१२ चैत धादिङ – धादिङ सलाङका कृषकहरुले खेतको माटो परिक्षण गराएका छन् ।
रासायानिक विषादीको प्रयोग त्याग्दै अर्गानिक खेती तर्फ आकर्षित भएका किसानहरुले माटो परिक्षण गरिएका हुन् । विहिबार एक कार्यक्रमका विच सलाङ ७ माझीसमुदाय र सलाङ ५ का दलित समुदायका कृषकहरुको खेतको माटो परिक्षण गरिएको हो । कृषकहरुको खेतबारीमा प्राङ्गारिक पदार्थको मात्रा कति छ र कुन खेती गर्दा उपयुक्त हुन्छ भन्ने कुराको जानकारी लिनका लागि जाँच गरिएको साना किसान कृषि सहकारी संघ धादिङका कृषि प्राविधिक कमला हुमागाईँले जानकारी दिनुभयो ।
साना किसान कृषि सहकारी संस्था सलाङको आयोजनामा युनाईटेड मिसन टु नेपाल धादिङ क्लष्टर र साना किसान कृषि सहकारी संघ धादिङको सहयोगमा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमकै अवसरमा जिल्ला कृषि विकास कार्यलय धादिङको सहयोगमा कृषकहरुलाई लहरे बालीमा लाग्ने किटाणु विरुद्धको फेरेमेन ट्रयाप समेत वितरण गरिएको साना किसान कृषि सहकारी संस्था सलाङका प्रबन्धक गोपाल सिलवालले जानकारी दिनुभयो ।