Tue. Apr 16th, 2024

सुखको परिभाषा

मुरारी शर्मा

Murari Sharma

हुनत सुखको अर्थ सुखनै हो र यो अनुभूति जन्य विषय हो, तर पनि यसलाई परिभाषात्मक रुपदिंदा प्रकार, महानता र मात्राको अध्ययनमा पूर्वाधारको काम गर्ने भएकोले परिभाषाको औचित्यलाई सिद्ध गर्न सकिन्छ । मानिसले बांच्न चाहनु, जान्न चाहनु, स्वतन्त्रता चाहनु, प्रेम चाहनु, शासक हुन चाहनु र धन चाहनु जस्ता प्रकारको समजोड सुख हो ।

सुखसित सम्वन्धित महानताको चर्चा गर्दा सुख जति बांड्यो उति बढ्ने सत्यलाई आध्यात्मिक र भौतिक दुबै दृष्टिकोणले निर्विवाद रुपमा स्वीकारेको विषय हो । तैपनि अरुको सुख देखेर आफू दुखि हुने र अरुलाई दुखि देखेर आफू सुखी भएको ठान्ने मानसिकता अधिकांश मा देखिनु मानवजातिको ईतिहासमा विडम्बनापूर्ण कलङ्क रहि आएको छ ।

यहांनिर माथि उल्लेखित शासक हुन चाहने विषयलाई लिएर प्रश्न उठ्न सक्छ कि–पहिलो कुरा शासक हुन चाहने महत्वकांक्षा भित्र सुख अटाउनै सक्दैन । दोश्रो, सबै शासक बन्ने सम्भावना नरहेकोले शासित जति दुखी हुन पर्ने भएपछि सुख कसको र कतिको लागि? अध्यात्मवादी दृष्टिकोणलाई आधार मान्दा सुखको महासागर सच्चिदानन्द स्वरुप परमात्माको अंश जीवले आत्मज्ञान गरे पछि नदी नाला महासागरमा मिल्न गए जस्तो ‘व्रह्मविद् व्रह्मैव भवती’ अर्थात व्रह्म जान्ने स्वयं व्रह्म हुन्छ भने जस्तो परमात्माको रुप लिन्छ । परमात्मा स्वयं शासक, नियामक र व्यवस्थापक हुने कुरामा विवाद गर्नु परेन । भौतिक जगतको कुरा गर्दा पनि लोकतान्त्रिक मूल्य र मान्यताको चुरो कुरो भनेको प्रत्येक नागरिक सार्वभौमसत्ता सम्पन्न हुनु हो । यसो हुनु भनेको शासक हुनुनै हो ।

जहांसम्म मात्राको सन्दर्भ छ – आध्यात्मिक दृष्टिमा जो सुख स्वरुप ईश्वरको बढी चिन्तन गर्छ उ बढी सुखी हुन्छ । भौतिकवादी आंखाले हेर्दा जो बढी मिल्न सक्छ, हास्न सक्छ स्वाभिमानी छ, सन्तोषी छ, सहयोगी छ , क्रियाशिल र सिर्जनशील छ ऊ बढी सुखी हुन्छ । स्मरण रहोस कि स्वाभिमान शब्दले बढी अर्थ बोक्ने भएकोले यहांनिर दृष्टान्तको सहारा लिनु वाञ्छनिय हुन आयो । स्वाभिमानी व्यक्ति स्वभावैले सत्यवादी हुने र सत्य आफैं सुखको पर्याय भएकोले ऊ सुखी भएको हो । दृष्टान्तको लागि अंशुवर्माले अंग्रेजको चिठी लाई थुकेर च्यात्दा आत्मगौरवको अनुभव गर्नु सुख हो र बिपीको दोषी चष्मा कथाको पात्रले चाकरी बजाउन नसके बापत डरले थरथरी काम्नु दुख हो ।

त्यसरी नैं जगदीश घिमिरेले आफ्नो पुस्तक अन्तर्मनको यात्रामा र विजय कुमार पाण्डेले खुशीमा सच्चा भक्तले भगवानको भक्ति गरे झैं जुन मात्रामा स्वाभिमानको चिन्तन गर्दा शुखको अनुभव गरे होलान् त्यति नै पद, प्रतिष्ठा र हैसियतका लागि जे गर्न पनि पछि नपर्ने राजनीतिक कार्यकर्ताले दुखको अनुभव गरेको हुनु पर्छ ।

अनि महाकवि लक्ष्मी प्र. देवकोटाको ‘मार्ग’ कविता अन्तर्गत ‘खोज्छन सवै सुख भनी सुख त्यो कहां छ ? आफू मिटाई अरुलाई दिनु जहांछ’ भन्ने पद्यांशमा र रविन्द्र मिश्रको ‘खान पुगोस दिन पुगोस’ भन्ने पुस्तकको सार मा सुख लुकेको छ भने – कवि सिरोमणी लेखनाथ पौडेल लिखित ‘तरुण तपशी’ अन्तर्गतको ‘म खाऊं मैं लाऊ सुख सयल वा मोज म गरुँ’ …………………..‘चिता खित्का छोडी अभयसित हांस्यो मरी मरी’ भन्ने पद्यांशमा दुख लेकेको छ । उपनिषद्का ऋषिहरुले पनि सानो चित्त र व्यक्तिवादी चिन्तनको विपरित ‘योे वै भूमा तत् सुखम् नाल्पे सुख, मस्ति’ अर्थात्–विराट एवं विशालतामा सुख छ, सीमितता तथा सांगुरो पनमा सुख छैन भनेका छन् ।

सारमा सुख भन्ने विषयवस्तु विविधतामा नभएर एकतामा, थोरैमा नभएर धेरैमा, व्यक्तिवादीतामा नभएर सामूहिकतामा मिल्ने कुराले सार्वभौमिक सत्यको रुप लिएको छ ।

 

About The Author

Loading...