१२ फागुन, धादिङ । नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले सडकबाट संविधान जारी नहुने भन्दै विपक्षी मोर्चालाई सपना नदेख्न आग्रह गर्नुभएको छ ।
गणेशमान बलिदानी यात्राका क्रममा धादिङको बेनिघाटमा मंगलबार भएको सभालाई सम्बोधन गर्दै महामन्त्री सिटौलाले विपक्षी मोर्चाले गरेको आन्दोलनप्रति लक्षित गर्दै आन्दोलन र सडकबाट संविधान जारी हुनै नसक्ने बताउनु भयो । संविधान सभालाई छाडेर आन्दोलनमा नजान आग्रह गर्दै सिटौलाले भन्नुभयो, – संविधान सभाबाट बाहिरिएर कसैले पनि बाटो नविराउनुस्, सबै मिलि जनताको अपेक्षा अनुकुल संविधान दिऔँ । सहमतिका लागि लामो समय संविधान सभा बैठक स्थगित गर्न नहुने बताउँदै सिटौलाले भन्नुभयो,–लामो समयसम्म संविधान सभा रोक्ने अधिकार कसैलाई छैन ।
काँग्रेसले सहमतिका लागि हदैसम्म लचिलो भएको बताउँदै सिटौलाले भन्नुभयो, – सहमतिका नाममा संविधान सभालाई असफल बनाउन पाइदैन । लोकतान्त्रिक संविधान सबैको अपेक्षा भएकाले कुनै जात विशेष नभइ सबैको साझा संघीयता सहितको संविधान आउने सिटौलाको दावी थियो ।
सहमतिका नाममा लोकतान्त्रिक मूल्य र मान्यतालाई छाड्न नसकिने सिटौलाको भनाइ रहेको छ । संविधान सभाबाट सके सहमति नसके दुई तिहाईबाट संविधान जारी हुने बताउनु उहाँको भनाइ रहेको छ । जनताले दिएको मतका आधारमा दलहरुले आआफ्नो भूमिका निर्वाह गर्नु पर्ने बताउँदै महामन्त्री सिटौलाले काँग्रेसलाई जनताले गरेको विश्वासलाई पुरा गरेरै छाड्ने बताउनु भयो । विगतमा देशमा भएका परिवर्तनको अगुवाइ काँग्रेसले नै गरेको बताउँदै सिटौलाले संविधान पनि काँग्रेसको नै नेतृत्वमा जारी हुनेमा ढुक्क हुन कार्यकर्तालाई आग्रह गर्नुभयो ।
सिंहको जन्मसताव्दीको अवसरमा काठमाडौँबाट थालिएको अभियान अन्तर्गत आज नै नेपाली काँग्रेस धादिङका सभापति रामनाथ अधिकारीले गोरखा जिल्लाका नेपाली काँग्रेसका सभापतिलाई गणेशमान सिँहको तस्विर र नेपाली काँग्रेसको झण्डा हस्तान्तरण गर्नुभएको छ । आजबाट गणेमान बलिदानी अभियान गणेशमान सिँहले भद्रगोल जेल तोडेर भारत प्रवेशकालागि हिँड्नु भएको गोरखा, लमजुङ, तनहूँ, कास्की, स्याङजा, पाल्पा, हुदै रुपेन्देहीमा पुगेर समापन गरिने कार्यक्रम रहेको नेपाली काँग्रेस धादिङका सभापति रामनाथ अधिकारीले जानकारी दिनुभएको छ ।