Sun. Feb 23rd, 2020

“हामी कहिले मान्छे बन्न पाउने ?”

गायत्री खतिवडा

गजुरी गाउँपालिकाको एक अपाङ्ग महिलामाथी श्रीमानले अरु थप दुई जना श्रीमति विवाह गरे । जेठी श्रीमति तर्फ २ सन्तान छन् । माइली ल्याएको एक वर्ष पछि अर्को कान्छि विवाह गरे । जेठी श्रीमतिको नागरिकता, विवाहदर्ता छैन । बच्चाको जन्मदर्ता पनि छैन । उनी शारिरीक अपाङ्ग छिन् । सानैमा एउटा खुट्टा पोलिएको र पछि लडेर कम्मरको हड्डी भाँचिएको हुनाले हिड्न निकै समस्या हुन्छ । तर नागरिकता विवाहदर्ता नभएकोले अपाङ्गता कार्ड छैन । हुनत श्रीमान आफै पनि अपाङ्ग छन् । श्रीमतिलाई कार्ड बनाइदिनुपर्छ भनेर आफ्नो पनि नबनाएको थाहा पाइयो ।

यस्तो अवस्थाकी श्रीमतिलाई पिटे र १० महिनाको छोरी सहित घर निकाला गरे । उनलाई गाउँपालिकाको सहयोगमा उद्धार गरि धादिङ्गबेशी स्थित सेफ हाउसमा राखिमा राखियो । उनले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिइन् । प्रहरीको छलफलमा पीडकले भने “आइमाइ भएर आइमाइको तहमा नबस्ने स्वास्नीलाई पिटिहालिन्छ नी । मेरो सम्पत्ति खाउँला भन्ने सोचेकी भएर कागजपत्र नबनाइदिएको हो । कसले के गर्न सक्छ मेरो हातको कुरो हो म बनाइदिन्न ।”

बेनिघाट रोराङ गाउँपालिकाकी दुइ सन्तानकी आमा एक महिलालाई श्रीमानले लामो समयदेखि गालीगलौज र्दुव्यवहार गर्दै आएका थिए । उनी सुत्केरी भएर बसेको बेलामा श्रीमानले दोस्रो विवाह गरे । त्यसपछि जेठी श्रीमतिलाई वास्ता गरेनन् । उनी बच्चा च्यापेर कहिले माइत कहिले घर गर्थिन् । उनको नागरिकता विवाहदर्ता र बच्चाहरुको जन्मदर्ता थिएन । श्रीमानसंग नागरिकता बनाइदेउ भन्दा “मेरो सम्पत्ति खाएर अर्कोसंग पोइल जाउँला भनेर ! बनाइदिन्न ” भन्थे । उनी सहेरै बसिरहेकी थिइन् । अहिले आएर थाहा पाइन् । पछि विवाह गरेको कान्छि श्रीमतिको नागरिकता विवाहदर्ता बनाइदिइसकेछ श्रीमानले ।

त्यसपछि उनले प्रहरीमा निवेदन दिइन् । प्रहरीमा छलफल भयो । प्रहरीको छलफलमा जेठि श्रीमतिको कानुनी कागजात नबनाइकन किन कान्छि श्रीमतिको बनाएको भन्ने प्रश्नमा पीडकले भने “ मेरो नियन्त्रणमा नबस्ने स्वास्नीको नागरिकता किन बनाइदिने त ? मलाइ जुन प्रति विश्वास थियो उसैको बनाइदिएँ । लेखपढ गर्न पनि नजान्ने गोबर जस्ती छ किन चाहियो नागरिकता ?”

थाक्रे गाउँपालिकाकी एक अपाङ्गता भएकी महिलाको २ छोराछोरी छन् । श्रीमानले दोस्रो विवाह गरे । श्रीमानले दोस्रो विवाह गरी घरमा भएको सवै सामग्री सहित उठाएर अन्तै लगे । उनले जसोतसो जिविकोपार्जन गरी दुई सन्तान पाल्दै आएकी थिइन् । उताबाट श्रीमान र कान्छि श्रीमतिले फोनमा गालीगलौज गर्ने र मार्ने धम्कि दिइरहे । उनको नागरिकता विवाह दर्ता थिएन । उनले प्रहरीमा निवेदन दिइन् । छलफल गरि नागरिकता विवाह दर्ता बनाइदिने र दुव्र्यवहार नगर्ने सर्तमा उनले मिलापत्र गरिन् । कागजपत्र त बन्यो तर व्यवहार सुध्रिएन ।

उनलाई उत्तिकै मानसिक यातना र धम्की आइरहेकोले अदालतमा अंश सहितको सम्बन्ध विच्छेद दर्ता गरिन् । केश दर्ता गरेपछि झन् उनीमाथी यातना बढ्यो । घरमा श्रीमान र उसको कान्छि श्रीमति बस्छन् । प्रभावित २ सन्तान लिएर आफुले सानो व्यवसाय गरेको एउटा सटरमा सुत्छीन् बस्छिन् ।
यि केही प्रतिनिधी घटना हुन् । यस्ता धेरै महिला बहुविवाह , घरेलु हिंसा र कुटपिटको शिकार हुनुपरेको छ । धेरै जना महिलाको नागरिकता र विवाहदर्ता बन्न सकेको छैन । उनले जन्माएका छोराछोरीको जन्मदर्ता छैन ।

एउटा पुरुषले दुइटी तीनवटी विवाह गरेको छ र पनि निर्धक्कले हिंडीरहेको छ । उसलाई कसैले केही भन्दैन । न घरपरिवारले न समाजले । तर महिला , पल पल मरेर बाँच्नुपर्छ । फेरी पनि दोष महिला माथी नै थोपरिन्छ ।
एक छोरी “छोरी” भएर जन्मिए वापत जन्मदेखि मृत्यु सम्म जीवनका सवै चरणमा हिंसा, तनाव, यातना र शोषण सहेर बाँच्नुपर्छ । अझ यसो भनौं पटक पटक मर्दै बाँच्नुपर्छ । छोरी भएर जन्मिएपछि विवाह अघि पिताको नियन्त्रणमा हुनुपर्छ । विवाह पछि पतिको नियन्त्रणमा हुनुपर्छ । नियन्त्रण भन्दा बाहिर जान खोज्ने या भनौं स्वतन्त्रता खोज्ने छोरीले “जिउँदो” भएर बाँच्न पाउँदिनन् ।

नागरिकता जन्मसिद्ध अधिकार हो । नागरिक हुनुको परिचय कार्ड हो । यो देशको माटोमा जन्मिए पछि यहाँको नागरिक हुनुको पहिचान हो । छोरा होस् या छोरी । सवैले कानुनले तोकेको उमेर हद पुरा गरेपछि पाउने नागरिक प्रमाणपत्र हो । तर छोरीका लागि नागरिकता प्राप्त गर्नु कुनै खेल वा युुद्ध जित्नु सरह हो ।

अहिले पनि धेरै बाबु आमाले नबुझेर वा यसको आवश्यकता महशुस नगरेर विवाह अघि छोरीको नागरिकता नबनाइदिने चलन छ । छोरा बाहिर जाने या कुनै काममा लाग्ने भएकोले छोराको चै नागरिकता बनाइदिने तर छोरीको आवश्यक परेको छैन भनेर नबनाइदिने गर्नाले पनि समस्या बढेको हो । विवाह पछि श्रीमानले आफ्नो मुठ्ठीको साधन सोच्ने र अंश खाने भाँडोको रुपमा बुझ्ने गरेकोले धेरै महिला नागरिकता विहिन् बन्नु परेको छ ।

छोरी भएर जन्मिएपछि “छोरीकै तहमा” बस्नुपर्छ । स्वास्नी भएपछि “स्वास्नीकै तहमा” बस्नुपर्छ । आमा भएपछि “आमाकै तहमा” बस्नुपर्छ । हजुरआमा भएपछि “हजुरआमाकै तहमा” बस्नुपर्छ । छोरी भएर जन्मिएपछि “मान्छेको तहमा” बस्न पाइन्न । “मान्छेको दर्जा” खोज्न पाइन्न । “म को हुँ ” भनेर प्रश्न गर्न पाइन्न । किनकी अहिले सम्म छोरी भन्ने जात “मान्छे होइन” । अनि कसरी मान्छे भए बापत पाउने अधिकार माग्न मिल्छ ?

यो समाजले देखेको मान्छे त छोरा जात मात्र हो । समाजका लागि केवल छोरा भए हुन्छ । उ असल हुनुपुर्दैन । इमान्दार हुनुपर्दैन । सहयोगी हुनुपर्दैन । अरुको पीडा महशुस गर्ने हुनुपर्दैन । बाटोमा हिड्दा अरुको छोरीमाथी गिद्धे नजर नलगाउने हुनुपर्दैन । अनि जाँड रक्सी नखाने र स्वास्नी नकुट्ने हुनुपर्दैन । किनकी जन्मदै उ बलवाल, धर्यवान ,तागददार,कठोर , जसलाई जे पनि गर्न सक्ने “मर्द” हुन्छ ।

उ अर्थात छोरा जन्मजात “मान्छे” हो । उसको मान्छे भए वापत पाउने कुनै पनि अधिकार खोसिएको छैन । उसलाई कसैले गिद्धे नगर लाउँदैन । उ माथी बहुविवाह हुँदैन । यातनाको कारण पाठेघर खस्दैन । कुटाइको कारण गर्भपनत हुँदैन । कसैले बलात्कार गर्दैन । कसैले कुटपिट ,धम्की , यातना , शोषण र घर निकाला गर्दैन । त्यो नागरिकताको छेस्को पाउन कुनै युद्ध जित्नुपर्दैन । सम्पत्ति मागेको निहुँमा , नागरिकता मागेको निहुँमा जलाइनु र मारिनु पर्दैन । एक जना पनि छोराले अहिले सम्म कसैको लात्ती खाएर विना दोष भोकभोकै घर निकाला हुनु परेकै छैन । अनि कसरी थाहा पाओस् ? म जस्तै मेरा छोरी, श्रीमति र आमा पनि “मान्छे हो” भन्ने ! हाम्रो पनि मन हुन्छ । मुटु चल्छ र दुख्छ भन्ने ! हामीलाई पनि माया र सम्मान चाहिन्छ भन्ने ! हो यति फरक छ । हामी (छोरी) हरु जन्मिएर पनि “मान्छे ” हुन नै पाएनौं । उनीहरु (छोरा) हरु जन्मजात मान्छे भए । र “जे पनि गर्ने पाउने” छुट पाए ।

२०७५ जेठ १४ गते प्रकाशित

Loading...