Fri. Mar 29th, 2024

मोदीको नेपाल भ्रमणका अन्तर्य

माधव गुरुङ

दुई दिने राजकीय भ्रमण तालिका बनाएर नेपालको तेस्रो पटक भ्रमणमा आएका भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण यस अघिका दुई भ्रमण भन्दा अलि बढी विवादित तर चर्चा बटुल्न सफल भएकोछ ।

अत्यन्त छाटो तर व्यस्त कार्यतालिका सहित नेपाल आएका मोदीको भ्रमण विवाद र चर्चाका कारण सञ्चार माध्यममा प्रमुख स्थान पाउन सफल रह्यो । भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण दुई मुलुकको सम्बन्ध विस्तारमा कति फलदायी भयो त्यो आगामी दिनहरुमा नेपाल भारत विचका विवादहरुको निरुपण कुन तहसम्म भयो त्यसको परिणामले देखाउनेछ ।तर पनि यसपाली नरेन्द्र मोदीको नेपाल भ्रमण नेपाली ईतिहासमा विभिन्न कारणरुले सम्झन लायक बन्न सकेको देखिन्छ ।

झण्डै दुई दशक सम्म निकट छिमेकी भएपनि भारतका तर्फबाट नेपालमा कुनै पनि भारतीय प्रधानमन्त्रीहरुको भ्रमण नभइरहेको सन्र्दभमा भारतीय राजनीतिमा मोदीको उदय पछि पहिलो पटक २०७१ साउन १८ मा नेपाल भ्रमणमा नरेन्द्र मोदीले संविधान सभा दिएको मन्तव्यका कारण नेपालीजनताको मन जितेका थिए ।त्यस पश्चात उनी सार्क शिखरसम्मेलनको मेसो पारेर मंसीर ९ गते नेपाल भ्रमणमा आए ।ट्रमा सेन्टरको उदघाटन गर्दा दिएको राजनैतिक अभिव्यक्तिको कारण विवादमा तानिएका मोदी त्यसपछि छिमेकीसँगको सम्बन्धलाई प्राथमिकतामा राख्ने भन्दै नेपालसँगको निकटतालाई राजनैतिक तहमा विस्तार गर्ने मोदी सरकारको नीति २०७२ असोज ३ गते नेपालमा संविधान जारी भएपछि नाकाबन्दीमा परिणत भएपछि हिरोबाट जिरो भए । नेपालमा भुकम्प गए लगत्तै संविधान जारी गर्ने समयमा भारतका तर्फबाट भएका नाकाबन्दीले मोदी अघिल्लो भ्रमणमा पाएको नेपाली सदशयता गुमाउन पुगे ।
निकट छिमेकी भएकै कारण विभिन्न कालखण्डमा उतार चढावपुर्ण सम्बन्ध रही आएको नेपाल भारत सम्बन्ध मोदीको कार्यकालमा केही प्रगाढ र फराकिलो हुनेछ भन्ने आम अपेक्षा विपरित भुकम्पका कारण थलिएको नेपालको अर्थतन्त्रलाई थप शिथिल बनाउने गरी भारतका तर्फबाट लादिएको नाकाबन्दीले मोदी नायक छवि एकाएक खलनायकमा परिणत भयो ।

मुलुक भित्रका असन्तुष्टि सम्बोधन गर्ने सवालमा तराई मधेशका जनताको भवनामा केही ठेस पुग्ने गरी काठमाण्डौका तर्फबाट भएको कमजोरी आधार बनाएर भारतले संविधान तराईका जनताको हितमा नभएको भन्दै जुन खालको नाकाबन्दी नेपालमा थोपर्यो त्यसले भारत प्रति नेपाली जनता मनोविज्ञान नकारात्मक त बन्यो नै साथमा नरेन्द्र मोदीको नायक छवि पनि धुमिल बन्यो ।यद्यपी आज पर्यन्त भारतले आफुले आजका दिनसम्म पनि नककाबन्दी आफ्ना तर्फबाट नभएको बरु नेपाल भित्रै बोर्डरमा अवरोध आएकोले पारवहनमा समस्या देखिएको भन्दै आफ्नो बचाउ गर्दै आएकोछ ।

नाकाबन्दी अमानवीय थियो भन्ने महसुस गरेरै हुन सक्छ भारतले त्यसको सधै इन्कार गर्दै आइरहेकोछ ।नाकाबन्दीको डटेर सामना गरेकै कारण नै मान्नु पर्छ २ नम्बर प्रदेश बाहेक वामगठबन्धनले तिनै तहको निर्वाचनमा अत्याधिक सफलता हासिल गर्यो। यस्तोमा भारत विरोधी छवि बनाएर सत्तामा पुगेको वाम सरकारसँग सम्बन्ध सुधार गरेर मोदी नेपालमा विकसित भएको भारत विरोधी भावनालाई मत्थर गर्नु पर्ने बाध्यता त छदै थियो त्यस बाहेक उसको गलत छिमेक नीतिका कारण मोदीले आगामी बर्ष आफ्नो मुलुकमा आउदै गरेको चुनावमा सामना गर्नु पर्ने विपक्षीको चुनौतीलाई चिर्न पनि विदेश नीतिमा व्यवहारिक परिवर्तन आवश्यक थियो । नेपाल भारत सम्बन्धमा बढदै गएको तिक्तता र वाम सरकारको चीनसँगको निकटता भारतमा मोदीको गलत विदेश नीतिको परिणामको अर्थमा हेरिदै थियो भने विश्व आर्थिक शक्तिका रुपमा उदाउदै गर्दा र संयुक्तराष्ट्र संघमा उसको स्थायी सदस्यताको दावेदारीलाई मुर्त रुप दिनका लागी पनि भारतलाई छिमेकीसँगको सम्बन्धमा सुमधुरता थप्न आवश्यक भएको सन्र्दभमा नेपाल उसको छिमेकी विदेश नीतिको प्राथमिकतामा रहनु जायज नै थियो ।

तीर्थाटन जस्तो देखिने गरी भएको मोदीको राजकीय भ्रमण पशुपतिको जात्रा सिद्राको व्यपार जस्तै रहेको देखिन्छ ।नाकाबन्दीका कारण नेपाली जनताका बीचमा नकारात्मक छवि भएकोले विवादास्पद हुन सक्ने भ्रमणलाई धार्मिक आस्थासँग जोडेर तय गरिनु उनको बाध्यता र व्यक्तिगत स्वार्थ पनि थियो।हिन्दु दर्शनबाट दिक्षित मोदीले राजकीय शक्तिपनि हिदुत्वकै आडमा आर्जेका थिए ।भारतीय हिन्दुहरुको आस्थाको केन्द्र रहेको जनकपुर,मुक्तिनाथ र पशुपति प्रति मोदीको आर्कषण रहनु उनको धरातलका कारण पनि स्वभाविक थियो ।नेपालमा मोदीको दुई दिने भ्रमणको सफलताको विषयलाई लिएर भिन्न खालको टिप्पणी हुने कुरा कदाचित अनुचित मान्न सकिन्न ।जनकपुरबाट नेपाल भ्रमण शुरु भएको भ्रमणलाई कसैले जस्केलाबाट छिरेर भारतले अझै पनि नेपालको भारत नीति तराईबाट नै निर्देशित हुने अर्थमा हेरेका छन् भने कसैले जनकपुर नेपालकै भूभाग रहेकोले उनको नेपाल भ्रमणलाई तराईसँगको सामिप्यताका रुपमा मात्र हेरिनु हुन्न भन्नेहरुको धारण पनि उत्तिकै बलियो छ।मोदीको नेपाल भ्रमणका विषयमा काठमाण्डौमा चलेको सामाजिक सञ्जालमा चर्को विरोध जस्तो देखिएपनि तराई र मुक्तिनाथमा पाएको अपुर्व आतिथ्यताले उनको भ्रमण विषयमा समाज पनि विभाजित भएको ठान्न सकिन्छ ।

जनकपुरमा मोदीको अभिनन्दनमा २ नम्बर प्रदेशका मुख्यमन्त्रीको दिएको अभिव्यक्ति पदीय मर्यादा विपरित रहेको भएपनि मोदी मधेशी दलहरुसँगको औपचारिक तथा अनौपचारिक भेटहरुमा संविधानका विषयमा टिप्पणी नगरेको भन्ने स्रोतहरुको भनाईलाई आधार मान्ने हो भने भारत सरकार यस अघि आफ्नो गलत धारणाबाट सच्चिन खोजेको प्रतीत हुन्छ ।नेपालको आन्तरिक मामिला उसको प्रवेशले भारतको छविमा नकारात्मक असर परेको तथ्यबाट जानकार मोदी यसपटक राजनैतिक मुद्दामा बढी सचेत भएको देखिन्छ ।जनकपुरमा अभिनन्दन कार्यक्रममा १ अर्बको सहयोग घोषणा गर्दा दिएको मन्तव्य देखि काठमाण्डौमा भएको अभिन्नदन कार्यक्रममा दिएको उनको मन्तव्यमा उनले संविधानका विषयमा प्रवेश नै गर्न नचाहेको देखिन्थ्यो ।लालबाबु राउत मोदीलाई विवादमा तान्न खोजे पनि संविधानका विषयमा भारत सरकारको आधिकारिक धारणा सर्वाजनिक मञ्चहरुमा प्रश्तुत गर्दा जनमत विभाजित हुन्छ र नकारात्मक असर पर्दछ भन्ने कुरामा मोदी यसपटक बढी सचेत भएको देखिन्छ ।

आफनो तर्फबाट भएको नाकाबन्दीलाई औपचारिक रुपमा स्वीकार नगरेको भारत त्यस गल्तीको याचना माफी मागेर गर्ने कुरा व्यवहारिक र कुटनीतिक रुपमा सम्भव नभएपनि भारतीय प्रधानमन्त्री मोदीले यस पटकको भ्रमणमा आफ्ना हाउभाउ तथा मन्तव्यहरुमा संविधानका विषयमा मौन रहनुले पुष्टि गरेको छ ।जुन विषयले नेपाल भारत सम्बन्ध गिजोलिएको छ त्यसमा बारम्बार प्रवेश गर्नु भारतको हितमा छैन भन्ने बुझेरै यसपाली नरेन्द्र मोदीले संविधान संशोधनको मुद्दमा बहस चलाएनन्।बरु राजनैतिक तहमा उच्च स्तरको भ्रमणलाई महत्व दिएर डेढ महनिाको अन्तरमा प्रधानमन्त्री स्तरमा भेटघाटलाई निरन्तरता दिनु भारत आफ्नो गलत विदेश नीतिलाई आपसी विश्वासका माध्यमबाट सच्याउन चाहन्छ भन्ने अर्थमा बुझिनु राम्रो हुन्छ ।
नयाँ सन्धी सम्झौता र सहमझदारी नभएपनि यसपालीको मोदीको भ्रमण नेपाल भारत सम्बन्धलाई व्यापक बनाउने अर्थमा फलदायी भएको मान्न सकिन्छ ।भारतसँगको निकट सम्बन्धका कारण दुई देशका वीच थुप्रै जटिलताहरु विद्यमान छन्।खुल्ला सीमानाका कारण हुने अपराध, तस्करी,सुरक्षा तथा बाढी ,डुबान, लगायत धेरै कुरामा नेपाल र भारतको समस्याहरु छन् ।लामो समय देखि रोकिएको अरुण तेस्रोको शिल्यान्यासले केही उत्साह जगाएको छ।आयेजनाहरु ओगट्ने मात्र तर कार्यन्वयन नहुने भारतीय लगानीका आयोजनाहरुको सफल कार्यन्वयनले पनि नेपाल भारत विच रहेको अविश्वासलाई कम गर्न सकिन्छ त्यसका लागी भारतीय सरकारका निकायहरु र नेपालका सरकारी संयन्त्रहरु पनि बढी चनाखो र क्रियाशील रहनु पर्दछ।

त्यबाहेक नेपालको बढदो व्यापार घाटा, पारवहान समस्या,कृषि उपजहरुको बजारीकरण लयागतका विषयमा भारतका तर्फबाट बेला बेलामा अनावश्यक झमेलाहरु पैदा गरिदिने कुराहरु सार्वजनिक भैरहन्छन् ।मोदीको यस भ्रमणमा ती मुद्दाहरुका कुनै ठोस समझदारी नभएपनि दुवै देशका तर्फबाट जारी संयुक्त प्रेश वक्तव्यमा आगामी सेप्टेम्बर सम्ममा थाती रहेका विषयहरुमा काम थाली सक्न मातहतका निकायलाई निर्देशन दिएका कारण केही आशावादी बन्न सकिन्छ ।

भारतका तर्फबाट प्रतिबद्दतामा मात्र आउँछ तर कार्यन्वयन हुदैनन् भन्ने आम धारणा रहेका तथ्यका वीच पुराना प्रतिबद्दताको कार्यन्वयनमा समय सीमा सहितको प्रतिबद्दता यसपटक सार्वजनिक भएकाले केही समय कुर्न आवश्यक हुन्छ ।
धार्मिक जस्तो लाग्ने यसपालीको मोदीको राजकीय भ्रमण नेपालको पयर्टनमा कोशे ढुंगो हुने कुरामा भने कुनै विमति छैन ।हिन्दू बाहुल्य रहेका भारतको प्रधानमन्त्रीको जनकपुर, मुक्तिनाथ र पशुपनिाथको दर्शनले हिन्दु धर्मावलम्वी भारतीयहरुको आस्थालाई अझै आकर्षित गर्ने देखिन्छ ।त्यसबाहेक यसै भ्रमणमा उद्घाटन भएको रामायण सर्किट, जनकपुर अयोध्या बस सेवाले नेपालमा भारतीयहरुको आवागमनलाई सहज बनाउने निश्चित छ ।

यसै गरी नेपालले थप हवाईमार्ग उपलब्ध गराउन बारम्बार बारम्बार गरेको आग्रहलाई टार्दै आएको भारत यस मामिलामा केही लचक भएको र छलफलका लागी राजी भएको तथा रक्सौल काठमाण्डौ रेलमार्ग सर्वेक्षण,पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको डिपआर निर्माण, व्यपार तथा वाणिज्य सन्धीमा पुनरावलोकनका लागी सहमती,बाढी तथा डुवान नियन्त्रणमा समझदारी अनि नेपालमा रहेको प्रतिबन्धित भारतीय नोटका सम्बन्धमा नेपालका तर्फबाट भएको आग्रह आदीका कारण यसपालीको भ्रमण केही फराकिलो भएको मान्न सकिन्छ ।

काठमाण्डौ महानगरपालिककाले आयोजना गरेको अभिन्नदन कार्यक्रममा मोदीका तर्फबाट अभिव्यक्त भनाईहरु सुन्दा लाग्छ उनी नेपालमा भैरहेका घटनाहरुबाट वेखवर छैनन् काठमाण्डौ उपत्यका तिनै शहरहरुको विशेषता सहित व्यख्या तथा आइपिएलमा सन्दीप लामिछाने सहभागिताका बारेमा जानकार मोदी ट्वीटर र सामाजिक सञ्जालमा उनी प्रति पोखिएका विरोध प्रति उनी पक्कै पनि वेखबर छन् भन्ने मान्न सकिन्न ।नाकाबन्दीका कारण उनको खस्किएको छविलाई पुनस्थापित गर्न यसपाली मोदी बढी संयमित र सजग भएको देखिन्छ ।तिनै तहको निर्वाचन सम्पन्न भएकोमा हार्दिक धन्यवाद दिैदै यो कालखण्ड नेपालको इतिहासमा स्वणिम अक्षर लेखिनेछ भन्ने उनको अभिव्यक्ति संविधानमा भारत राखेको असहमतिको खारेजी नै हो ।

त्यसै गरी नेपालको प्राथमिकतामा सम्वृद्दिको सगरमाथा चढ्न भारतले हरतरहले शेर्पा झै सहयोग गर्न तयार रहेको अभिव्यक्ति पनि भारतले नेपाल मामिलामा प्रत्यक्ष सरोकार नराख्ने स्वीरोक्ति नै हो ।नाकाबन्दीका कारण गिजोलिएको नेपाल भारत सम्बन्ध सही ट्रयाकमा ल्याउन पछिल्ला दिनहरुमा भएको उच्च स्तरको भ्रमणले नागरिक स्तरमा भएको असन्तोषलाई क्रमश मत्थर पार्दै लाने विश्वास बढेको भए पनि भारतको विगतका कारण सचेत भएर अगाडी बढ्नु पर्ने बाधयता भने यथावत छ ।

२०७५ बैसाख ३१ गते प्रकाशित

 

About The Author

Loading...