Thu. Mar 28th, 2024

विद्युत प्राधिकरणको लापरवाहिले रेडियो सञ्चालनमा समस्या

आशिष ठकुरी

radio rajmarga

६ चैत्र, धार्के –  विद्युत प्राधिकरणको लापरवाहिले धादिङको नौविसे १ धार्के स्थित रेडियो राजमार्गको नियमित प्रसारणमा समस्या आएको छ ।

गोगनपानी ९ ठुलोडाँडामा रहेको विद्युत ट्रान्सफर्मर मर्मतको ढिलाईका कारण गोगनपानी ४ रानीमालामा रहेको रेडियोको प्रसारण केन्द्रमा विद्युत सेवा बन्द भएपछि नियमित प्रसारणमा समस्या आएको हो । रेडियोको प्रसारण केन्द्रमा सौर्य विद्युत जडान गरेकाले दिउँसोको समयमा रेडियो प्रसारणमा कुनै समस्या नभएपनि विहान र बेलुकीको समयमा भने समस्या हुँदै आएको रेडियो राजमार्गका अध्यक्ष नारायण सुबेदीले बताउनुभयो । चट्याङका कारण बिग्रीएको २५ के भि ए क्षमताको ट्रान्सफर्मर गत सोमबार मर्मतका लागि बालकुमारी ललितपुर लगिएको छ । ट्रान्सफर्मर मर्मत भएर आईतबार/ सोमबार मात्र जडान हुने विद्युत प्राधिकरण धार्के प्र शाखाका प्रमुख केदार प्रसाद लामिछानेले बताउनुभयो ।

विद्युत प्राधिकरणको आफ्नै मर्मत केन्द्र लैनचौरमा मर्मत गर्न निकै ढिला गर्ने भएकाले निजी मर्मत केन्द्र बालकुमारीमा लगिएको लामिछानेले बताउनुभयो । चट्याङले ट्रान्सफर्मरको एउटा फेज जलेको र बाँकी २ वटा फेजले बत्ति बल्ने भए पनि मिल तथा कारखानाहरु नचलेकाले मर्मत गर्न पठाईएको प्राधिकरणले जनाएको छ । विद्युत अवरुद्घ हुँदा गोगनपानीको वडा नम्बर ४ र ९ का एक सय भन्दा बढि घरधुरीका स्थानिय अँध्यारोमा बस्न बाध्य भएका छन् । लामो समय विद्युत आपुर्ति बन्द भएपछि दैनिक कामकाज गर्न पनि समस्या भएको स्थानिय सन्तुमाया तामाङले बताउनुभयो । यसैगरी यस वर्ष मात्र धादिङका विभिन्न स्थानका ८ वटा ट्रान्सफर्मर विग्रीसकेका छन् । थप ट्रान्सफर्मरको अभावका कारण विग्रीएको ट्रान्सफर्मर मर्मत गरेर मात्र पठाउने गरेकाले मर्मतमा केहि ढिलो हुने गरेको विद्युत प्राधिकरण धार्के प्र शाखाका प्राविधिक हरीकुमार थापाले बताउनुभयो ।

गत वर्षको फागुन महिनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युत ट्रान्सफर्मर खरिदमा अनियमितता गरेको आरोपमा विद्युत प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक सहित १७ जनाविरुद्ध विशेष अदालतमा दायर गरेको मुद्धा अदालतमा अझै विचाराधिन रहेको छ । चीनको सिचुआन दोङफाङ ट्रान्सफर्मर कम्पनीबाट विभिन्न क्षमताका ५ सय ७५ थान ट्रान्सफर्मर खरिद प्रक्रियादेखि भण्डारण सम्मका चरणमा भएको अनियमिततामा सामुहिक संलग्नता भएको अख्तियारको दाबी गरे पनि मुद्धा अदालतमै विचाराधिन हुँदा नेपाल ल्याईएका ट्रान्सफर्मर वितरण गर्न नसकेको विद्युत प्राधिकरणले जनाएको छ । नौविसे, जिवनपुर, केवलपुर, गोगनपानी, थाक्रे तसर्पु भुमेस्थान गाविस हेर्ने विद्युत प्राधिकरण शाखाको उद्योग, कलकारखाना बाहेक साँढे नौ हजार ग्राहक रहेका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: