काठमाडौ । भारतीय विमान नियामक निकाय ुनागर विमान महानिर्देशनलय (डीजीसीए) ले मागेका कागजात पुर्याउन ढिलाइ भएका कारण बुधबार नेपाल वायु सेवा निगमले एयरबसमार्फत दिल्लीका लागि तय गरेको पहिलो व्यावसायिक उडान स्थगित गरेको छ।
पूर्वनिर्धारित समयअनुसार बिहान ८ बजे दिल्ली प्रस्थानको समय तोकिएपछि १ सय ३० यात्रु नेपाली ध्वाजावाहक विमानको पहिलो उडानमा जान विमानस्थल पुगेका थिए। उडान रद्द भएको जानकारी पाएपछि ती यात्रुले निगमका कर्मचारीसँग आक्रोश पोखेका थिए। निगमले टिकट लिइसकेका यात्रुलाई भारतीय विमानमार्फत बुधबार दिनभर दिल्ली पठाएको थियो। बाँकी २२ जनालाई बिहीबार बिहान पठाइँदै छ। उनीहरूलाई निगमकै खर्चमा होटलमा राखिएको छ। त्यसैगरी दिल्लीबाट बिहान सवा १० बजे फर्किने तालिका भएको एयरबसबाट काठमाडौंका लागि ८० जना यात्रुले टिकट किनेका थिए। तीमध्ये ६१ जना बुधबारै अन्य भारतीय विमानबाट काठमाडौं ओर्लिए। अरू १९ जना शुक्रबार फर्किने निगम प्रवक्ता रामहरि शर्माले बताए।
दिल्ली उडान तालिका सार्वजनिक भएको अघिल्लो दिन (सोमबार राति ) मात्रै १ दर्जन विषयमा प्रश्न सोध्दै भारतीय विमान महानिर्देशनालयले पत्रचार गरेपछि निगमले मंगलबार राति मात्रै दिल्लीको उडान स्थगित गर्ने निर्णय गरेको महाप्रबन्धक मदन खरेलले बताए। हाम्रा पनि केही कमजोरी रहे, त्यसभन्दा ठूलो दुःख भारतीय नागरिक उड्ययन प्राधिकरणले दियो, बुधबार बिहान महाप्रबन्धक खरेलले भने, अन्तिम घडीमा थुप्रै विषय प्रस्ट पार्न कागजात मागियो।
प्रवक्त शर्माका अनुसार महानिर्देशनालयले निगमलाई सरकारले दिएको संस्थान अनुमति पत्रु, निगमको आर्थिक अवस्था, कार्यालयको क्षमता, सेयर, नागरिक उडड्यन प्राधिकरण तथा यसका प्राविधिकहरूको विस्तृत विवरण माग गरिएको थियो। त्यसैगरी नेपालमा पछिल्ला वर्षका हवाई दुर्घटनाको अवस्थालगायत विषयबारे पनि जानकारी गराउन महानिर्देशनालयका महाप्रबन्धक एम सतियावाथीले पत्र पठाएकी थिइन्। निगमले अन्तिम समयसम्म उडान नरोक्ने अडान कस्दै मंगलबार राति १ बजेसम्म दिल्लीस्थित नेपाली दूतावासको सहयोगमा महानिर्देशनालयलाई कागजात पठाएको थियो। राति १ बजेसम्म निगम मुख्यालयमै बसेर उनीहरूले मागेका विषयलाई ७ वटा पत्रमा समेटेर पठायौं, महाप्रबन्धक खरेलले भने, त्यसको प्रत्युत्तर नआएपछि उडान रोक्ने निर्णय गर्यौं।
इकान्तिपुर अनलाइनबाट