२३ बैशाख, धादिङ –
स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा धादिङमा विभिन्न पार्टीहरुले चुनावी प्रचारलाई तीब्रता दिएको छ । नेकपा एमाले धादिङले जिल्लाका २ नगरपालिका र ११ वटा गाउँपािलका सहित १३ वटै स्थानिय तहमा चुनावी अभियानलाई तिव्र पारेको छ ।
जिल्ला सदरमुकामको निलकण्ठ नगरपालिकाका साथै जिल्लाका सबै गाउ तथा नगरपालिकामा चुनावी अभियान तिव्र पारिएको नेकपा एमाले धादिङका प्रचार प्रमुख सुवास खतिवडाले बताए ।
चुनावी अभियान अन्तर्गत शनिबार निलकण्ठ नगरपालिकामा एमालेका मेयरका उम्मेदवार अर्जुन कुमार श्रेष्ठ र उपमेयरका उम्मेदवार गंगादेवी श्रेष्ठ सहितको टोलिले वडा नम्बर १ को धुसेनी र वडा नम्बर ५ को फ्याक्सेमा चुनावि सभा संगै घरदैलो अभियान सम्पन्न गरेका छन् ।
त्यसैगरी सिद्धलेक गाउपालिकाको ठाँटीभञ्ज्याङमा पनी चुनावी सभा सम्पन्न भएको छ । सिद्धलेक गाउँपालिकामा नेकपा एमालेका तर्फबाट गाउँप्रमुखका उम्मेदवार प्रेमनाथ सिलवाल, उपप्रमुखका उम्मेदवार कमला शर्मा सहितको टोलीले ठाँटीभञ्ज्याङमा चुनावी सभा संगै घरदैलो कार्यक्रम गरेको हो ।
चुनावी अभियानकै क्रममा एमालेले खनियाबास गाउँपालिकाको वडा नम्बर ५ मा घरदैलो कार्यक्रम गरेको छ । एमालेको तर्फबाट खनियाबास गाउँपालिका प्रमुखका उम्मेदवार प्रदिप फ्युवा तामाङ र उपप्रमुखका उम्मेदवार शुष्मा तामाङ सहितको टोलि घरदैलो कार्यक्रममा रहेको थियो । त्यस्तै जिल्लाको थाक्रे गाउँपालिकामा पनि चुनावी अभियान तीब्र पारिएका छ ।
२०७४ बैशाख २३ गते प्रकाशित