२० बैशाख, धादिङ –
उत्तरीभेकका लोपोन्मुख वन्यजन्तु संरक्षणका लागि सभासदहरु एवं स्थानीय निकायहरुले चासो लिएका छन् । विश्वमै दुर्लभ रेडपाण्डा फेला परेका जंगल वरपरका वस्तीहरुमा रहेका रैथाने शिकारीहरु लाई लोपोन्मुख वन्यजन्तु र वासस्थान संरक्षणको महत्ववारे तालिम प्रदान गरिएको छ ।
रुवीभ्याली अन्र्तगत रेडपाण्डा फेला परेको लिन्जो, लवदुङ्ग, ठुलोगाउँका वन्दुके र पासो थाप्ने शिकारी, चौंरीगोठाला तथा भेडीगोठालाहरुलाई वन्यजन्तु र वासस्थानुको संरक्षण , निगालो संरक्षण डढेलो नियन्त्रण, शिकारका विरुद्ध कानुनी प्रावधान, जैविक विविधताको महत्व वारे तालिम प्रदान गरिएको थियो ।
कार्यक्रमका सहभागीहरुले वन्यजन्तुको संरक्षण र महत्व वारे र कानुनी प्रावधान वारे कसैले पनि प्रचार प्रसार नगरेको र वस्तीकै जंगलमा रेडपाण्डा फेला परे पछि स्थानीयवासीहरु संरक्षणमा चासो देृखाएको कार्यक्रममा सहभागी तिप्लिङ्गका समाजसेवी जोमसाई घले वताउंछन् । कार्यक्रममा सहभागी पर्यटन व्यवसायी कुलवहादुर गुरुङ्गले ‘जिल्लाको उत्तरी भेकमा फेला परेका लोपोन्मुख रेडपाण्डा लगायत वन्यजन्तु संरक्षण गर्न उत्तरी भेकलाई समुदायमा आधारित जैविक विविधता संरक्षण क्षेत्र संग जोडि पयर्टन व्यवसाय उन्मुख गराउनु पर्ने वताए ।
जिल्लाको उत्तरी भेकमा रहेका पाविल हिमाल, गणेश हिमालका फेदीमा शिकारीहरुले पासो थापेर, विषादी प्रयोग गरेर, कुकुरले लखेटेर, वन्दुक प्रयोग गरि वन्यजन्तुको शिकार गरिन्छ । उत्तरीभेकमा रहेका विस्वकै लोपोन्मुख रेडपाण्डा(हाव्रे) , कस्तुरी, झारल, थार लगायतका वन्यजन्तु संरक्षण गर्नस्थानीयवासीहरुले चासो देखाएका छन् ।
जिल्लाका उत्तरी भेक भेडीगोठ र चौंरीगोठमा आश्रित छ ।‘ रेडपाण्डाको प्रमुख आहाराका रुपमा रहेको निगालोका जंगल भेडी गोठाला र चौंरीगोठालाहरुले घांसका रुपमा सखाप पार्ने गरेका छन्. भने वर्षेनी लाग्ने डढेलो पनि निगालो संरक्षणमा वाधक भएकोछ ’— कार्यक्रममा सहभागी तिप्लिंङकै युवा प्रजोल तामाङले बताए ।
स्थानीय स्तरमा तालिम संचालन गर्न काठमाण्डौं स्थित प्रकृति संरक्षण अभियान नेपाल र साना स्तनधारी जन्तु संरक्षण तथा फाउण्डेसन नेपाल , जिल्ला वन कार्यालयको प्राविधिक सहयोग लिइएको थियो । उक्त कार्यक्रम संचालन गर्न जिल्ला विकास समितीले अढाई लाख र निर्वाचन क्षेत्र विकास कार्यक्रम मार्फत २ लाख रकम प्रदान गरिएको वन्यजन्तु संरक्षणका अभियन्ता डेभिड घलेले वताए ।
२०७४ बैशाख २० गते प्रकाशित