३० बैशाख, धादिङ –
उत्तरी धादिङको विभिन्न दुई स्थानबाट पेस्तोल सहित ६ जना पक्राउ परेका छन् ।
खनियावास गाउँपालिका वडा नं ५ (साविकको सत्यदेवी गाविस)मा शुक्रबार राती बा ७७ प १९६२ नम्बरको गाडीमा चेकजाँच गर्ने क्रममा पेस्तोल सहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोही ठाउँका २६ वर्षीय छिरीङ तामाङ र २७ वर्षीय जयबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक दिपेन्द्र पञ्जियारले जानकारी दिए ।
उनीहरुको साथबाट १ थान पेस्तोल, ३ राउण्ड गोली, १ वटा खुकुरी, ४१ हजार ७ सय नगद पनि बरामद गरिएको छ ।
त्यस्तै त्रिपुरासुन्दरी गाउँपालिका १ खोल्सीमा खुडासहित ४ जना पक्राउ परेका छन् । त्रिपुरासुन्दरी ३ बस्ने २४ वर्षीय प्रचित अधिकारी, ३० वर्षीय नवीन थापा, २० वर्षीय प्रकाश थापा मगर र २४ वर्षीय उत्तम अधिकारीलाई नेपाल प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
निर्वाचनको समयमा हुने विभिन्न घटनाहरुलाई मध्यनजर गर्दै प्रहरी प्रशासनले धादिङको उत्तरी क्षेत्र र राजमार्ग क्षेत्रमा सुरक्षा व्यवस्था कडाई गरिएको छ ।
२०७४ बैशाख ३० गते प्रकाशित