धादिङ जिल्लालाई शान्ति सुरक्षाका हिसाबले संवेदनशिल जिल्लाको रुपमा लिइन्छ । धादिङको उत्तरी क्षेत्र, दक्षिणि क्षेत्र र राजमार्ग यी तीन क्षेत्रलाई सुरक्षाको रुपमा चुनौती लिने गर्दछ । देशका तीन ठूला सहरहरु राजधानी काठमाडौँ, पोखरा र नारायणघाटको मुख्य केन्द्रविन्दु धादिङ र देशका ६८ वटा जिल्ला भएर जाने राजमार्ग नै धादिङ भएकाले सुरक्षामा समस्या थपिएको अनुमान गर्न सकिन्छ । जिल्लाको शान्ति सुरक्षाका विषयमा प्रशासनले के गरिरहेको छ त । यसै विषयमा धादिङका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेसँग गरिएको कुराकानी
– जिल्लाको शान्ति सुरक्षाको अवस्था कस्तो छ ?
शान्ति सुरक्षा भन्ने विषय जहिले पनि सापेक्षीक हुन्छ । हालका दिनमा जिल्लाको शान्ति सुरक्षाको अवस्था राम्रो, सुदृढ र प्रभावकारी छ ।
– धादिड. जिल्ला आपराधिक गतिविधि बढी हुने जिल्ला भनिन्छ । स्थानीय प्रशासनले यसलाई कम गर्न के योजना बनाएको छ ?
सिंगो जिल्लालाई नै अपराधिक गतिविधि बढी भएको जिल्ला भन्न म रुचाउँदिन । हरेक समाजमा राम्रा नराम्रा सवै प्रकारका पात्र र प्रवृत्तिहरु रहेका हुन्छन । धादिड. पनि त्यसको अपवाद रहन सक्दैन । त्यही कारणले नै राज्यले राम्रा पात्र र प्रवृत्तिलाई प्रोत्साहित गर्दछ भने नराम्रा पात्र, प्रवृत्ति र घटनाक्रमलाई दण्डित र नियन्त्रण गर्दछ । यस जिल्लामा रहेका त्यस्ता अपराधिक व्यक्ति, घटना, क्रियाकलाप र प्रबृत्तिलाई नियन्त्रण गर्न हामिसंग ठोस कार्याक्रमहरु संचालनमा रहेका छन । गुण्डागर्दी नियन्त्रण गर्ने अभियान चालिएको छ । कुनै अपराध भएमा स्थानीय स्तरमा हुने गरेको अनौपचारिक सहमती संझौतालाई पुर्णरुपमा निरुत्साहित गरी कानुनी कारवाहीमा ल्याइएको छ । दण्डहिनतालाई अन्त गर्न स्थानीय प्रशासन वार्ता वा संझौताकारी निकाय हैन कानुनको रक्षक र कार्यान्वयनकर्ताहो भन्ने अवधारणा आत्मसात गर्दै कानुनको कार्यान्यनमा विशेष जोड दिईएको छ । सार्वजनिक कार्य सम्पादन र संचालनमा भनसुन, प्रभाव र दवावलाई निरुत्साहित गरिएको छ । अदालत र अन्य न्यायिक नकायबाट विगतमा दण्ड जरिवाना तोकिएका तर घरमै आनन्दको निन्द्रामा मस्तहरुलाई तोकिए बमोजिम जेल पठाउने र जरिवाना असुल गर्ने अभियान चालिएको छ । फरार अभियुक्तहरुलाई खोजि खोजि कानुनी कारवाही गर्ने कार्य भईरहेको छ ।
– राजमार्गमा हुने दुर्घटना न्युनिकरण गर्न के गर्न सकिन्छ ?
धेरै केही गर्नु पर्दैन । क्षमता भन्दा बढी यात्रु र मालसामान नवोक्ने, गति सिमीत राख्ने । ट्राफिक नियमको परिपालना गर्ने गराउने । यत्ति गरे तरुन्त नतिजा प्राप्त गर्न सकिन्छ । हामीले अहिले यसै गरिरहेका छौ । पूर्ण रुपमा दुर्घटना न्युनिकरण नभएतापनि कम भने अवश्य गर्न सकिनेछ । अनुभव गर्नुभएकै होला पहिलेको तुलनामा उल्लेख्य मात्रामा दुर्घटना न्युनीकरण भएको छ । जिल्ला प्रहरी कार्यलयले पनि विशेष योजना बनाएर न्युनिकरणका प्रयासहरु गरिरहेका छन् ।
– राजमार्गका होटलले दिने सेवा र वस्तु गुणस्तरीय बनाउन स्थनीय प्रशासनले कस्तो काम गरिरहेको छ ?
नियमित रुपमा अनुगमन गरिएको छ । अनुगमनका शिलसिलामा कैफियत देखिएको होटल व्यवसायीहरु मथि कानूनी कारवाही गरिएको छ ।
– उत्तरी धादिडको शान्ति सुरक्षा कमजोर छ भनिन्छ नि ?
प्रशासन तथा सुरक्षा निकायको केही कम पहुँचमा रहेको कारण अन्य क्षेत्रको तुलनामा उत्तरी धादिडको सुरक्षा स्थिति केही कमजोर रहेको हुन सक्छ । भागोलिक विकटताको फाईदा उठाएर केही फरार अपराधी तथा गलत मानसिकता भएको व्यक्तिहरुले केही आतंक सृजना गर्न खोजेको स्थिति थियो । प्रहरीको प्रयास र स्थानिय जनताको सहयोगका कारण अधिकांस त्यस्ता व्यक्तिहरुलाई कानुनी कारवाहीको दायरामा ल्याइसकेपछि उल्लेख्य मात्रामा त्यस क्षेत्रको सुरक्षा स्थितिमा सुधार आएको छ ।
– दैनिक उपभोग्य बस्तुको सहज आपुर्ति गुणस्तर र नियमन गर्न स्थानीय प्रशासनले कस्तो भुमिका खेलेको छ ?
दैनिक उपभोग्य बस्तुको अनावश्यक संचय भण्डारण नहोस, अनाधिकृत नाफा , कालोबजारी कसैले गर्न नपाओेस भनेर हामीले बजार अनुगमनलाई तिव्रता दिएको छौ । दैनिक उपभोग्य बस्तुको आपुर्ति असहज भएको छ भन्ने लाग्दैन । केही समय अगाडि ग्यासको समस्या थियो हाल यो पनि हल भईसकेको छ ।
– जिल्ला प्रशासन कार्यालयमा राहदानी बनाउन आउनेको संख्या कति छन ?
औसतमा दैनिक ८० देखि १०० को हाराहारीमा ।
– किन युवाहरु विदेशिएका हुन ? यसलाई रोक्न के गर्नुपर्ला ?
उत्तर सहज छ । आय आर्जन गर्न । यो रोक्ने विषयबस्तु हैन तर यसलाई व्यवस्थित भने गर्न ढिला भईसकेको छ । त्यो स्वदेश र विदेशमा । हाम्रा सामान्य आर्थिक गतिविधि संचालन गर्न जनशक्तिको अभाव पनि नहोस र विदेश गएका जनशक्तिले सही ढंगले अधिकतम आय आर्जन गरुन । एकातिर स्वदेशमा उत्पादनमुखी क्षेत्रको विकास र विस्तार गर्नु पर्छ, आय आर्जन र रोजगारीका अवसरमा वृद्धी गरिनु पर्छ भने विदेशका लागि उनीहरुको ज्ञान सीप क्षमता विकास गरेर कम्तीमा अर्धदक्ष जनशक्तिको रुपमा उनीहरुलाई श्रम बजारमा पठाउन सक्नु पर्छ । उनीहरुले स्वदेशमा पठाएको विप्रेषणलाई उपभोगमुखी भन्दा उत्पादनमुखी क्रियाकलापमा खर्च गर्ने बातावरण निर्माण गर्न जरुरी छ ।
– वैदेशिक रोजगार मानव वेचविखनको नयाँ तरिकाको रुपमा विकास हुदै आएको अवस्था छ, यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ ?
जुनसुकै कुरा पनि जव असिमित रुपमा बृद्धी भएर जान्छ त्यहा कृति विकृती दुवै भित्रिन्छन । वैदेशिक रोजगार पनि त्यस्तै मध्येको एक विषयबस्तु हो । श्रम बेच्ने नाममा व्यक्ति नै वेचविखन हुन पुिगरहेको अवस्था पनि केही छ । मानव वेचविखनको शैली, तरिका र गन्तव्य परिवर्तन भए संगै यस विषयवस्तूलाई पुन परिभाषित गर्नुपर्ने अवस्था सृजना भएको छ र सोही अनुरुप हाम्रा अभियानहरु पनि परिवर्तन गर्नु जरुरी छ । सचेतना अभिवृद्धी, अभिमुखीकरण, खवरदारी लगायत विकृती न्युनीकरण गर्न आवश्यक नितीगत तथा संरचनागत ब्यवस्था जरुरी हुन्छ । श्रम बजारका पात्रहरु खासगरी बैदेशिक रोजगार व्यवसायलाई मर्यादापुर्ण बनाउनु पर्छ । गैह्रकानुनी ढंगले वैदेशिक रोजगार व्यवसाय र सो सम्बन्धि गतिविधि संचालन गर्ने व्यक्तिहरु माथि कडाईका साथ कानुनी कारवाही गरिनु पर्छ । सवै कारोवारलाई बैकिड. प्रणालीसंग आवद्ध गर्ने हो भने यस क्षेत्र संग रहेका प्रमुख समस्याहरु त्यसै निराकरण भएर जान्छन ।
– सरकारी निकायले प्रवाह गर्ने सेवाहरु आम नागरिकको पहुच अभिबृद्धी हुन सकेको छैन भन्ने गुनासो पनि यदाकदा सुन्ने गरिन्छ नि, यस बारे के भन्नुहुन्छ ?
त्यो सही हैन । जिल्लाको सार्वजनिक क्षेत्रमा जिम्मेवारी र जवाफदेहीता अभिबृद्धी गर्न विगतमा नभएका नया क्रियाकलापहरु मैले संचालनमा ल्याएको छु । सुचनाको सहज पहुचको व्यवस्थाका लागि त्रैमासिक सुचना प्रवाह प्रत्येक कार्यालयले सुरुवात गरेको छन । समय परिपालना, नियमितता, सेवामैत्री र सेवाग्राहीमैत्री व्यवहारका लागि सवै कार्यालय प्रमुख र सम्पुर्ण कर्मचारीहरुलाई जिम्मेवार वनाईएको छ । जो जिल्लावासी जनतालाई यस्तो लाग्छ, तपाईलाई जहिले जुनवेला पनि जिम्मेवार पदाधिकारी संग प्रश्न सोध्ने अधिकार सुरक्षीत छ र त्यसको जवाफसंग तपाई सन्तुष्ट हुन नसके तपाईका लागि मेरो ढोका सदा खुला छ तपाईको गुनासो समाधान गर्न प्रमुख जिल्ला अधिकारी सदा तत्पर छ ।
प्रस्तोता :- सरिता श्रेष्ठ