शंकर श्रेष्ठ / २२ बैशाख, धादिङ –
स्थानीय तहको निर्वाचन आउन अब केही दिन मात्र बाँकी छ । निर्वाचनका लागि धादिङमा सुरक्षाव्यवस्थामा कडाई गरिएको छ । मतदान केन्द्रहरुमा सुरक्षाकर्मीले धादिङमा तीन घेराको सुरक्षा दिने भएका छन् ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले तीन घेरामा खटिएर मतदान केन्द्रको सुरक्षा गर्ने तयारी भएको हो । बुथमा नेपाल प्रहरी, गेटमा सशस्त्र प्रहरी र बाहिरपट्टि नेपाली सेनाले घेरा लगाउने जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुुख एसपी सरद खत्रीले बताए ।
‘तीन सुरक्षा निकायमध्ये नेपाल प्रहरीले मतदान केन्द्रभित्र रहेर मतपत्र तथा मतपेटिकाको सुरक्षा गर्नेछ । नेपाल प्रहरी भन्दा पछाडि मतदान केन्द्रको सुरक्षा सशस्त्र प्रहरीले गर्नेछ । मतदान केन्द्र रहने इलाकाको भने नेपाली सेनाले सुरक्षा दिनेछ’ एसपी खत्रीले भने ।
२ नगरपालिका र ११ गाउँपालिका सहित १३ स्थानीय निकाय रहेको जिल्लामा १ सय ९ मतदान स्थल र २ सय ५१ मतदान केन्द्र छन् । ८५ वटा स्थललाई अति संवेदनशिल र २४ वटालाई संवेदनशिल मानिएको छ ।
निर्वाचन सुरक्षाका लागि जिल्लाभर ९ सय १५ म्यादी प्रहरी सहित ३५ सय सुरक्षाकर्मी परिचालन गरिएका छन् । विहिबार धादिङबेसी आइपुगेका मध्यमाञ्चलका डिआईजी गणेश केशीले निर्वाचनमा सुरक्षा व्यवस्था मजबुत बनाउन आवश्यक निर्देशन दिएका छन् ।
निर्वाचनको बेला आवश्वक पर्न सक्ने आपतकालिन सुरक्षाको सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा तीनै सुरक्षा निकायका सहायक प्रमुखहरु सम्मिलित ज्वाइण्ड इलेक्शन अपरेशन सेन्टर तयार तरिएको प्रहरी प्रमुख खत्रीले जानकारी दिए ।
निर्वाच भाड्न वा निर्वाचनमा सहभागी हुन नचाहनेहरुले बाटोहरुमा बम विस्फोट गराउन सक्ने कुरालाई मध्यनजर गर्दै नेपाली सेनाले ठाउँ ठाउँमा बम डिस्पोट टोली पनि खटाएको छ । निर्वाचनको रस्साकस्सीसंगै आइपर्नसक्ने सुरक्षा चुनौतिलाई मध्यनजर गर्दै जिल्लामा सुरक्षामा व्यवस्थामा कडाई गरेको छ ।
२०७४ बैशाख २२ गते प्रकाशित