२५ बैशाख, धादिङ –
दुई दशक पछि हुन लागेको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रुपले मतदान गर्न प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले सबै मतदाताहरुलाई आग्रह गरेका छन् ।
निर्वाचन गतिविधिबारे धादिङबेसीमा आयोजित कार्यक्रममा बोल्दै आयुक्त यादवले स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन गराउने र सबैले समान रुपमा, स्वतन्त्रपूर्वक मतदान गर्ने अधिकार रहेको बताए ।
कुनै राजनीतिक दलको दवाव वा केही कसैको प्रलोभनमा नपर्न सल्लाह दिएका छन् । यसअघिका निर्वाचनमा बल प्रयोग गरेर आफ्नो पक्षमा मत ल्याउने कोसिस हुने गरेको भन्दै आदवले बल प्रयोग गरेर मतदातालाई अवरोध सिर्जना नपाउने बताए ।
उम्मेदवारी दर्ता गर्न जाँदा अविर माला लगाएर देउता गुहार्ने, निर्वाचनमा जित्नचाँही बल र पैसा प्रयोग गर्नु राम्रो भएन । यो स्थानीय तहको निर्वाचन हो । मत खोस्ने भन्ने कुरा बकम्फुसे हो । यादवले भने ‘मतदाता र उम्मेदवारलाई धम्क्याउने÷तर्साउने नगर्नुस् ।’
सुरक्षा निकायका प्रमुख एवम् राजनैतिक दलका प्रमुखहरुसंगको अन्तरक्रियामा प्रमुख आयुक्त यादवले स्वतन्त्र पूर्वक मतदान गर्न अवरोध भएमा त्यहाँ तत्कालै निर्वाचन स्थगन गर्ने बताए । प्रमुख निर्वाचन आयुक्त यादवले स्थानीय तहको निर्वाचन सकिएसँगै मतगणना सोही पालिकाको केन्द्रमा हुने जानकारी दिए ।
प्रमुख आयुक्त यादवले निर्वाचन विथोल्न खोज्नु, मताधिकारको प्रयोग गर्नबाट बञ्चित गर्नु लोकतन्त्रमा ठुलो अपराध भएको र आयोगलाई यस प्रकारका गतिविधि सह्य नहुने यादवले बताए । ‘निर्वाचनमा एक मतको पनि महत्व हुने संवेदनशीलतालाई सबैले बुझ्नु जरुरी हुन्छ’ उनले भने ।
धादिङमा १ लाख ३ हजार १ सय २४ पुरुष, १ लाख २ हजार ८ सय ७७ महिला र १ तेस्रोलिङगी सहित २ लाख ६ हजार २ मतदाताले स्थानीय तहको निर्वाचनमा सहभागी हुँदैछ । २ वटा नगरपालिका र ११ वटा गाउँपालिका रहेको धादिङ जिल्लामा २ सय ५१ वटा मतदानकेन्द्रमा सुरक्षाकर्मीहरु खटाइसकेको छ ।
२०७४ बैशाख २५ गते प्रकाशित