Sat. May 18th, 2024

रेडियो पत्रकारिता र मैले भोगेको पीडा

diya

दिया चन्द

रेडियोको सुरुवात कहाँबाट कहिले र कसरी भयो अनि रेडियो दिवस मनाउन सुरु कसरी गरियो रेडियो दिबसमा के–के गरिन्छ कसरी मनाइन्छ भन्ने कुरालाई म कोट्याउन चाहान्न । मलाई यति कुरा भने थाहा छ रेडियो आम मान्छेको सजिलो सञ्चारको साधन हो ।

रेडियो बजाउँन कुनै बिशेष ज्ञान, शिप र कला चाहिँदैन अथवा कसले जान्ने र कसले नजान्ने भन्ने हुँदैन सामान्य मान्छेले पनि रेडियो सजिलै बजाउँन र सुन्न सक्छ। हुर्कदैँ गरेको ६–७ बर्षको बच्चादेखी ७०–८० वर्षे बृद्ध–बृद्धाको समेत पहुँचमा हुन्छ रेडियो ।

त्यसैले टेलीभिजन र इन्टरनेटको माध्यमबाट प्रकाशन प्रसारण हुँने सञ्चारमध्यमबाट पाइने सूचना–सन्देशभन्दा रेडियोको समाचार, सूचना र सन्देशबाट बढी मान्छेले लाभ लिन सक्छन्। यो अबसरमा मैले छोटो समयमा प्राप्त गरेको अनुभव र भोगेको भोगाईलाई बाड्न चाहेको मात्र हो ।

म सानैदेखि मिडियाप्रेमी । रेडियोमा अरूले समाचार पढिँरहदा र कार्यक्रमहरु प्रस्तुत गरिँरहदा मलाइ निकै आनन्द लागिरहन्थ्यो । मनमनै सोच्ने गर्थे, मपनि एकदिन त्यो स्थानमा पुग्न पाए त्यसैगरि रेडियोबाट बोल्न पाएँ । केहि समय सोच्नमै बित्यो मानिसका आ–आफ्नै रुचि र चाहाना हुन्छन् ।

त्यस्तै मलाइ पनि एउटा एक अशल रेडियोकर्मी बन्ने चाहना वा रहन थियो । म त्यही रेडियोकर्मी बन्ने एक उपयुक्त अबसरको खोजीमा थिएँ । रेडियो पत्रकार बन्ने तीब्र चाहाना केवल मनभित्र मात्रै सिमित थियो । म निरन्तर आफ्नो रेडियोकर्मी बन्ने चाहना पूरा गर्ने यात्रामा हिँडिरहे ।

कुरा आज भन्दा करीब ११ महिना अगाडिको हो । २०७१ माघ २१ गतेको दिन थियो, रेडियो नागरिक १०४.३ मेगाहर्जको तरंग मार्फत मेरो आवाज तरंगीत हुन पुग्यो । कुनै औपचारिक तालिम वा कोशिस बिना नै मैले रेडियोबाट बोलेको दिन मेरो आवाज रेडियोबाट तरङ्गीत हुँन थाल्यो ।

विना नियुक्ति मैले रेडियोमा काम सुरु गरेको त्यो दिनको सबै चित्र अहिले पनि मानसपटलमा ताजै छ । मनमा धेरै सपना बोकेर कामलाई निरन्तरता दिँदै गएँ । आफूलाई स्थापित गर्न प्रेरणा र अवसर सँगै चूनौतीहरु पनि थिएँ । म एउटा महिला पत्रकार, पत्रकारीता आफैमा एउटा चुनौती पूर्ण पेशा हो । अझैँ त्यसमाथि सुदूरपश्चिमको सवालमा केहि थप चुनौती छन् ।

एकातिर सामाजिक बन्धन र अर्कोतिर श्रमको उचित मूल्याङ्कन हुन नसक्नु । मिडियाभित्र महिलालाई हेर्ने दृष्टिकोण र गर्ने खोजिने व्यवहार । बाहिर हेर्दा जति असल हुन्छ, भित्र त्यो भन्दा नितान्त फरक हुने रहेछ । त्यसैले होला महिला पत्रकारहरु यो पत्रकाररिता पेशामा दिर्घकालीन रुपमा निर्धक्क भएर लागिरहन सक्दैनन् ।

मेरो बुझाइमा रेडियो गाउँवस्ति,समाज कुना कन्दराका आवाज विहिनहरुका आवाजहरुलाई बोल्ने माध्यम हो । तर, पछिल्लो समयमा रेडियो व्यापारिकरण हुँदै गएको छ । शोषितपीडित, निमुखा र उत्पीडनमा परेका सबै खाले उत्पीडित आवाजहरुलाई आम जनतामाझ जस्ताको तस्तै प्रसारण गर्ने सञ्चारमा माध्यम (रेडियो) आज पैसा कमाउने भाँडोको रुपमा मात्र प्रयोग भएको त छैन ? प्रश्न उब्जिएको छ ।

रेडियोकर्मीको पेट र स्रोताको चाहनासँग यी दुवैको कुनै सरोकार हुँदैन । कसैसँग मागेरै भएपनि सेवामा हाजिर भइरहनु पर्ने अवस्था छ । त्यस्तै जनता वा स्रोताले मालिक र पार्टी वा नेतालाई मन नपाराएपनि उनीहरुको कुरा सुनिरहनुपर्ने ।

अहिले झट्ट हेर्दा रेडियो दुई प्रयोजनको लागि खोलिएका देखिन्छन् । पहिलो, राजनीतिक पार्टीले आफ्नो विचारलाई जनतामाझ लैजान । अर्को, नितान्त पैसा कमाउँन । पार्टीको प्रयोजनाको लागि रेडियो सञ्चालन गर्ने पनि प्रतिस्पर्धा नै चलेको छ ।

मोफसलको सहरमा दर्जनौ रेडियोहरु भकाभक सञ्चालनमा आएका छन् । प्रयाः धेरै राजनीतिक पार्टीको अगुवाइमा नै हुने गरेको देखिन्छ ।

कुनै राजनीति पार्टी वा नेताको प्रत्यक्ष लगानी गरेका छन् भने कसैले घुमाउरो पारामा आफ्नो लगानी गरेका छन् । यसमा पनि प्रतिस्पर्धा नै चलेको छ । त्यस्ता रेडियोको काम भनेको पार्टी वा उक्त पार्टीका नेताहरुले गरेको नराम्रा कामलाई लुकाउने र गुलिया लण्डु जनतालाई बाड्ने ।

दोस्रो, नितान्त नाफाको लागि खोलिएका रेडियोलाई कमाउँ धन्दामा प्रयोग गरिए को छ । मालिकको व्यवसायमा कुनै अवरोध हुँन नदिने यस्ता रेडियोको पहिलो काम हुन्छ । मालिकको कमाउँ धन्दाको बचाउँ गर्नु उसको पहिलो कर्तव्य हो । मालिकको सेवा पहिलो सर्त त्यसपछिमात्र रेडियोकर्मी र श्रोताको ।

कर्मचारीहरुले भोकभोकै मालिकका पक्षमा स्वर सुकाएर बोल्नु उनीहरुको दैनिकी बनेको हुन्छ । रेडियोकर्मीको पेट र स्रोताको चाहनासँग यी दुवैको कुनै सरोकार हुँदैन । कसैसँग मागरै भएपनि सेवामा हाजिर भइरहनु पर्ने अवस्था छ ।

त्यस्तै जनता वा स्रोताले मालिक र पार्टी वा नेतालाई मन नपाराएपनि उनीहरुको कुरा सुनिरहनुपर्ने उनीहरुको बाध्यता छ । अवस्था यस्तो छ । अब तपाईहरु आफै भन्नुहोस् यहाँ के भइरहेको छ ? यो मेरो छोटै समय भएपनि अनुभूति । यस्तो अवस्था निरन्तर अगाडि बढिरह्यो भने रेडियोले प्राप्त गरेको लोकप्रियता समाप्त हुनेछ ।

रेडियो पत्रकारिता गर्ने मेरो व्यक्तिगत सपना वा चाहना त पूरा भएको छ । तर आज रेडियो दिवसको सन्दर्भ पारेर मैले एउटा कुरा लेख्ने बोल्ने र भन्ने हिक्मत गर्नैपर्छ । विना नियुक्ति र विना पारिश्रमिक नौ महिना इमान्दारीताका साथ रेडियो नागरिकमा काम गरियो । हरेक कुराको एउटा निश्चित सिमा हुन्छ । उक्त सिमालाई कसैले पार नगर्नु बुद्धिमानी हुन्छ । क्षेत्र चाहे जुनसुकै होस् ।

अझै सिधा भाषामा भन्नुपर्दा रेडियो नागरिकले मेरो श्रमको शोषण गरेको छ । मैले घाम–पानी र भोक–तिर्खा नभनि दिन रात रेडियोको लागि गरेको परिश्रम र मेहनतको मूल्य खोज्दै भौतारिनु परिरहेको छ ।

मलाई रेडियोमा काम गर्ने अवसर प्रदान गरिएकोमा रेडियो नागरिकप्रति सदैव सम्मान रहनेछ तर मेरो आफ्नो श्रम पसिनाको धज्जी उडाउँने रेडियो नागरिकका साहु महाजनलाई मैले नजरअन्दाज गर्न सक्दिन ।

हो, काम गर्दा मेरा पनि केहि कमि–कमजोरी भएँ होलान् तर रेडियो नागरिकको स्थरोन्नतीका लागि सबै बल वृद्धि र विवेक लगाएको थिएँ । जसरी म रेडियो नागरिकमा खटिएको थिए त्यसरि नेपाल सरकारले सीमा सुरक्षाको लागि सुरक्षाकर्मीलाई खाटाएको भए भारतीय सुरक्षाकर्मीको आतंक हामीले भोग्नुपर्ने नै थिएन ।

आफुसँग कला र क्षमता भएमा स्थान पाउँदो नै रहेछ । त्यसैले होला रेडियो नागरिकबाट विना कारण र विना पारिश्रमिक लखेटिएपनि पनि अहिले म रेडियो पश्चिमी नेपालमा काम गरिरहेकी छु । जुन दिनबाट षड्यन्त्रमूलक ढंगबाट मलाई हटाइयो त्यहीदिनबा यो रेडियोमा काम गर्ने अबसर पाएँ ।

यो युग आधुनिक भएसँगै रेडियो पत्रकारिता पनि आधुनिक हुँदै गएको छ । हिजो आकाशीय तरंगबाट मात्रै सुन्न सकिने रेडियो अहिले इन्टरनेटको माध्यमबाट समेत सुन्न सकिने भएको छ । रेडियो पत्रकारको बोली भाषा र लेखाई–बोलाइ र हरेक प्रस्तुतिमा समेत आधुनिकीकरण बन्दै गएको छ ।

अत्यमा यो सन्दर्भमा मलाई रेडियो पत्रकारितामा डोर्याउनुहुने मेरो आत्मिय साथी कमल बुढा लार्इ हृदयदेखी नै बिषेश आभार प्रकट गर्दै सम्झन चाहन्छु । जसले बाल्यकालदेखिको रेडियोकर्मी बन्ने सपना पुरा गर्न मद्दत गर्नुभयो । उहासँग मैले धेरै कुरा सिकेको छु, जुन म कहिलै भुल्न सक्दिन उहाँको प्रेरणाले म अहिलेसम्म रेडियो पत्रकारिताबाट विचलित भएको छैन । एक अशल रेडियो कर्मी बन्नको लागी मेरो रेडियो पत्रकारिताको अझै यात्रा जारी छ ।

About The Author

Loading...