२२ वैशाख, काठमाडौं –
सरकारले काठमाडौं निजगढ द्रुतमार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकले फास्ट ट्रयाक निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको हो ।
सरकारले द्रुतमार्ग निर्माण गर्ने जिम्मा नेपाली सेनालाई दिने सरकारले बताउँदै आएपनि औपचारिक रुपमा निर्णय गरिएको थिएन, आज निर्णय भयो, सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्कीले भने । गत चैतमा भौतिक तथा यातायात व्यवस्था मन्त्रालयले सेनासँग उक्त मार्ग निर्माणको विषयमा सुझाव मागेकोमा सेनाले आफू तयार रहेको जानकारी दिएको थियो ।
बैठकले करार सेवामा कार्यरत कर्मचारीलाई पनि दसैंखर्च, पोसाक भत्ता र औषधि उपचार खर्च लिने निर्णय गरेको छ । बैठकले विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि विश्व बैंकको २० अरब रुपैंया ऋण लिने प्रस्तावलाई स्वीकृति दिएको छ ।
बैठकले नेपाली सेनाका विनायक सिंहलाई पाइलट महासेनानीमा बढुवा गर्ने निर्णय पनि बिहीबारको बैठकले गरेको छ । बैठकले साहित्यकार एवं संस्कृतिविद् सत्यमोहन जोशीलाई वाङ्मय शताब्दी पुरुषको सम्मानद्घारा पुरस्कृत गर्ने निर्णय गरेको छ । अन्नपूर्ण पोस्टबाट
२०७४ बैशाख २२ गते प्रकाशित