Fri. Mar 29th, 2024

फर्केर हेर्दा वर्ष २०७४, उत्साह र उमंगको वर्ष

शिवराज भण्डारी  –

शनिबार २०७५ सालको सुरुवाती दिन । नयाँ सालनयाँ वर्षसँगै प्रत्येक नेपालीमा खुसी र हौसला छाएको छ । देश विदेशमा रहेका नेपालीहरुले नयाँ वर्षलाई हर्षउल्लासका साथ स्वागत गरेका छन् । त्यसो त भर्खरै बिदाई गरिएको २०७४ साल उत्साह, उमंग र नयाँ संभावनाको वर्ष हुन पुग्यो । विसं २०७४ नेपालको इतिहासमै सबैभन्दा धेरै र महत्वपूर्ण निर्वाचन भएको वर्षका रूपमा दर्ज भएको छ ।

चुनाव सबैभन्दा ठूलो उपलब्धि
राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रुपमा नयाँ बर्ष २०७४ नेपाल र नेपालीका लागि विभिन्न कारणले गर्दा विशेष रह्यो । नयाँ संविधानले व्यवस्था गरे अनुसार नेपालमा तीन तहको चुनाव हुनु यो वर्षको सबैभन्दा ठूलो उपलब्धि हो । संविधान घोषणादेखि नै असन्तुष्टी जनाउँदै आएका मधेसी दलले चुनाव बहिष्कार गर्ने घोषणा गरे । उनीहरुको बहिष्कारका बाबजुद पहिलो चरणमा स्थानीय तह चुनाव वैशाख ३१ गते सम्पन्न भयो । पहिलो चरण चुनाव सकिएपछि ०७४ जेठ १० गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा दिनुभयो । नेपाली कांग्रेससँग सरकारको आलोपालो नेतृत्व गर्ने सहमति कार्यान्वयनको लागि उहाँले प्रधानमन्त्री पदबाट राजीनामा दिए । ०७४ जेठ २३ गते व्यवस्थापिका–संसदको बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबालाई नेपालको ४० औं प्रधानमन्त्रीको रुपमा निर्वाचित गर्योे । उहाँ चौथो पटक नेपालको प्रधानमन्त्री बन्न पुगे । प्रधानमन्त्री बन्ने दौडमा देउवा एक्ला उम्मेदवार हुनुहुन्थ्यो । देउवाको पक्षमा ३ सय ८८ सांसदले मतदान गरेका थिए । देउवा नेतृत्वको सरकारले जेठ ३१ को लागि तोकेको दोस्रो चरण स्थानीय चुनावमा मधेशी दललाई पनि सहभागी गराउने भन्दै असार १४ को लागि नयाँ मिति घोषणा गर्यो । यो चुनावमा मधेश केन्द्रित दल संघीय समाजवादी पार्टीले भाग लियो । राजपा नेपालले भने यो चरणको चुनाव पनि बहिष्कार नै गर्यो । दोस्रो चरणमा सरकारले २ नम्बर प्रदेशमा स्थानीय तह चुनाव गरेन । २ नम्बर प्रदेशमा असोज २ का लागि तेस्रो चरण चुनावको मिति तोकियो ।

यो चुनावमा भने राजपा नेपालले पनि सहभागी हुने निर्णय गर्यो । शान्तिपूर्वक रुपमा तीन चरणमा नेपालमा ऐतिहासिक स्थानीय तहको चुनाव सम्पन्न भयो । ०७४ साल माघभित्र नेपालमा तीन चरणका चुनावमार्फत नेपाललाई संघीय संरचनाको सरकारले चलाउने गरी संवैधानिक व्यबस्था रहेको थियो । सोही व्यबस्था अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले दुई चरणमा गरेर प्रदेश र प्रतिनिधिसभा चुनाव एकैपटक सम्पन्न गर्यो । मंसिर १० र २१ गते भएको प्रदेश र प्रतिनिधिसभा चुनावबाट नेकपा एमाले देशको ठूलो दलको रुपमा उदायो । त्यसै बाबजुत एमाले अध्यक्ष के पि शर्मा ओली नेपाल का ४१ प्रधानमन्त्रीका रुपमा उदाएका छन । भारतसंगको असमझदारी भ्रमणले अन्त्य गरेको छस् प्रधानमन्त्री ओलीले बताएका छन । चुनावको समयमा दुई मुख्य कम्युनिष्ट पार्टी नेकपा एमाले र माओवादी केन्द्रले गरेको चुनावी तालमेलले पनि नेपालमा राम्रै चर्चा पायो । दुई कम्युनिष्ट पार्टी एकता गर्ने निर्णयसहित चुनावमा गएपछि यसले नेपालको राजनीतिक वृत्तमा हलचल नै मच्चायो । चुनाव लगत्तै एमाले र माओवादीले मिलेर सरकार चलाउने सहमती अनुसार नै दुई पार्टी मिलेर सरकार चलाऊदै आएका छन । निर्वाचन क्षेत्र परिवर्तन गरेर आफ्नो गृहजिल्ला चितवनबाट पहिलोपटक प्रतिनिधिसभा चुनावका लागि उम्मेदवार बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफू गृहजिल्लाको उम्मेदवार भैरहँदा जति क्रियाशील हुनुभएको थियो, चुनावी प्रचारका लागि उहाँका पुत्र प्रकाश दाहाल त्योभन्दा धेरै क्रियाशील रुपमा लाग्नुभएको थियो ।

चितवनबाट चुनावी कार्यक्रमको तयारीका लागि काठमाडौं आएका प्रकाश दाहालको ०७४ मंसिर ३ गते हृदयघातका कारण निधनभयो । प्रकाशको निधनले सबैलाई भावबिह्वल बनायो । संघीय संसद्को निर्वाचनपछि दुवै सदनका सदस्यको फागुन २० गते शपथ र २१ गते पहिलो बैठक बसेको थियो । संविधान कार्यान्वयनकै सिलसिलामा यसैवर्ष राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न भयो । निर्वाचनमा राष्ट्रपति भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुन पुनः निर्वा्चित भए । संविधान कार्यान्वयनको चरणअन्तर्गत यसैवर्ष सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्षको निर्वाचन पनि सम्पन्न भयो। यसैवर्ष जन्म मीति र शैक्षिक योग्यताको प्रमाणपत्रको विवादमा तानिएका प्रधानन्यायाधीश गोपाल पराजुलीले पदबाट राजीनामा दिए । विसं २०७४ को अन्त्यमा प्रधानमन्त्री ओलीले चैत २३ देखि २५ गतेसम्म भारतको राजकीय भ्रमण गरे। भारतले नेपालमा लगाएको आर्थिक नाकाबन्दीपछि चिसिएको सम्बन्धमा उनको यो भ्रमणले न्यानोपन ल्याएको बताइएको छ । राजनीतिक घटनाबाहेक यसवर्ष मानवीय क्षतिका दुर्घटना पनि उल्लेखनीय भयो। वर्षायाममा मुलुकभर बाढी पहिरोले ठूलो जनधनको क्षति र्गयो भने सवारी दुर्घटनाले पनि धेरैको ज्यान लियो । यसै वर्षको अन्त्यमा त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल परिसरमै यूएस बंगला विमान दुर्घटना हुँदा ५१ जना (स्वदेशी र विदेशी)को ज्यान गयो । खेलकूदका दृष्टिमा यो वर्ष मुलुकका लागि उपलब्धिमूलक रह्यो । जिम्बावेमा भएको आइसिसी एकदिवसीय लिगमा नेपाली क्रिकेट टोलीले एक दिवसीय विश्व मान्यता पायो। जुन नेपालको क्रिकेट खेलका लागि महत्वपूर्ण उपलब्धी हो ।

महाअभियोग र कारवाही
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई कार्वाहीको बिषय होस् वा महालेखा परीक्षकका प्रमुख चुडामणी शर्मा र नेपाल आयल निगमका प्रमुख गोपाल खड्काले गरेका अनियमितताका बिषय हुन, यी विषयले पनि नेपालमा वर्ष २०७४ भरी नै चर्चा पाइरहे । नेकपा एमालेसँग सरकारको सहकार्य तोडेर आफ्नो नेतृत्वमा सरकार बनाएको माओवादी कांग्रेसको संयुक्त सरकारले प्रधानन्याधीशमाथि महाअभियोगको प्रस्ताव संसदमा लगेर होस् वा प्रहरी प्रमुख नियुक्तिको विवादमा होस यी घटनाले यो वर्षभरी नै चर्चा पाइरहे । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई एमाले, माओवादीका सांसदले संसदमा दर्ता गराएको महाअभियोगको प्रस्तावले पनि यो वर्ष नेपालमा ठूलो चर्चा पायो । कार्कीलाई अख्तियारबाट हटाउनका लागि दल तथा अदालतलाई हम्मेहम्मे नै पर्यो । प्रधानन्यायाधीश सुशिला कार्कीलाई कांग्रेस माओवादी नेतृत्वको सरकारले दर्ता गराएको महाअभियोग प्रस्तावले पनि यो वर्ष ठूलो चर्चा पायो । संसदबाट पारित हुन नसकेको यो प्रस्तावको ठूलो विवाद भएको थियो । प्रहरी प्रमुख नियुक्तिको विषयले पनि यो बर्ष नेपालमा चर्चा पायो । सरकारले प्रहरी प्रमुखमा आफूभन्दा कनिष्टलाई प्रहरी प्रमुख बनाएको भन्दै सरकारले सिफारिस गरेका जयबहादुर चन्दका विरुद्ध अर्का डिआइजी नवराज सिलवालले सर्वोच्च अदालतमा मुद्धा हालेपछि यो विवादले ठूलो रुप लिएको थियो । आफू प्रहरी प्रमुख हुन पाउनुपर्ने दाबी सहित अदालतमा गएका सिलवालको सट्टा प्रकाश अर्याल प्रहरीको प्रमुख भएपछि सिलवालले सेवाबाट नै राजिनामा दिएका थिए । अझै रोचक कुरा त प्रहरी प्रमुख हुन नपाएका सिलवाललाई नेकपा एमालेले ललितपुरबाट प्रतिनिधिसभा चुनाव सदस्यमा उठायो र उनले जितेका पनि छन् ।

भुकम्पका कहरबीच आर्थिक बृद्धि
भूकम्प गएको ३ वर्ष बितिसक्दा पनि भूकम्प पीडितले अझैसम्म पनि सास्ति पाइरहे । यो वर्ष पनि तराईमा बाढी र पहाडमा पहिरोले ठूलो क्षति पुर्यायो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले अहिलेसम्मकै उच्च आर्थिक वृद्धिद्धर हाँसिल गर्यो ।
०७४ साउन २७ गते रातीदेखि परेको अविरल वर्षाका कारण तराईमा बाढी आयो । बाढीमा परी १ सय २३ जनाको ज्यान गयो भने ३९ जना घाइते र ३५ जना बेपत्ता भए । करोडौ रुपैंयाको क्षति पुगेको छ । पहिरोमा परेर १४ जनाको ज्यान गयो । नेपालको अर्थतन्त्रमा पनि यो वर्ष निकै राम्रो देखियो । प्रचण्ड नेतृत्वको सरकारको समयमा विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर २३ वर्ष यताकै उच्च बिन्दुमा पुगेको बताएको छ । नेपालको आर्थिक वृद्धिदर बजार मूल्यका आधारमा साढे ७ प्रतिशतले बढेको विश्व बैंकले जनाएको हो । विश्व बैंकको नेपाल विकास सूचना अनुसार पछिल्ला वर्षमा सक्रिय मनसुन, विद्युत उपलब्धता, भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणको गति लगायत कारणले आर्थिक वृद्धिदर साढे ७ प्रतिशत पुगेको जनाएको हो । यद्यपि आर्थिक वृद्धिमा अझै धेरै चुनौती रहेको विश्व बैंकले जनाएको छ । सन् २०१५ मा नेपालको कुल ग्रार्हस्थ उत्पादन ३ दशमलब ३ प्रतिशतमा झरेको थियो भने त्यसको एक वर्षपछि सन् २०१६ मा १४ वर्ष यताकै सबैभन्दा कम बिन्दू अर्थात शून्य दशमलब ४ प्रतिशतमा झरेको थियो । अहिले नेपालको पर्यटन क्षेत्रमा सुधार आएको, थोक तथा खुद्रा व्यापार सामान्य हुँदै गएको, यातायात क्षेत्रमा समेत उल्लेख्य सुधार आएको, भूकम्पका कारण रोकिएका १ सय मेगावाट भन्दा बढि जलविद्युत आयोजना समेत संचालनमा आउन थालेको विश्व बैंकले जनाएको छ । आर्थिक वृद्धिदर बढेपनि नेपालमा निर्यात भन्दा आयात उच्च रहेको विश्व बैंकको भनाई छ । नेपालमा वर्ष २०७४ शेयर बजारको लागि सामान्य रह्यो । वर्षको सुरुमा १ हजार ४ सय ६५ दशमलब ७२ अंकमा रहेको शेयर बजार नेप्से वर्षको अप्रिल महिनामा सबैभन्दा उच्च १ हजार ७ सय ३ दशमलब ७ अंकमा पुगेको थियो । तर वर्षको अन्तिम दिनमा शेयर बजारमा भारी गिरावट आएको छ ।

मिस नेपाल
सन् २०१८ को मिस नेपाल वर्ल्डको उपाधि शृङखला खतिवडाले जितिन । २४ प्रतिस्पर्धीलाई पछि पार्दै मिस नेपालको उपाधि हेटौंडाकी खतिवडाले जितेकी हुन् । उनलाई गत वर्षकी मिस नेपाल वर्ल्ड निकिता चण्डकले क्राउन लगाइदिइन् । मिस नेपालको ताज पहिरिएकी उनले ‘मिस वल्र्डमा प्रतिनिधित्व गर्नेछिन्् ।

अन्र्तराष्ट्रिय
विशेष गरी यो वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका राष्ट्रपति किम जोङ उनको जुहारी धेरै नै चल्यो । उत्तर कोरियाले गरेको आणविक बम परिक्षण र त्यसको विरोध गरेको अमेरिकाबिचको जुहारी यो वर्ष भरी नै चलिनै रह्यो । सन् २०७४ को सुरुमा नै अमेरिकाको सत्ता परिवर्तन भयो । २०१७ जनवरी २० मा अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाको कार्यकाल सकिएर ४५ औं राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्प निर्वा्चित भए । राष्ट्रपतिको सपथ लिएर ह्वाइट हाउस प्रवेश गरेका ट्रम्पले केही विवादास्पद निर्णय गरेर चर्चामा रहे । सन् २०१६ को नोभेम्बर ८ मा भएको अमेरिकी राष्ट्रपतिको चुनावमा रुसी हस्तक्षेप भएको । त्यो हस्तक्षेपले डोनाल्ड ट्रम्पलाई जिताउन र हिलारी क्लिन्टनलाई हराउन भूमिका खेलेको विषयले २०१७ भरि चर्चा पायो । त्यस्तै २०१७ नोभेम्बर २ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिभी चिट्ठा खारेज हुनुपर्ने भाषण गरे, जुन विश्वभर चर्चित रह्यो ।

जिम्बावेमा ३७ वर्ष लामो शासनको अन्त्य
२०१७ नोभेम्बर १७ मा जिम्बावेको सेनाले राष्ट्रपति रोबर्ट मुगाबेको ३७ वर्ष लामो सत्ता हातमा लियो । मुगाबेले सन् १९८० मा जिम्बाबे स्वतन्त्र भएदेखि देशको नेतृत्व गर्दै आएका थिए । जिम्बाबेको स्वतन्त्रता संघर्षमा महत्वपूर्ण भुमिका निर्वाह गरेका उपराष्ट्रपति इमर्सन मानागाग्वालाई हटाएर मुगाबेले श्रीमतीलाई उत्तराधिकारी बनाउने तयारी गरेपछि सेनाले सत्तामाथि हस्तक्षेप गरेको थियो ।

म्यानमारमा रोहिंग्या संकट
२०१७ को धेरै चर्चामा रहेको विषयमध्ये म्यानमारको राखिने राज्यमा रहेका रोहिंग्या माथिको अत्याचार पनि एक हो । सन् २०१७ भरि नै रोहिंग्या संकटबारे धेरै बहस र विवाद उत्पन्न भए । तर, अगस्टको अन्तिम साता त्यहाँको लडाकु समूहले प्रहरी चौकीमा आक्रमण गरी १२ जना प्रहरीको हत्या गरेपछि रोहिंग्या विरुद्ध सेनाले भीषण कारबाही चलाएको थियो । अगष्टदेखि सुरु गरिएको सैनिक कारबाहीमा हजारौं मारिए भने लाखौंको संख्यामा विस्थापित भए । म्यानमारबाट विस्थापित भएर सीमा पारी गएका ६ लाख भन्दा बढी रोहिंग्या शरणार्थीका रुपमा बंगलादेशमा शिविरमा बस्दै आएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं महाधिवेशन सी जिनपिङलाई थप शक्तिशाली
यस वर्ष अक्टोबरमा भएको चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं राष्ट्रिय महाधिवेशन पनि २०७४ को प्रमुख घटनाका रुपमा रह्यो । यस महाधिवेशनले पाँच वर्षका लागि राष्ट्रपति सी जिनपिङलाई थप शक्तिशाली बनाएर संस्थापक माओ सेतुङ सरहको हैसियत प्रदान गरेको छ । सी जिनपिङ विचाधारालाई चीनियाँ कम्युनिष्ट पार्टीले संविधानमा राख्ने निर्णय गर्दै उनलाई माओ र देङ सियाओ पिङपछिका सबैभन्दा शक्तिशाली स्थानमा राखेको छ । यससँगै यसलाई चीनमा कम्युनिष्ट पार्टीले शासन सुरु गरेपछिको तेस्रो युगका रुपमा हेरिएको छ ।

डोकलाम विवाद
चीन, भुटान र भारतबीचको सीमा क्षेत्र डोकलाम विवाद पनि सन् २०७४ मा चर्चाको विषय बन्यो । खासगरी डोकलामको विषय चीन र भुटानबीचको सीमा विवाद नटुंगिएको भएर पनि भारतसँग चीनको विवाद बढेको थियो । चीनले डोकलाम क्षेत्रमा सडक निर्माण गरेपछि त्यो क्षेत्रमा भारतले सेना पठाएको थियो । जसका कारण दुई देशबीच तनाव सिर्जना भएको थियो । डोकलाम भुटान, चीन र भारतबीचको सीमा क्षेत्रमा पर्छ ।
२०७४ मा चीनियाँ जनमुक्ति सेनाले डोकलाममा निर्माण गरेको सडकमा भारतीय सेनाले अवरोध गरेको थियो । चीनले त्यसको कडा विरोध गर्नुका साथै भारतलाई आफ्ना सेना फिर्ता गर्न चेतावनी दिँदै आफ्नो सैनिक संख्या पनि थपेको थियो । अन्ततः भारतले आफ्ना सेना हटाएपछि तनाव कम भएको थियो ।

खाडी राष्ट्रमा उत्पन्न विवाद
२०७४ को शुरुमा साउदी अरबसहित, यूएई, बहराइन, इजिप्टलगायतले कतारसँगको कुटनीतिक सम्बन्ध विच्छेद गर्दै नाकाबन्दी लगाएका थिए । आतंकवादलाई प्रायोजन गरेको आरोपमा यी देशहरुले कतारमाथि व्यापार तथा यात्रामा समेत प्रतिबन्ध लगाएको थियो । जसका कारण कतारमा महँगी बढ्नुका साथै साना उद्योगहरु बन्द हुने अवस्थामा पुगेका छन् ।

गोर्खाल्यान्ड आन्दोलन
भारतको गोर्खाल्यान्ड आन्दोलन पनि २०७४ को चर्चित घटना मध्येको एक हो । भारतको दार्जि्लिङ, कालेबुङलगायत पश्चिम बंगालको पहाडी क्षेत्रमा रहेका नेपाली भाषीमाथि बंगाल सरकारले बंगाली भाषा अनिवार्य बनाएपछि नेपाली भाषीहरु आन्दोलनमा उत्रिएका थिए । आन्दोलनमा प्रहरीले व्यापक दमन गरेपछि आन्दोलन गोर्खाल्याण्डको मागतर्फ मोडिएको थियो । यो आन्दोलन निष्कर्ष विहीन साम्य भए पनि यसले भारतमा ठुलो हलचल ल्याएको थियो ।

किम जोङ उन
२०७४ मा उत्तर कोरियाका राष्ट्रपति किम जोङ उन पनि निकै चर्चामा रहे । उनी बारम्बार शक्तिशाली आणविक क्षेप्यास्त्र परिक्षण गर्दै चर्चामा आएका थिए । उत्तर कोरियाले अमेरीका, रुसलगायतका राष्ट्रहरुले नाकाबन्दी लगाउँदासमेत क्षेप्यास्त्र परिक्षणलाई निरन्तरता दिएका छन् । एकपछि अर्को शक्तिशाली क्षेप्यास्त्र परिक्षण गर्दै आएको उत्तर कोरियाले अन्तरमहादेशीय क्षेप्यास्त्रको तेस्रो परिक्षण गर्दै सिङ्गो अमेरिका आफ्नो पहुँचभित्र रहेको बताएको थियो ।
अन्त्यमा
हाम्रा कमजोरी सुधार गर्ने र असल मार्गतिर अग्रसर हुने अवसर नयाँ बर्ष हुनुपर्छ । नयाँ बर्ष रचनात्मक हुनुपर्छ र सकारात्मक हुनुपर्छ । हाम्रो सोंच फराकिलो हुनुपर्छ । हाम्रो अस्तित्व र पहिचान प्रति नयाँ तरिकाले सजग हुनुपर्छ । उहि पारा, उहि ढर्रा र उहि संकीर्ण सोंचको भारी बोकेर नयाँ बर्षको यात्रा तय गर्न सकिन्न । त्यो त फगत क्यालेण्डरको नयाँ बर्ष हो । साँच्चैको नयाँ बर्ष मनाउने वा फगत क्यालेन्डरको नयाँ बर्ष मनाउने सम्पूर्ण जिम्मा तपाइँ पाठकहरुलाई नै सुम्पिदै तपाइँहरुको नयाँ बर्ष साँच्चिकै नयाँ बर्ष बनोस, मेरो यही शुभकामना ।

२०७५ बैशाख २ गते प्रकाािशत

About The Author

Loading...