२५ फागुन धादिङ – धादिङको पीडा गाँउ विकास समितिको वडा नं ८ पुकुनमा गहुँको रोटी खाँदा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । भने गाउँका अन्य १६ जना बिरामी भएका छन् ।
मृत्यु हुनेहरुमा ६२ वर्षिय सन्जाबहादुर स्याङतान, उनका बुहारी २८ वर्षीय फुलमाया स्याङतान, नातिनी ७ वर्षीय सविता स्याङतान, नातिहरु ५ वर्षीय रमेश स्याङतान, ५ वर्षीय अर्जुन स्याङतान २ वर्षिय अनिल स्याङतान रहेका छन् । बिरामी मध्ये १ जनाको उपचारका लागि बाटोमा नै र ३ जनाको मेघा अस्पताल काठमाडौँमा मृत्यु भएको हो ।
सोमबार विहान विषादी मिसाएको गहुँलाई पानीले पखालेर घट्टमा पिस्न लगेका थिए । पिसिएको पिठोबाट रोटी बनाएर खाने क्रममा उनीहरुको मृत्यु भएको हो । गहँुको रोटी खाँदा पिडा गाविस वडा नम्बर ७ चिउरीखर्कका घट्ट धनि परिवार पनि विरामी परेका छन् ।
गहुँ पिसाए वापत ज्यालाको रुपमा लिएको पिठोको रोटी खाँदा घट्ट धनि तिलकबहादुर दोङको ४ जनाको परिवार र तिलकबहादुर दोङका दाजु रिबहादुर दोङ पनि विरामी परेका छन् । त्यस्तै गहुँको रोटी खाँदा नजिकैको एक छिमेकीको ६ जनाको परिवार पनि बिरामी परेका छन् । बिरामीहरुको गजुरी अस्पतालमा उपचार भैरहेको छ ।