवादी केन्द्रले मनराज भण्डारीलाई टिकट दिएका छन् । त्यस्तै धुनीबेसी नगरपालिकाको मेयरमा एमालेबाट बालकृष्ण आचार्य, कांग्रेसबाट माधव पान्डे र माओवादी केन्द्रबाट दिपक लामिछानेले चुनाव लड्ने मौका पाएका छन् ।
वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा सबै तिनै दलले जिल्ला सदरमुकाम रहेकोले नीलकण्ठ नगरपालिकालाई विशेष रुपमा हेरेका छन् । काँग्रेस, एमाले र माओवादी केन्द्रले आफ्नो जनमत धेरै रहेका दाबी गर्दै आएका छन् । राजधानीसंग जोडिएको धुनिवेसी नगरपालिकामा एमाले, माओवादी र कांग्रेसले आ–आफ्नै दावी गरेका छन् । दुईवटै नगरपालिकामा नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीच मुख्य प्रतिष्पर्धा हुने देखिन्छ ।
धादिङमा जिल्ला निर्वाचन कार्यालयको तथ्याङक अनुसार कुल २ लाख ६ हजार २ जना मतदाता मध्ये १ लाख ३ हजार १ सय २४ पुरुष, १ लाख २ हजार ८ सय ७७ महिला र एक जना तेश्रोलिङ्गी छन् ।
२०७४ बैशाख १९ गते प्रकाशित