Sat. Jan 22nd, 2022

एसएलसी परीक्षामा दृष्टिविहिनलाई चिन्ता

dristibihina 1

धादिङ – परीक्षा सुरु हुन एक दिन मात्र बाँकी रहँदा छात्रछात्राहरु परीक्षाको अन्तिम तयारीमा छन् । तर परीक्षामा सहयोगी राखेर लेख्नुपर्ने भएकाले दृष्टिविहिन विद्यार्थी भने चिन्तित छन् ।

सम्झेका कुरा आफुभन्दा तल्लो कक्षाको सहयोगीबाट लेखाएर परीक्षा दिनु पर्ने भएकाले दृष्टि विहिन विद्यार्थीहरु चिन्तामा छन् । सहयोगीबाट परीक्षा दिँदा आफुले जानेका कुरा समेत समयभित्र लेख्न नभ्याइने चिन्ताले उनीहरुलाई सताएको छ ।

परीक्षा नियन्त्रण कार्यालयले यस्ता विद्यार्थीलाई ब्रेनलिपीमा प्रश्न सोध्ने र उत्तर दिने व्यवस्था गरेको छैन । ब्रेललिपीमा प्रश्न सोध्ने र उत्तर दिने व्यवस्था नहुँदा गणितमा ज्यामिति, विज्ञानमा रसायन, सामाजिकमा नक्सा बनाउने प्रश्नको जवाफ दिन सक्दैनन् । यसले गर्दा जानेका प्रश्न पनि छोड्नु पर्ने रविन्द्र कुमार महतो गुनासो गर्नुहुन्छ ।

आफुभन्दा तल्लो कक्षामा पढ्ने सहयोगीबाट लेखाउँदा एकातिर समय बढि लाग्छ । अर्काेतिर शुद्ध लेख्न समस्या हुन्छ । परीक्षामा अतिरिक्त समय नहुँदा प्रश्नको उत्तर जानेर पनि लेख्न भ्याइदैन ।

दृष्टि विहिन विद्यार्थीहरुका लागि ब्रेनलिपीमा प्रश्नपत्र र उत्तर लेख्ने व्यवस्था नभएपनि नक्सा र चित्रको साटो बैकल्पिक प्रश्न तयार गर्न सकिए विद्यार्थीहरुलाई केही राहत पुग्ने धादिङको जनजागृति उच्च माविमा समाहित श्रोत कक्षा पढाउँदै आउनु भएका शिक्षक रामचन्द्र रुपाखेतीको भनाई छ ।

यस वर्ष धादिङबाट ३ जना दृष्टि विहिन विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । देशभरका दृष्टि विहिन विद्यार्थीको समस्या धादिङका राम, लक्ष्मण र रविन्द्रको जस्तै छ । त्यसकारण आगामी दिनमा दृष्टि विहिन विद्यार्थीका लागि परीक्षा नीति नै परिवर्तन गरेर ब्रेन लिपिमा प्रश्न सोध्ने र उत्तर दिने व्यवस्था गरिनु आवश्यक छ ।

Loading...