Tue. Apr 22nd, 2025

खाजा खर्च जोगाएर स्वरोजगार

कोपिला काफले, धनकुटा

गोष्ठी, तालिम तथा बिभिन्न प्रकारका कार्यक्रमहरूमा सहभागीहरूलाई चिया तथा खाजा खुवाउने पुरानै चलन हो । यस्तो चलन सरकारी तथा गैरसरकारी क्षेत्रमा मात्र होइन, निजी र व्यक्तिगत जीवनमा पनि कायम रहेको छ । सरकारी वा गैरसरकारी तहबाट गरिने प्रायः सबै प्रकारका कार्यक्रममा चिया र खाजाका लागि निश्चित रकम विनियोजन हुने गरेको हुन्छ । स्थानीय निकाय अन्तर्गत नागरिक सचेतना केन्द्रमा पनि प्रति व्यक्ति न्युनतम १० रूपैयाका दरले खाजा खर्च निकाशा हुने गर्दछ । सामन्यतया यस्तो रकम सबै नागरिक सचेतना केन्द्रले चिया खुवाएर वा नगदै बितरण गरेर खर्च गर्ने गरेका छन् । तर धनकुटा तेलियाका महिलाहरूले भने खाजा खर्चलाई नागरिक सचेतना केन्द्र घुम्ती कोष बनाएर स्वरोजगारमा लगाएका छन् । जुन स्वरोजगारबाट सचेतना केन्द्रमा आबद्ध महिलाहरूको जीविकोपार्जनमा आमूल परिवर्तन ल्याएको छ ।

‘हामीले घुम्ती कोष बनाएका छौ, हामी २६ जना छौँ । २६ जनालाई सरकारले चिया खाने भनेर खर्च दिएको रहेछ, चिया नखाएर बनाएको कोष चलाएका छौ ।’ नागरिक सचेतना केन्द्रकी उपसंयोजक बालिका ओझाले भनिन् –‘यो कोष हामी सबैको साझा हो, कोषमा जम्मा भएको रकम आवश्यक हुनेले एक रूपैयाँ व्याजमा सापटी लाने गरेका छन् । यसमा बिभिन्न प्रकारका स्वरोजगारमूखि काम गरेका छन् ।’

धनकुटा तेलिया गाविसमा सञ्चालनमा आएको नागरिक सचेतना केन्द्रको घुम्ती कोषले त्यस भेगमा गहिरो आत्मविश्वास र प्रेरणा दिएको छ । कोषबाट सापटी लिएर उद्यम गर्नेहरू उत्साहित भएका छन् । अहिले यो अभ्यासलाई असल सिकाईको नमूनाको मानक बनाएर अन्य गाविसमा पनि अनुकरण गर्न थालिएको छ ।

कोषबाट सापटी लिएर बंगुर पालन गरेकी दीपा तामाङको दाबी छ –‘सचेतना केन्द्रबाट मेरो पालो आएपछि सुँगुरको पाठा किन्न चलाएको छु । अरू पैसा चाहिँ कुखुरा किने । ६ महिनामा एउटा सुँगुरले ऋण ति¥यो भने अर्को चाहिँ मलाई फाइदा भएको छ ।’ स्थानीय तहमा उद्यम गर्नका लागि पुँजीको अभावमा पछि परेको बताउँदै उनले थपिन् ‘१० रूपैयाको खाजा खर्च जोगाएर हामीले शुरू गरेको यो अभियानले बचत प्रक्रियामा ठूलो पाठ सिकाएको छ ।’

दिपा जस्तै नागरिक सचेतना केन्दको घुम्ती कोषबाट ऋण लिएर बंगुर पालन गर्ने साबित्री नेपाली पनि घरैमा बसेर केही गर्ने आँट र जाँगर पलाएको बताउँछिन् । सचेतना केन्द्रमा सहभागी भए पछि आर्थिक पाटोमा सुधार गर्ने सिकिएको अनुभव सुनाउदै उनले भनिन् –‘ हामीहरूले बोल्न जानेको थिएन, बोल्न जान्यौँ, आफ्नो नाम आफैँले लेख्न जान्यौँ । सर मेडमहरूले बाटो देखाइदिनुभयो । साथीसाथी मिलेर अगाडि बढ्न थालेको छौ ।’

‘१० रूपैयाको खाजा खर्च खाएको भए सकि हाल्थ्यो, जोगाएर आय आर्जन गर्न थाले पछि केही राम्रो काम गरेको हो कि जस्तो लागेको छ ।’ तेलियाका स्थानीय निर्मला ओझा भन्छिन् –‘सात हजार लिएर मैले तीनवटा बाख्रा किनेको हो । तीनवटा बाख्रामा अहिले ६ वटा भएको छ । अब एउटा खसीले ऋण तिर्छ होला, अरू चाहिँ नाफा नै होला ।’ यस्तो कोष परिचालनबाट के फाइदा भयो भनि सोधिएको प्रश्नमा निर्मलाको जवाफ थियो–‘कोष नहुँदा पैसा चाहियो भने गाउँघरमा साहु काड्न जानु पर्दथ्यो, महंगो व्याज तिर्नु पर्दथ्यो । त्यो पनि पाईने अवस्था थिएन । अहिले त्यस्तो समस्या छैन । सानोतिनो काम गर्न आफनै कोष छ, घरखर्च र सानोतिनो समस्या टार्न र आयआर्जन गर्न यही कोषले सहयोग गरेको छ ।’

धनकुटा तेलियामा नागरिक सचेतना केन्दले समुदायलाई पु¥याएको योगदानलाई ख्याल गरेर सोही गाविसको अर्को वडामा पनि स्थानीय महिलाहरूले अर्को सचेतना केन्द्र खोलेका छन् । यो सचेतना केन्द्रमा पनि महिलाहरू आपसमा बसेर छलफल गर्ने मात्र नभएर कोष पनि परिचालन गर्ने गर्दछन् ।

यस समूहमा बचतको अभ्यास संगै आमा समूहको सेवा प्रबाह पनि हुने गरेछ । उनीहरूले आफनै पहलमा भवन पनि निर्माण गरेका छन् । भवन बने पछि त्यहाँका महिलाहरूलाई सजिलो बनेको छ । स्थानीय शारादा निरौलाको भनाई छ –‘१ नम्बर वडामा सरकारी तवरबाट खोलिएको सचेतना केन्द्रको सिको गरेर हामीले बचत थालेका छौ, यो बचतले यस भेगका महिलालाई स्वरोजगारमा लाग्न प्रेरणा दिएको छ ।’ उनले थपिन ‘गाविसले भवन बनाई दियो । त्यही भवनमा बसेर हामी बचत परिचालन गर्छौ ।’

त्यस गाविसमा लैगिक समानताका लागि मीरेष्ट अभियान अन्तर्गत बिभिन्न कार्यक्रम गरेपछि समाजमा सकारात्मक परिवर्तन आएको स्थानीय ज्याति भूजेलको दावी छ । भन्छिन्– ‘स्थानीय निकायमा आउने बजेटका बारे हामीलाई थाहा हुने थिएन, तर यहाँ पछिल्लो समयमा मीरेष्टको कार्यक्रममा भाग लिए पछि हाम्रो पनि चासो बढेको हो ।’

स्थानीय मकालु र लालीगुरास एफएममा बज्ने समायोजन रेडियो कार्यक्रम र सामाजिक सन्देशहरूले पनि महिला अधिकार तथा स्थानीय निकायमा महिलाको सहभागिताबारे बुझन सहयोग गरेको बताउँदै स्थानीय सम्यता लिम्बूले भनिन् ‘हामी महिलाहरू चाहिँ चुलोचौको गर्ने, त्यही घरको कामहरू गर्ने, बच्चाहरू स्याहार्ने, बस्ने त्यही मात्र थियो । तर, हामीले आमा समूह खोलौँ, आमा समूह खोलेपछि हामीलाई धेरै कुरोमा सहज पनि भएको छ । हामीलाई सहयोग भएको छ ।’ स्थानीय तहमा महिलाहरूमा जाँगरण आए पछि महिलाहरूमा परिवर्तन आएको बताउँदै महिलाहरूले स्वतन्त्रता पाउन महत्वको कुरा भएको उनको निश्कर्ष छ ।

तेलियामा महिला शसक्तिकरणको पक्षमा आएको यो परिवर्तन प्रति स्थानीय राजनीतिक दल, गाविस तथा वडा नागरिक मञ्च लगायतका संघ संस्थाले सह्राहना व्यक्त गरेका छन् । गाविसका गाविस सचिब रमेशकुमार गौतम भन्छन् ‘साना–साना कामका लागि सरकारको मूख ताक्ने प्रबृत्तिविरूद्ध तेलियाका महिलाहरूको यो कदमले लैगिक समानताका दिशाामा सकारात्मक सन्देश प्रबाहित गरेको छ ।’

समुदाय विकासका लागि ठूल ठूला योजना र कार्यक्रम नै चाहिन्छ भन्ने बुझाईलाई धनकुटा तेलियाका महिलाहरूले काम गरेर नै खण्डन गरेको निश्कर्ष दिन्छन् स्थानीय समाजसेबी सान बहादुर लिम्बू । ‘उनीहरूले नागरिक सचेतना केन्द्रमा पुग्ने खाजा खर्च बापतको दश रूपैया सदुपयोग गरेर समुदायमा आमूल परिवर्तन ल्याउने काम गरेका छन् ।’ स्थानीय सामाजिक परिचालक शंकर ओझा पनि स्थानीय निकायमा शुरू भएको रूपान्तरणीय सामाजिक परिचालनले नै यो परिवर्तन ल्याउन सफल भएको बताउँछन् ।

एक घर, एक चर्पी अनि पूर्ण साक्षर, निःशुल्क तथा आधारभूत अनिवार्य शिक्षा, घरभित्रको धूँवामुक्त पूर्ण खोपजस्ता विभिन्न सूचकहरू गाविसले पुरा गरेको बताउँदै उनले अन्य सूचक पनि चाडै पुरा गर्ने बताए ।
—साभारः मीरेष्ट नेपाल समायोजन लेखमाला

About The Author