सरिता श्रेष्ठ / २६ बैशाख, धादिङ –
धादिङको उत्तरी भेगको दुर्गमका मतदान केन्द्रहरुमा हेलिकप्टरबाट मतदान अधिकृत सहित मतपत्र र मतपेटिका पठाइएको छ । निर्वाचन आउन पाँच दिन बाँकी हुँदा सडक सञ्जाल पुग्न नसकेको उत्तरको रुविभ्याली गाउँपालिकाकामा मंगलबार हेलिकप्टरबाट पठाइएको हो ।
पानी परिरहेकाले मतदान केन्द्रसम्म पुग्न र मतपेटिका लैजान कठिनाई भएको र समयमै मतदान अधिकृतलाई पु¥याउनुपर्ने भएकाले हेलिकप्टरको प्रयोग गरिएको प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताए ।
रुविभ्याली गाउँपालिका अन्र्तगत साविकको सेर्तुङ, लापा, रि लगायतका गाविसमा पुग्न सदरमुकामदेखि ३ दिनको पैदल यात्रा गर्नुपर्ने हुन्छ । एकातिर निर्वाचनको दिन नजिकिएको र अर्कोतिर खराब मौसम र भौगोलिक कठिनाईका कारण कर्मचारी व्यवस्थापनमा पनि कठिनाई भइरहेको जिल्ला निर्वाचन कार्यालय धादिङले जनाएको छ ।
जिल्लाको अन्य मतदान केन्द्रहरुमा पनि यातयातका साधनबाट मतपत्र तथा मतपेटिकाहरु लैजान सुरु गरिएको छ । मुख्य निर्वाचन कार्यालयले कर्मचारीहरुलाई नियुक्तिपत्र र निर्वाचन खर्च दिएर केन्द्रमा पठाउन सुरु गरेको हो । मंगलबार उत्तरी धादिङको रुविभ्याली, खनियाबास, नेत्रावती, गंगाजमुना र त्रिपुरासुन्दरी गाउँपालिका लगायतको मतदान केन्द्रमा खटिने मतदान अधिकृतहरुले आवश्यक सामाग्रीहरु निर्वाचन अधिकृतको कार्यालयबाट बुझेका छन् ।
जिल्लामा २ सय ५२ मतदान केन्द्र छन् । यी १५ सय ६ जना कर्मचारी खटिएका छन् । मतदान अधिकृत, सहायक मतदान अधिकृत सहित एउटा केन्द्रमा ६ जना कर्मचारी रहनेछन् । मतदान स्थल र केन्द्रको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरी यसअघि नै मतदान केन्द्रहरुमा पुगिसकेका छन् ।
२०७४ बैशाख २६ गते प्रकाशित