१९ बैशाख, धादिङ –
रोयल च्यालेन्जर्स बैंग्लोर इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटबाट बाहिरिने पक्का भएको छ ।
लिग अन्तर्गत सोमबार बेलुका भएको खेलमा पराजित भएपछि बैंग्लोर शीर्ष चारमा रहँदै प्लेअफमा पुग्ने सम्भावना सकिएको हो । मुम्बई इन्डियन्सले पाँच विकेटले हराउँदै बैंग्लोरको प्लेअफमा पुग्ने सम्भावना औपचारिक रुपमै समाप्त पारेको हो । मुम्बईमा भएको खेलमा बैंग्लोरले प्रस्तुत गरेको एक सय ६३ रनको लक्ष्य मुम्बईले एक बल बाँकी हुँदा पाँच विकेटको क्षतिमा भेट्टायो ।
मुम्बईका लागि कप्तान रोहित शर्माले नटआउट ५६, जोस बट्टलरले ३३ तथा नितिश रानाले २७ रन बनाए । बैंग्लोरका पवन नेगीले दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा एक सय ६२ रन बनायो । उसका लागि एबिडी भिल्यिर्सले ४३, पवन नेगीले ३५, केदार जाधवले २८ तथा कप्तान विराट कोहलीले २० रन बनाएपनि जित दिलाउन सकेनन् ।
मुम्बईका मिचेल म्याकक्लेनाघनले तीन तथा क्रुनल पाण्डेयले दुई विकेट लिए । हारपछि सातौं स्थानमा रहेको बैंग्लोरको तीन खेल बाँकी हुँदा पाँच अंक मात्रै भएको छ । १० खेल ८ खेल जितेको मुम्बई १६ अंकसहित शीर्ष स्थानमा छ ।
२०७४ बैशाख १९ गते प्रकाशित