सरिता श्रेष्ठ
धादिङ – पछिल्लो समय धादिङ जिल्लामा घरपालुवा पशुहरुमा कृतिम गर्भाधारण गराउने कृषकहरुको संख्या बढ्न थालेको छ ।
गाउँमा साँढे नपाइने र कृत्रिम गर्भाधान गराउदाँ दूध उत्पादन समेत बढ्ने भएकोले कृषकहरु घरपालुवा पशुमा कृतिमगर्भाधारण गराउनप्रति आकर्षित भएका हुन् ।
यस आर्थिक वर्षको साउन महिनादेखि हालसम्म धादिङका २ हजार २ सय २९ वटा गाइ भैसीहरुको कृतिम गर्भाधारण गरिएको जिल्ला पशु सेवा कार्यालय धादिङले जनाएको छ । यो अघिल्लो वर्षको तुलनामा ९ सय ९४ ले बढि हो । यस वर्ष १ हजार ३ सय २१ वटा गाइ र ९ सय ८ वटा भैसीमा कृतिम गर्भाधारण गरिएको छ ।
आर्थिक वर्ष २०६९/७० मा १५ सय र अघिल्लो आर्थिक वर्ष २०७०/०७१ मा २ हजार पशुहरुमा कृतिम गर्भाधारण गर्ने लक्ष्य लिएर प्राविधिक टोली गाँउ गाँउमा पुगेता पनि लक्ष्य पूरा हुन सकेन । अघिल्लो आर्थिक वर्ष २०७०/०७१ मा १ हजार १ सय ९ गाई र १ सय २६ भैसी गरी १ हजार २ सय ३५ गाईभैसीमा कृतिम गर्भाधारण गरिएको जिल्ला पशु सेवा कार्यालय धादिङले जानकारी दिएको छ ।
हाल पशु सेवा कार्यलयको पहलमा ८ ओटा प्रजनन् केन्द्रहरुबाट ए. आई. मिसन समिति गठन गरी सेवा प्रदान गर्दै आएको छ । धादिङको केवलपुर, गजुरी, वैरेनी, धुषा, सलाङ, सुनौलाबजार, मैदी र चैनपुर गरी ८ ओटा सामुदायिक पशु प्रजनन केन्द्र मार्फत कृतिम गर्भाधारण सेवा प्रदान गरिरहेकोे सहायक पशु स्वास्थ्य प्राविधिक पुण्यवती खकुरालले जानकारी दिनुभयो ।
कास्कीको पोखरास्थित राष्ट्रिय प्रजनन केन्द्रमा पालिएका उन्नत जर्सी साँढे र मुर्रा लाहुरे राँगोको वीर्यलाई सुरक्षित ढगंले ल्याएर कृतिम गर्भाधान गरिने कार्यालयले जानकारी दिएको छ । एउटा गाई वा भैसीमा कृतिम गर्भाधारण गराउँदा समितिको निर्णय अनुसार किसानहरुले रु २ सय देखि ३ सय सम्म तिर्नु तिर्नु पर्ने हुन्छ । किसानहरु आफैलाई पशुसेवा कार्यालयको प्राविधिकहरुलाई घरमा नै बोलाएर सेवा लिनु परेमा प्राविधिक टोली र किसानहरुको मिलेमतो अनुसार तिर्नुपर्ने हुन्छ । तर पशु सेवा कार्यलय धादिङमा नै आएर कृतिम गर्भाधारण गराउदा एउटा पशुको ३५ रुपैया मात्र लिने गर्दछ ।