शंकर श्रेष्ठ / १९ बैशाख, धादिङ –
नेपाली कांग्रेसले धादिङको सल्यानटारमा आचार संहिता विपरित स्कुल बस प्रयोग गरेर मंगलबार शक्ति प्रदर्शन गरेको छ ।
बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको उम्मेदवारी दर्ता गराउन गाउँपालिकाको कार्यालय जाँदा बालविकास इङ्लिस बोर्डिङ कुलको बसमा झण्डा फहराउदै शक्ति प्रदर्शन गरेको हो । नेपाली कांग्रेसका कार्यकर्ताले बसमा पार्टीको झण्डा हालेर त्रिपुरा सुन्दरी गाउँपालिका वडा नं. १ र २ का गाउँमा नाराबाजी गरेका छन् ।
निर्वाचन आचार संहिता लत्याउँदै मंगलबार विहान विद्यालय समयमै (करिब ९ बजे) कांग्रेस कार्यकर्ताहरुले बसको छतमा समेत बसेर शक्ति प्रदर्शन गरेको स्थानीयहरुले बताएका छन् । आचार संहिता अनुसार स्कुल बसमा कुनैपनि पार्टीको झण्डा प्रयोग गर्न पाइदैन ।
गजुरी गाउँपालिका अन्तर्गत गजुरी बजारको सडक छेउका पोलहरुमा पनि नेपाली कांग्रेसले आचार संहिता विपरित आफ्नो झण्डा हालेको छ ।
२०७४ बैशाख १९ गते प्रकाशित