Wed. Jan 22nd, 2025

भोट हाल्न गाउँ फर्कदै धादिङका भूकम्प पीडितहरु

photo 1ghar-jadai

सरिता श्रेष्ठ / २९ बैशाख,  धादिङ – 

 

 

गाउँमा आफ्नै मान्छे उठेको छ भोट हाल्न गाउँ जान लागेको गंगाजमुना गाउँपालिका वडा नं १ का मानबहादुर तामाङ बताउँछन् । दुई वर्ष अघि भूकम्पले बस्ती नै जोखिममा परेपछि धादिङ सदरमुकाम आसपास बस्दै आइरहेका पीडितहरु आफ्नै मान्छेलाई जिताउन गाउँ फर्कन थालेका छन् ।

 हामीलाई भोट दिनुस्, हामी गाउँमै फर्काइदिन्छौँ भन्दै नेताहरु भोट माग्न शिविरमा नै आएका थिए । गाउँ फर्कन पाइन्छ की भन्ने आशले भोट हाल्न गाउँ जान लागेको मानबहादुर बताउँछन् । भूकम्पले थाकथलो छोड्नुप¥यो, अस्थायी टहरामा कत्ति रात कटाउनु, अब गाउँ नै फर्कन पाइन्छ की ? वर्षले ५८ लागेका मानबहादुर तामाङ आशै आशले गाउँ फर्कन लागेका छन् । २०५४ सालमा भएको स्थानीय तहको निर्वाचन, ०६४, र २०७० सालमा भएको संसदिय निर्वाचनमा गाउँमै बसेर भोट हालेका थिए मानबहादुरले ।  यसपाली पनि आफूले चाहेको उम्मेदवारलाई भोट हाल्न उत्साहित हुँदै उनी गाउँ जाने तयारीमा छन् ।

 खनियावास गाउँपालिका वडा नं ३ (साविकको दार्खा) का कुमारी तामाङ पनि गाउँ जानका लागि तयारीका छिन् । बच्चाहरुको विद्यालय पनि बिदा भयो, गाउँको अवस्था पनि हेर्नुछ, फेरी पहिलो पटक निर्वाचनमा भोट हाल्न लागेको मनमा उत्साह छ त्यसैले परिवारसहित गाउँ जान लागेको बताउँछिन् । गाउँमा चुनिएका नेताले हाम्रो समस्या बुझिदिन्छन् की ? आफ्नो भोट जनताको सेवा गर्ने, विकासका योजना ल्याउने र संविधान बनाउन सक्ने पार्टीलाई मात्र जाने पनि उनले बताइन् । “मेरो भोट खेर नजाओस्, राम्रो नेता चुनियोस्, गाउँमा विकास होस् यत्ति चाहन्छु”,– उनले भनिन् ।

 यस्तै अपेक्षा उत्तरी धादिङबाट विस्थापित भएर अस्थायी टहरामा बस्दै आइरहेका भूकम्प पीडितहरुको छ । दुई वर्ष अघि भूकम्पले गाउँ नै बस्न नहुने भएपछि सदरमुकाम आसपासमा अस्थायी टहरामा बस्दै आइरहेकाहरु यतिखेर गाउँ फर्कने तयारीमा छन् । केही विस्थापितहरु त गाउँ फर्कि सके भने केही जाने तयारीमा छन् ।

 नेता तथा कार्यकर्ता चुनावको लागि भनेर गाउँको कुनाकुना पुगेका छन् । भूकम्पले ढलेका घर उठाउने, विस्थापितलाई पुनर्वास गर्ने लगायतका प्रतिबद्धता लिएर विस्थापित शिविरमा जिल्लामा क्रियाशिल रहेका नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, र नयाँ शक्ति पार्टीका नेता तथा कार्यकर्ताहरु शिविरमा नै पुगेका छन् । शिविरमा बस्दै आइरहेकाहरु केही आफै गाडी रिर्जभ गरेर गाउँ फर्किएका छन् भने केही जाने तयारीमा छन् । पीडितहरु चुनावका लागि भनेर त्रिपाल सहित खानेकुराको जोहो गर्दै गाउँ उक्लिन थालेका हुन् ।

    उत्तरको रुवीभ्याली, गंगाजमुना, नेत्रावती, खनियाबास गाउँपालिकाका स्थानीयहरु भोट हाल्नकै लागि भनेर गाडी रिजर्भ गरेर गाउँ फर्किएका छन् । रुवीभ्याली गाउँपालिका पुग्न ३ दिनको पैदल यात्रा पार गर्नुपर्छ भने अन्य गाउँपालिकाहरुमा मोटरगाडीबाट पुग्न सकिन्छ । भोट हाल्नकै लागि वृद्ध, वृद्धाहरु पनि उत्साहित भएका छन् ।

   अहिले सदरमुकाम सुनसान जस्तै देखिएको छ । रोजगारीको सिलसिलामा जिल्ला बाहिर जानेहरु पनि फर्किएका छन् । नयाँ परिवर्तित संरचनाअनुसार हुन लागेको भएरपनि निर्वाचनमा मतदान गर्न मतदाता उत्साहका साथ घर फर्कन थालेका हुन् । कतिपय मतदाताका लागि धादिङबेसी स्थायी घरवास नै भए पनि आधिकारिक रुपमा स्थानान्तरण भइनसकेका कारण गाउँ नै फर्कनु परेको बताउँछन् । ‘सहरमा बस्दै आए पनि निर्वाचनमा मतदान गर्न आफ्नो गाउँ जानै प¥यो,’ धादिङबेसीमा व्यवसाय गर्दै आइरहेका रामजी गुरुङले बताए ।

   कतिपय मतदाताहरु सरकारी काम गाउँमै उपलब्ध गराइदिने भनेपछि उत्साहित भएर गाउँ फर्किएका छन् । भने केही राजनीतिक आस्थाकै आधारमा गाउँ फर्किएका छन् । भूकम्पपछि गाउँमा सुख्खा पहिरो झर्न थालेपछि गाउँ घर छाडेर विस्थापित हुन परेको पीडा त छँदैछ तै पनि चुनाव जित्नेहरुले प्रभावितका लागि विशेष योजना ल्याउँछन् भन्ने आशासहित दुखलाई विर्सेर चुनावमा भोट हाल्न हतार गरेका छन् । सक्षम, दुरदर्शी र गाउँमा विकासको योजना ल्याउने खालको प्रतिनिधि छान्नका लागि प्रभावितले दबाब पनि दिएका छन् ।

२०७४ बैशाख २९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: