Tue. May 21st, 2024

झारा टार्ने प्रवृत्ति गलत : मन्त्री पण्डित

lalbabu
१३ फागुन धादिङ  । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले दक्ष जनशक्तिको अभावमा प्रशासनिक काम चुस्त हुन नसकेको बताउनुभएको छ । स्थानीय तहको सेवा प्रवाह र प्रशासन सुधार सम्बन्धी धादिङबेसीमा आयोजित अन्तरक्रियामा मन्त्री पण्डितले कर्मचारीहरुको झारा टार्ने प्रवृत्तिले प्रशासनिक काममा सुधार आउन नसकेको स्पष्ट पार्नुभयो । राष्ट्रप्रति समर्पित हुन नसक्ने कर्मचारीहरुबाट देशको विकास सम्भव नभएको पनि उहाँले स्पष्ट पार्नुभयो ।

कार्यक्रममा धादिङका सभाषद गुरु प्रसाद बुर्लाकोटीले सरकार परिवर्तनसंगै राजनीतिक नियुक्ती पनि परिवर्तन गर्नुपर्ने धारणा राख्नुभयो । मन्त्रालय र स्थानीय निकायबीच समन्वयको अभावमा समस्या उत्पन्न हुने गरेको भन्दै बुर्लाकोटीले सरकार परिवर्तनसंगै राजनीतिक नियुक्ति परिवर्तन हुँदा समन्वय बढ्ने र काममा सहजता आउने भएकोले प्रशासनको काम पारदर्शी हुने बताउनुभयो ।

अन्तरक्रियामा नेपाली काङ्ग्रेस धादिङका सभापति एवं पूर्व सांसद रामनाथ अधिकारीले सरकारी कार्यालयहरुमा असल कर्मचारीको अभाव खड्किएको बताउनुभयो । प्रशासनिक सुधारका लागि कर्मचारीले विभिन्न संघ संगठन र यूनियनको नामबाट राजनीति गर्न नहुने बताउनुभयो । त्यस्तै संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव डाक्टर सोमलाल सुवेदीले गुणस्तरीय सेवाको लागि दुर्गमको दरबन्दी लिएर शहरमा काज लिएर बस्ने परिपाटी हटाउन आवश्यक रहेकोमा जोड दिनुभयो ।

अन्तरक्रियामा प्रशासकीय अदालतका न्यायधिक काशिराज दाहालले प्रशासकीय न्याय र प्रशासन सुधार सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । अन्तरक्रियामा सहभागी अधिकांश कार्यालय प्रमुखहरुले भने काममा राजनीतिक दवाव आउने र कर्मचारीहरुको दरबन्दी अभावका कारण प्रशासनिक काम चुस्त बनाउन समस्या भएको बताएका छन् । अन्तरक्रियामा आफ्नो कुरा राख्नुहुँदै प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले पहुँचको आधारमा कर्मचारीहरु काजमा बस्ने परिपाटीले करारमा रहेका कर्मचारीलाई एउटा फाँटको नै जिम्मा दिनु परेको यथार्थ प्रष्ट्याउनुभयो ।

जिल्लामा ३५ जना लेखाको दरबन्दी भएपनि हाल १४ जनाबाट काम चलाउन परेको प्रमुख कोष नियन्त्रक चन्द्र प्रसाद ढकालले गुनासो गर्नुभएको छ । त्यस्तै वरिष्ठ जनस्वास्थ्य प्रशासक जिवनकुमार मल्ल, वरिष्ट कृषि विकास अधिकृत महेन्द्र कौडाल, महिला तथा बालबालिका अधिकृत सावित्री थापा, जिल्ला वन अधिकृत राजेन्द्रमानसिंह भण्डारी लगायतले दक्ष जनशक्ति र दरबन्दी अभावका कारण प्रशासनिक काममा थप समस्या पैदा भएको बताउनुभयो । जिल्ला विकास समिति धादिङको आयोजनामा भएको अन्तरक्रियाले स्थानीय निकायबाट चुस्त सेवा प्रवाहका निम्ति १० बुँदे प्रतिवद्धतापत्र घोषणा गरेको छ । कार्यक्रममा जिल्लामा रहेर प्रशासनिक सुधारमा महत्वपूर्ण काम गर्ने चार जनालाई कदर पत्रले सम्मान गरिएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: