Fri. Mar 29th, 2024

लोकतन्त्र र अधिनायकवाद


माधव गुरुङ –

स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएपछि मुलुक फेरी चुनावममय भएकोछ । प्रतिनिधि सभा र प्रदेश सभाका चुनावहरु एकैपटक मंसीर १० र २१ गते दुई चरणमा हुने भएपछि दलहरु चुनावी दाउपेचमा संलग्न भएको देखिन्छ ।स्थानीय चुनावमा भएको मत परिणामहरुको लेखाजोखा सहित दलहरु चुनावी माहोल आफनो पक्षमा पार्न सक्रिय भएका छन्। स्थानीय तहको निर्वाचन बेलाका समीकरणहरुमा यतिबेला व्यापक फेरबदल भएकोले त्यसबेलाको मत परिणामहरुको जोडघटाउले मात्र चुनाव आफ्नो पक्ष वा विपक्षमा हुन्छ भन्न सकिन्न ।दशैको छेको पारेर बनेको वाम गठबन्धनको रापले मुलुक भित्र मात्र होइन मुलुक बाहिरको राजनीति पनि तातेको भन्ने बजार हल्ला बीच गठबन्धनका पक्ष विपक्षमा विभिन्न दृष्टिकोणहरु सार्वजनिक भएको देखिन्छ ।

वाम गठबन्धन मुलुक र जनताको हितमा छ की छैनन् भन्ने कुरा आगामी दिनहरुमा प्रष्ट हुदै जानेछ।एमाले र माओवादीको सहकार्यलाई मुलुकमा एउटै कम्युनिष्ट पार्टी केन्द्र स्थापना गर्ने दिशामा उन्मुख गराउने भन्ने तीदलहरुको स्पष्टीकरणका वावजुद काँग्रेस लगायतका उदारवादमा विश्वास गर्ने दलहरु वामगठबन्धनलाई अप्राकृतिक र अधिनायकवाद लाद्ने दुष्प्रयास भनिरहेका छन् ।वाम गठबन्धनका कारण तरंगित भएको नेपाली राजनीति चुनावी अर्थ राजनीतिका कारण झनै तात्तिने देखिन्छ ।वामगठबन्धन निर्माणका कारक तत्वहरु के के थिए थिए ,पर्दा भित्र वा बाहिर के के चलखेलहरु भए भन्ने कुरा समयक्रमसँगै खुल्दै जालान् तर बाहिर आम जनताले यतिखेर बुझेको सत्य के हो भने यो मुलुकको राजनैतिक स्थीरताको पक्षमा भएको ऐतिहासिक कदम नै हो ।

चुनावी दाउपेचका कारण निर्वाचन पछिका दिनमा गठबन्धनको एउटै पार्टी निर्माण गर्ने अभियानमा धक्का लाग्यो भने बेग्लै कुरा अन्यथा समान विचार र आस्था भएका दलहरुले गठजोठ बनाएर जनताका बिचमा मत माग्न जानु कुनै पनि अर्थमा अनुचित हुदैन ।जनताले गठबन्धनलाई रुचाउनु वा नरुचाउनुका कारणहरु हुन सक्छन् तर स्थायीत्वका लागी दलहरु एक भएर जानु खाली सत्ता स्वार्थको लेप मात्र लगाउनु गलत हुनेछ ।बरु अलग अलग घोषणा पत्र र अलग अलग विचार सहित मत मागेर मत प्राप्त भइसके पछि सरकार निर्मार्ण लागी मात्र दलहरु एक ठाउँमा आउनु भनेको जनमतको अपमान हुन सक्छ ।हामी सरकार निर्माणका लागी यसरी जादै छौं भनेर चुनाव अघि नै जनताका बीचमा जानु त्यो बढी तथ्यपरक र विश्वासिलो हुन्छ ।

एमाले र माओवादी केन्द्रको अगुवाईमा भएको वाम गठबन्धनले मुलुकको राजनैतिक स्थीरतालाई अन्तत सहयोग नै गर्ने देखिन्छ ।वामगठबन्धनबाट केही हतास भएको काँग्रेस यतिखेर उक्त गठबन्धनलाई अधिनायकत्व स्थापित गर्ने र मुलुकमा कम्युनिष्ट व्यवस्था स्थापना गर्ने दुष्प्रायसबाट अभिप्रेरित भएको भन्दै त्ससका विरुद्ध मोर्चाबन्दी गर्ने प्रयासमा देखिन्छ ।वामगठबन्धनले मुलुकको लोकतन्त्र नै धरापमा पार्ने भन्दै उसले लोकतन्त्रवादीका नाममा पनि मोर्चाबन्दी शुरु गरेकोछ ।उसले एमाले र माओवादीलाई लक्षित गर्दै लोकतन्त्रको ठेक्का आफ्नो मात्र भएको भन्ने जनमानशमा भ्रम फैलाइरहँदा सचेत नागरिकले काँग्रेसको इतिहासलाई पनि राम्रोसँग हेर्नु पर्ने हुन्छ । एकदलीय अधिनायकत्वको विरुद्धमा आवाज उठाउने काँग्रेसले पद्दति वकालत गर्दै गर्दा केही समय अगाडी न्यायपालिका र सुरक्षा संयन्त्रमाथी गरेको खेलवाड नेपाली जनताको मासपटलबाट विष्मृत भएको छैन ।

भूकम्प पिडित जनताको नाममा काँग्रेसले गरेको राजनीति पिडित जनताको हितमा भन्दा पनि गोविन्द पोख्रेलको राजनीतिलाई मलजल गर्नु थियो भन्ने कुरा प्रधिकरणलाई अलपत्र छाडेर टिकट लागी पछि दौडने पोख्रेलको नियतबाट स्पष्ट हुन्छ ।त्यसै गरी किन एमालेको सरकारले दीप कुमार उपाध्यायलाई राजदुतबाट फिर्ता बोलायो भन्ने कुरा उनको राजनैतिक आाशक्तिबाट प्रमाणित भएकोछ । वामपन्थीहरुको सरकार बन्यो भने सबै तिर पार्टीकरण हुन्छ भनेर कुर्लने गगन थापाहरुले दीपकुमार उपाध्याय,गाविन्द पोखरेल प्रकरणलाई कसरी स्पटीकरण देलान ?

२१ औ शताब्दीको यो प्रविधिको युगमा वामपन्थीहरुकोे सरकार बन्यो भने क्यूबा वा उत्तरकोरिया जस्तो शासन व्यवस्था नेपालमा आउछ भनेर काँग्रेसले जनमानशमा भ्रमहरु छरिरहँदा उनीहरले सायद सोचेका होलान जनता अझै मूर्ख छन् ।पार्टी प्रणाली नै हेर्ने हो एमाले काँग्रेस भन्दा बढी लोकतान्त्रिक र पारदर्शी रहेकोछ । पार्टी विधानलाई मिच्दै संसदीय बोर्ड निर्माण गरेर टिकट बाँड्ने काँग्रेसका व्यवहार लोकतान्त्रिक हुने,पद्दतिका लागी न्यायपालिकाले आदेश दिदा उसका विरुद्ध महाभियोग लगाउने काँग्रेस प्रजाततान्त्रिक हुने तर जनतालाई स्थीर सरकार दिन्छौ मत दिनुस भन्दै जनताका विचमा जाने पहलकदमी लिदा अधिनायकवाद लाद्न खोजेको भन्ने कुरा राजनैतिक पाखण्ड भन्दा बाहेक केही होइन ।

पार्टीलाई परिवारको घेरा भन्दा बाहिर लान नसक्ने काँग्रेसले विपीका नाममा गिरिजा, शुशिल,सुजाता,शेखर ,शशांक कोइराला लगायतको परिवारवाद कहिल्यै देखेन,यसैगरी शेर बहादुर देउवाको आरजुवाद पनि देखेन तर जनवादमा विश्वासमा गर्ने शक्तिहरुको गठबन्धनलाई भने अधिनायकवाद देख्छ।ज्वाई ससुरा एउटै मन्त्री परिषदमा अटाउँदा लोकतन्त्र देख्ने काँग्रेस विपक्षिले लोकतन्त्रका लागी लडेको स्वर्णिम काललाई ढाकछोप गर्दै आफु मात्र लोकतन्त्रवादी भएको बकावलत गर्दछ ।

जनताको विचमा गएर आफ्नो विचारलाई अनुमोदन गर्ने कार्य यदि लोकतन्त्र विरोधी हो भने एमाले माओवादी लोकतन्त्रको विपक्षमा उभिनु नै पर्दछ ।समाजवादको जगमा उभिएर सामाजिक न्याय र समानताको पक्षमा उभिदा यदि लोकतन्त्र विरोधी हुन्छ भने वामगठबन्धनले काँग्रेस विरोधीको कित्तामा उभिनु पर्दछ ।जनताका आधारभुत आवश्यक्तालाई मध्यनजर गर्दै स्वदेशी पूँजीको विकास गर्ने रछिमेकीको थिचोमिचो विरद्ध आवाज उठाउने कुरा यदी लोकतन्त्र विरोधी हो भने एमाले माओवादीले त्यो उपजस बोक्नै पर्दछ ।जनपक्ष्ीय आवाज उठान गर्दा,राष्ट्रहितका पक्षमा उभिदा,र जनतालाई मजबुत बनाउनु पर्छ भन्ने विषय लोकतन्त्र विरोधी हुन्छ भने त्यसको पक्षमा वामगठबन्धन अडिग भएर रहनु पर्दछ ।

लोकतन्त्रको परिभाषालाई काँग्रेस अनुकुल बनाएर पार्टी भित्र परिवारवाद,व्यक्तिवादको वकालत गर्ने वुद्धिजिवीहरुले पनि जनतालाई भ्रमित पार्न सक्छन् तर त्यो भ्रम चिर्ने सामथ्र्य वामगठबन्धन भित्र छ की छैन हेर्न बाँकी छ ।संविधानले प्रत्यभुत गरेको संवैधानिका अधिकारहरु प्रयोग गरेर जनअनुमोदन हुने कुरा कुनै पनि हालतमा गैरलोकतान्त्रिक हुन सक्दैन ।जनताका विचमा गएर आफ्ना मतहरुलाई स्थापित गर्ने कुरा लोकतन्त्र विरोधी हुन सक्दैन ।त्यसैले वामगठबन्धन लोकतन्त्र विरोधी त्यतिबेलासम्म हुन सक्दै जबसम्म सचेत जनताले निर्भिक भएर , तथ्य र तर्कमा आधारित आफ्ना मतहरु जाहेर गर्छन्। जनताका विचमा रहने जो सुकै पार्टी लोकतन्त्र विरोधी हुन सक्दैन ।सचेत जनताले चुनाव मार्फत गर्ने निर्णय लोकतन्त्र विरुद्ध हुन सक्दैन ।

२०७४ कात्तिक १८ गते प्रकाशित

About The Author

Loading...